Comments Add Comment

मदमस्त मोहनविक्रम !

यसपटक उनीसँग ‘प्राणीको उत्पति र विकास’बाट कुरा सुरु गरिएन । ‘द्वन्द्वात्मक भौतिकवाद’को चर्चा पनि भएन । अनि भएन, वर्ग संघर्षका कुरा ।

नेपाली कम्युनिष्ट आन्दोलनका यी गुरु ‘सिद्धान्तका तर्क/प्रतितर्क गरिरहने बुढा’ मात्र हैन रहेछन् । हामीले उनको ‘बिन्दास मुड’ पनि देख्यौं ।

हो, कम्युनिष्ट चिन्तक मोहनविक्रम सिंहलाई अर्को ‘डाइमेन्सन’बाट हेर्दा ‘रौसे’ मोहनविक्रम सिंह फेला पर्छन् । गम्भीर र निरसजस्ता लाग्ने मोहनबिक्रमको जीवनभित्र ‘खुसी र उल्लास’ पनि रहेछ ।

थोरैले देखेका, थोरैले चिनेका अनि थोरैले बुझेका छन्, मोहनविक्रमलाई । उनको नाम पछाडि झुन्डिएको ‘अर्धभूमिगत’ अहिलेको खुला राजनीतिमा पनि फुकुवा भएको छैन । त्यसैले उनी आम मानिसका लागि अहिले पनि ‘हिडन क्यारेक्टर’ हुन् ।

हामीले भेट्दा उनलाई यस्तो देख्यौं- खिरिलो ज्यान, औसत उचाई, सेताम्मे फुलेको केस, ख्याउटे अनुहार, गम्भीर मुद्रा । झट्ट हेर्दा यो हुलियाभित्र ‘रसिक मान्छे’ पनि छ होला भनेर अनुमान लगाउन सकिन्न ।

कुरा गर्दै जाँदा थाहा भो, मोहनविक्रमको मनभित्र ‘मदमस्त’ दिल पनि रहेछ । यो चेहेराभित्र ‘उन्मुक्त’ भाव-भंगिमा पनि रहेछ ।

मार्क्सवादी ‘मजनु’

हामीले भेट्दा उनलाई यस्तो देख्यौं- खिरिलो ज्यान, औसत उचाई, सेताम्मे फुलेको केस, ख्याउटे अनुहार, गम्भीर मुद्रा । झट्ट हेर्दा यो हुलियाभित्र ‘रसिक मान्छे’ पनि छ होला भनेर अनुमान लगाउन सकिन्न ।

मोहनविक्रम सिंह यतिबेला एउटा उपन्यासलाई अन्तिम रुप दिँदैछन् ।

‘के छ त्यो उपन्यासमा ? के त्यो क्रान्ति, षडयन्त्र या बर्ग दुश्मनका बारेमा लेखिएको उपन्यास हो ?’, हामीले स्वाभाविक प्रश्न गर्‍यौं ।

‘उपन्यासमा राजनीति, क्रान्ति, सांस्कृतिक सबै पक्ष समेटिएको छ’, मोहनविक्रमले भने, ‘उपन्यासको नाम कमरेड जलजला हो । जलजला वास्तविक पात्र हुन् । कुनैबेला उनको र मेरो प्रेम थियो ।’

जलजलासँग मोहनविक्रमको गहिरो प्रेम थियो । मोहनविक्रम र कमरेड जलजलाको प्रेम नेपालको कम्युनिष्ट वृत्तमा एउटा किंवदन्ती नै भइसकेको छ । लैला मजनुजस्तै मोहनविक्रम-जलजलाको प्रेमको कथा पनि वियोगान्त छ ।

‘उनी हाम्रै पार्टीकी कार्यकर्ता थिइन्, लामो समय हाम्रो सम्बन्ध रह्यो’, मोहनविक्रमले भने, ‘पछि उनी पार्टीको कामले दिल्ली गइन् । त्यहाँ बस दुर्घटनामा उनको मृत्यु भयो ।’

यदि उनको मृत्यु नभइदिएको भए ?

‘हामीबीच सम्भवतः विवाह हुन्थ्यो होला’ मोहनविक्रमले आफ्नो ट्रेजेडिक लभ स्टोरी सुनाइसकेपछि भने, ‘भो, अब यो कुरा छाडौं ।’

म्युजिक लभर

प्रेमी मन । गीत नसुन्ने कुरै आएन ।

मोहनविक्रम सिंह खोजीखोजी गीत सुन्छन् । मानिसको अनुमान हुन सक्छ, मोहनविक्रम जनवादी गीत मात्र सुन्दा हुन् । तर, उनी रक्तिम क्रान्ति र बलिदानकै गीत मात्र सुन्दैनन् ।

‘फिल्म मनोरञ्जनकै लागि हेर्ने हो । शिक्षा ग्रहण गर्नका लागि म फिल्म हेर्दिनँ, मनोरञ्जन भए पुग्छ’

उनी जस्तो पनि गीत सुन्छन् । त्यो प्रेमको गीत हुन सक्छ । त्यो प्रकृति, देशभक्तिको या हास्य रसले भरिएको गीत पनि हुन सक्छ ।

‘बस्, गीतको धुन मीठो हुनुपर्छ । शब्द, लय र धुनले मनभित्र बयेली खेल्नुपर्छ’, मोहनविक्रमले भने, ‘गीत सुन्दै लेख्दा थप उर्जा मिलेको जस्तो हुन्छ ।’

मधुर संगीतको धुन गुञ्जिइरहेको हुन्छ, उनी लेखिरहेका हुन्छन् । संगीत सुन्नका लागि उनीसँग ‘टयाब्लेट’ छ । त्यसलाई इन्टरनेटसँग जोड्छन् । युट्युवमा सर्च गर्छन् । र, मस्तसँग मन परेका गीत सुन्छन् । हिन्दी, नेपाली, अंग्रेजी जस्तो पनि ।

ब्रम्हमुहूर्तमा लेखन

मोहनविक्रम अध्यात्ममा विश्वास गर्दैनन् । तर, बिहानचाँहि ‘ब्रम्ह मुहुर्त’मै उठछन् । बिहान तीन बजे उठेपछि फ्रेस हुन्छन्, व्यायाम गर्छन्, प्राणायाम गर्छन् अनि लेख्न बस्छन् ।

बिहान सबेरै लेख्न बस्नु उनको बानी हो । यो क्रम १० बजेसम्म जारी रहन्छ । यसबीचमा उनले मनतातो पानी पिइसकेका हुन्छन् । बेला-बेला कागती पानी पनि । हल्का नास्ता पनि लिन्छन् ।

‘बिहान अलि फ्रेस, ताजा भइन्छ’ उनले भने, ‘बिहान लेख्दा बेग्लै फूर्ति हुन्छ । ध्यान पनि केन्दि्रत हुन्छ ।’

लेखपढका लागि उनको छुट्टै कोठा छ । त्यो शान्त छ । त्यही कोठामा हो, उनले प्राणयाम गर्ने ।

मनोरञ्जनका लागि ‘मुभी’

अल्लारेवयमा मोहनविक्रम चलचित्र हेर्न हलहरुमा पनि धाउँथे । ‘भूमिगत’ हुँदै ‘अर्धभूमिगत’सम्म आइपुग्दा उनले हलमा गएर चलचित्र नहेरेको धेरै भो । तर, केही समयअघि एक फिल्मको पि्रमियरमा भने उनी निम्तो मान्न गए, लुसुक्क ।

मोहनविक्रम आफ्नो टयाबमै यूटयूबमा अपलोड गरिएका विभिन्नथरिका चलचित्र हेर्छन् । ती चलचित्र ‘सन्देशमूलक’ या ‘शिक्षाप्रद’ हुनुपर्छ भन्ने छैन । चलचित्रका बारेमा उनी स्पष्ट छन् । त्यसमा तीन चिज हुनुपर्छ, मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन ।

‘फिल्म मनोरञ्जनकै लागि हेर्ने हो । शिक्षा ग्रहण गर्नका लागि म फिल्म हेर्दिनँ, मनोरञ्जन भए पुग्छ’, उनले भने ।

राम्ररी बनाएको स्तरीय फिल्म उनलाई मनपर्छ । उनको विचारमा विषयभन्दा पनि त्यसलाई कसरी बनाइएको छ, त्यो महत्वपूर्ण हुन्छ ।

‘राम्रो विषयमा कमसल चलचित्र र झूर विषयमा राम्रा चलचित्र बन्न सक्छन्’, उनले भने ।

‘नेपालका कुनै कलाकार चिन्नुहुन्छ ?’ हामीले सोध्यौं ।

‘खै…त्यो हमाल भन्ने के के छ’ उनले सम्झने चेष्टा गरे पनि सकेनन् ।

‘म कसैको नाम याद गर्न सक्दिनँ’, यो वाक्य उनले केही पटक दोहोर्‍याए ।

अन्तरीक्ष अध्ययन

स्कुले जीवनमा मोहनविक्रम विज्ञान र गणितमा कमजोर थिए । तर, जीवनको उत्तरार्द्धमा उनलाई खगोल विज्ञानले अचम्मलाग्दो गरी तानेको छ । त्यसैले त बेला-बखत उनी युट्युवमा अन्तरीक्षको फन्को लगाउँछन् ।

भौतिकशास्त्री स्टेफन हकिङको बिगब्याङ थ्यौरी अनुसार एउटा सानो तिलको आकारमा रहेको उर्जा ठूलो आवाजमा विष्फोट भएर अहिले हामी बाँचिरहेको ब्रह्माण्डको उत्पत्ति भएको हो । यो अझै फैलिइरहेको छ रे ।

मोहनविक्रम सिंह अनन्त शून्यतामा फैलिइरहेका यी पिण्ड र पदार्थहरु देखेर रोमाञ्चित हुन्छन् ।

स्कुले जीवनमा मोहनविक्रम विज्ञान र गणितमा कमजोर थिए । तर, जीवनको उत्तरार्द्धमा उनलाई खगोल विज्ञानले अचम्मलाग्दो गरी तानेको छ ।

हवल टेलिस्कोपले रंगीन चित्र पठाउन थालेपछि ब्रम्हाण्डको स्वरुप देखेर वैज्ञानिकहरु चकित परेका थिए । अहिले त नासादेखि अनेक अन्तरीक्ष स्टेशनहरुले खिचेर पठाएका भिडियोहरुले यूटयूब भरिएका छन् । मोहनविक्रम बेलाबेलामा राजनीतिलाई पन्छाएर युटयूबमा अन्तरीक्षको अवलोकन गर्छन् ।

सूर्यको वरिपरि चक्कर लगाउने ग्रहहरु हेर्छन् । सौर्यमण्डल हेर्छन् । तारापुञ्ज हेर्छन् । सूर्यपछिको नजिकको तारा प्रोक्सीमा सेञ्चुरी नियाल्छन् ।  अहो, त्यो ब्ल्याक होल । ग्रह, नक्षत्रभन्दा परको अनन्त संसारमा अरु यस्तै के के होलान् ? यस्तै चिन्तनमा उनी घोत्लिन्छन् ।

‘सौर्यमन्डलबाट पृथ्वी हेर्दा त्यो एउटा सानो विन्दु जस्तो देखिन्छ । सियोको टुप्पोभन्दा पनि सानो’, उनले भने, ‘आखिर ब्रम्हान्ड कति अनन्त र व्यापक छ । हामी त केवल त्यसको सानो भन्दा पनि सानो बिन्दुमा छौं ।’

यही कुराले पनि मोहनबिक्रमलाई अहंकार र दम्भ पाल्न पटक्कै मन लाग्दैन ।

विन्दास जीवन

मोहनविक्रमको जीवनशैली आनन्दपूर्ण छ । उनी चिन्तित, दुःखित र पीडित भएर बाँच्ने पक्षमा छैनन् । जब उनी सुत्छन्, घप्लक्कै निदाउँछन् । खाँदा, बस्दा बेचैनी हुँदैन । मनमा आशंका, भय र प्रतिशोधको ज्वाराभाटा पनि उम्लिँदैन । त्यसैले उनी आफूलाई शान्त र सन्तुष्ट ठान्छन् । एकदमै तनावरहित । एकदमै खुसी, बिन्दास ।

राजनीतिबाहेक योग ध्यान, साधना, संगीत, मनोरञ्जन आदिले आफूलाई निराशा र एक्लोपनबाट उन्मुक्ति दिलाएको मोहनविक्रमको ठम्याइ छ ।

‘म पटक्कै दुःखी छैन’ उनले निर्धक्कसाथ भने, ‘राजनीतिमा मात्र घोरिएको भए म पनि नि निरस हुन्थें होला ।’

मानिसहरु भन्ने गर्छन्, मोहनविक्रमका चेला प्रधानमन्त्री र मन्त्री भए, उनी जहाँका त्यहीँ छन् । तर, यसले आफूमा इष्र्याभाव पैदा नगर्ने उनले बताए ।

‘मैले सन्तुष्ट र खुसी हुन जानेको छु’ उनले थपे, ‘किनभने मैले व्यक्तिगत स्वार्थका लागि राजनीति गरेको होइन । र, व्यक्तिगत अभिष्ट पनि पालेको छैन । त्यही भएर म दुःखी छैन ।’

अहिलेका राजनीतिकर्मीहरु निराश हुनुको कारण उनीहरुको व्यक्तिगत लाभको इच्छा भएको मोहनविक्रमको बुझाइ रहेछ ।

‘चाहेको प्राप्त नहुँदा निराश हुने नै भयो । दुखी हुने नै भयो’, मोहनविक्रमले भने ।

‘धर्म अफीम हो’ भन्ने माक्र्सवादी स्कुलिङमा विश्वास गर्ने मोहनविक्रम भगवद् गीताको ‘कर्म गर, फलको आशा नगर’ दर्शनबाट प्रेरित भएका रहेछन् । तर, यसमा उनको आफ्नै व्याख्या रहेछ ।

‘जे जति काम गरिन्छ, त्यसको परिणाम, नतिजा त हुन्छ वा खोजिन्छ । तर, गीतामा भनिएको चाहिँ व्यक्तिगत लाभको आशा नगर भनेको हो’ उनले भने ।

यही कारण रीस, द्वेष, आवेग, घृणा, सत्रुता आफूभित्र नभएको उनले बताए । आफ्नो विवाह विवादित बनेको र आफ्नै साथीहरुले समेत कटु आलोचना गरेको उनले सम्भिmए ।

‘पार्टीका सबै नेता, कार्यकर्ताले एक्लो पारेका थिए, पार्टी फुटेर विश्वास गरेका साथीहरुले लत्याए’, उनले भने, ‘ती कुनै पनि परिस्थितिमा म विचलित भइनँ । मलाई दुःख पनि लागेन । तनाव पनि भएन ।’

फूलका पारखी

‘माक्र्सवादी शौन्दर्यशास्त्र’का हिमायती मोहनविक्रम फूलको सौन्दर्यमा पनि रमाउँछन् ।

‘फूलसँग मेरो लगाव छ’ उनले थपे, ‘फूल रोप्न, स्याहार्न जाँगर चल्छ ।’

कतिसम्म भने, कैदीबन्दी अवस्थामा पनि फूलको सौन्दर्यबाट उनी विमुख भएनन् । भद्रगोल जेलमा सारिएपछि उनले त्यहाँ बेग्लै कोठा पाए । आफ्नो कोठामा एउटा गमला लिएर फूल रोपे ।

उनले कपिलवस्तु जेलमा पनि बस्नुपर्‍यो । कपिलवस्तु जेलको वीचमा खाली भाग थियो । त्यही खाली भागमा उनले साथीहरुको सहयोग मागेर फूल रोपे, बगैंचा बनाए ।

‘अहिलेसम्म पनि त्यो बगैंचा छ भन्ने सुनेको छु’ उनले भने ।

अहिले आफ्नो डेरामा उनले गमलामा फूलहरु लगाएका रहेछन् । शीतल हावामा फक्रेका फूलहरु वयेली खेल्दा उनलाई बडो आनन्द आउँछ रे ।

यौगिक जीवन

मोहनविक्रमको सुत्ने, उठ्ने तालिका नियमित छ । राति १० बजे सुत्छन् । बिहान ३ बजे उठ्छन् । ठीक समयमा खान्छन्, ठीक समयमा व्यायाम गर्छन् ।

विहान लेखनकार्य सकिएपछि उनी प्राणायाम गर्छन् । ज्यानलाई तन्काउँछन्, खुम्च्याउँछन् । अनुलोम बिलोम प्राणायामले भने अलि लामो समय लिन्छ । यो प्राणायामले ज्यानमा भरपुर ‘अक्सिजन इन्हेल’ गरेपछि उनी फ्रेस हुन्छन् । करिब एक घण्टा व्यायाम र प्राणयाममा खर्चन्छन् ।

राति घर फर्केपछि पनि उनी प्राणयाम गर्छन् । रातको खानापछि दुबै घुँडा मोडेर अनिवार्य बज्रासनमा बस्छन् ।

‘पाचनका लागि यो एकमात्र उत्तम आसन हो’ उनी भन्छन् ।

मोहनबिक्रम स्वास्थ्यप्रति निकै सचेत छन् । स्वास्थ्य सम्बन्धी सामग्रीहरु खोजी खोजी पढ्छन् । नुहाउने क्रम भने नियमित हुँदैन । दिन बिराएर नुहाउँछन्, मनतातो पानीले । यो बुढ्यौलीमा उनलाई त्यही मधुमेहले सताएको छ, अरु सबै ठीकठाक ।

सादा खानपान

मोहनविक्रमको ‘फेवरेट’ खाना भन्ने केही छैन । न उनको जिब्रो लोभ्याउने विशेष परिकार छ, न खानापानको खास शैली । खानपानप्रति एकदमै उदासीन ।

‘सुगरले च्यापेको छ । त्यहीअनुसार सादा खानेकुरा खान्छु’, उनले भने ।

फापर वा आटाको सुख्खा रोटीमा दही भए उनको मन तृप्त हुन्छ । यादाकदा मासु खान्छन्, तर एक दुई चोक्टा मात्रै । घिउ असाध्यै मनपर्छ, कहिलेकाँही खाइदिन्छन् ।

खाने तालिका नियमित छ । बिहान ६ बजे ब्रेकफास्ट । १० बजे, खाना । मध्यान्ह, हल्का नास्ता । र, राति ८ बजे खाना ।

‘यसरी खानामा, स्वास्थ्यमा सचेत भइएन भने, कहाँ यति तगडा भइन्थ्यो र ?’, उनी थोरै जोसिए ।

आँखामा चमक देखियो । अनि हामीलाई लाग्यो, त्यो ख्याउटे ज्यानभित्र एउटा ‘उर्जावान् युवा’ पनि छ है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment