Comments Add Comment

नयाँ नोट–दशैं संस्कृतिको अभिन्न अंग

नोट जतन गर्ने संस्कार अभावमा चाँडै झुत्रा हुने समस्या

५ असोज, काठमाडौं । दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यता । संस्कृति नै बनेको छ यो, नेपाली समाजमा । यही संस्कृतिमा जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि ।

नेपाल राष्ट्र बैंकले यही संस्कृतिलाई ‘क्यास’ गर्दै हरेक दशैंमा नयाँ नोटहरु बजारमा ल्याउँछ । कागजी नोट प्रचलनमा ल्याउने सुरुवात नै दशैंकै बेलादेखि गरिएको थियो । असोज २००२ मा नेपालमा कागजी नोटको पहिलो प्रकाशन गरिएको हो ।

नेपाल फिलाटेलिक सोसाइटीका महासचिव शक्तिकेशरी उपाध्यायका अनुसार राजा त्रिभुवनको पालामा नेपाली नोट छापिन थालेका हुन् । पहिलो पटक पाँच, १० र एक सय रुपैयाँका नोट चलनचल्तिमा ल्याइएको थियो ।

त्यसअघि भारतीय मुद्रा नै प्रचलनमा थिए, नेपालमा । र, नेपाली मुद्राका रुपमा चाँदी, पित्तललगायत धातुका सिक्का प्रयोग हुन्थे ।

सवा तीन खर्बका नोट

बजारमा पठाइएका नयाँ नोट छपाइको सबै चरण पुरा नहुँदै फेरि अर्को चक्र सुरु गर्नुपर्ने बाध्यता छ । नोट जतन गर्ने र सिक्कालाई प्रयोगमा ल्याउने संस्कार नेपाली समाजले अपनाउन नसक्नुको परिणति हो यो, जुन सरकारी प्रयासका बावजुद व्यवहारमा अटेरी हुँदै आएको छ ।

एउटा चक्रमा करिब तीन खर्ब २९ अर्ब रुपैयाँका नोट छापिन्छन् । त्यसका लागि करिब दुई अर्ब ४४ करोड रुपैयाँ खर्च हुन्छ ।

हरेक नोटका लागि राष्ट्र बैंकले सुरक्षण राख्ने गर्छ । चलनचल्तिमा रहेका मुद्रालाई ५० र सुन, चाँदीलगायत चल सम्पत्तिलाई ५० प्रतिशत सुरक्षण मानिन्छ ।

एउटा नोटको मूल्य डेढदेखि दुई रुपैयाँ

नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि एक रुपैयाँ ९८ पैसासम्म पर्छ । उक्त लागत नयाँ नोट छाप्न अपनाइएको अन्तर्राष्ट्रियस्तरको ठेक्का प्रणालीपछिको हो । त्यसअघि प्रतिपिस ६ रुपैयाँसम्म लाग्थ्यो ।

अहिले बजारमा आएका नयाँ नोटको छपाई चक्र जनवरी २०१५ देखि सुरु भएको हो । अहिले ५, १०, २०, ५०, एक सय, पाँच सय र एक हजार दरका नोट मात्र चलनचल्तिमा छन् । एक र दुई रुपैयाँका नोट छाप्न छाडिएको छ, अहिले चलनचल्तिमा रहेका एक र दुई रुपैयाँका नोट पुरानै हुन् ।

नोट छाप्ने दुई वर्षयताको चक्र पुरा भएको छैन । यस चक्रमा पाँच रुपैयाँको २६ करोड, १० को २४ करोड, २० को २१ करोड, ५० को २४ करोड, एक सयको २० करोड, पाँच सयको १८ करोड र एक हजार रुपैयाँको २० करोड थान छापिने छन् ।

तीमध्ये एक सय र एक हजार रुपैयाँका सबै थान छापिएर बजारमा पुगिसकेका छन् । २० र ५० रुपैयाँका नोटको छपाइमा दोस्रो चरण पुरा भएको छ । पाँच र १० रुपैयाँका नोट भने पहिलो चरणका मात्र बजारमा पुगेका छन् ।

उक्त चक्र पुरा हुन जुन २०१८ सम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ । छाप्न पठाइएको नोट समयमा नआउँदा अर्को नोटमा पनि प्रभाव पर्छ । जस्तो– पाँच सयको नोट अभाव भए एक सय रुपैयाँको नोटको प्रयोग बढ्छ ।

कसरी बिग्रन्छ नोट ?

‘नोट चाँडै पुरानो हुनुमा एउटा मात्र कारण छैन, हाम्रो संस्कृति पनि मुख्य समस्या बनेको छ,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेती भन्छन् ।

चाडपर्वमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ । टीका लगाएर रंग लतपतिएको हातले नै दक्षिणा दिइँदा नोट थोत्रो हुने गर्छन् । र, दशैंमा निस्कासन गरिएका नयाँ नोट तिहार र छठ सकिँदा/नसकिँदा झुत्रे भइसकेका हुन्छन् ।

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराका अनुसार नोट प्रचलनमा ल्याइनु अघिसम्म दक्षिणाको रुपमा सिक्का दिने चलन थियो । ‘तर, तिनलाई सफाई गर्ने चलन थियो, त्यतिबेला,’ राणा भन्छन् ।

मन्दिरमा चढाइँदा अबिर, केशरीलगायत रंग लाग्ने, पानी र दूधबाट भिज्ने, पशुपंक्षी बलि दिइँदा नोटमा रगत लत्पतिने, धुप र अगरबत्तिले जल्ने गर्छन्, नोट ।

कच्याककुचुक पारेर राख्ने, केरमेट गर्नेजस्ता कारणले पनि नोट चाँडै झुत्रे हुन्छन् ।

मुद्राको जतनमा ध्यान नदिने प्रवृत्तीकै कारण बर्सेनि करोडौं मूल्यका नोट जलाएर नष्ट गरिन्छ ।

बहसमा ‘पेपरलेस’ समाज

कागजी नोट प्रयोगमा आउनु अघिसम्म ठूलो कारोबार गर्नु परे सिक्कालाई बोरामा खन्याएर घोडा या खच्चरलाई बोकाउनु पथ्र्यो । ‘त्यही झण्झट हटाउन कागजी नोट चलनचल्तिमा ल्याइएको हो,’ प्रथम गभर्नर राणा भन्छन् ।

तर, प्रयोगमा सहजता ल्याउने सरकारी प्रयास आत्मसात गर्न सकेन, समाजले । कागजी नोटको जतन कमै मानिसले मात्र ध्यान दिएको पाइन्छ ।

कतिसम्म भने सुरुवाती चरणमा नेपाली नोट प्रयोगमै बेवास्ता गरेको थियो, समाजले । भारतीय नोट प्रयोगमा रमाएका थिए, नेपाली ।

२०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि मात्र नेपाली नोटको प्रयोगमा जोड दिइयो । राष्ट्र बैंकको स्थापनाको उद्देश्यले नै नेपाली मुद्राको चलन व्यापक बनाउनु थियो ।

संसारभर अहिले कागजविहीन समाज (पेपरलेस सोसाइटी)को बहस व्यापक बनेको छ । विभिन्न मुलुकका बैंकहरुले डेबिट र क्रेडिट कार्ड प्रयोगमा व्यापकता दिँदै आएका छन् । विद्युतीय कार्डहरुमार्फत् भुक्तानीको प्रचलन पनि व्यापक बन्दै गएको छ ।

नेपालको परिदृष्य फरक छ, कागजी मुद्रामै निर्भर छ नेपाली समाज ।

कुल जनसंख्याको करिब ६० प्रतिशतको मात्र वित्तीय सेवामा पहुँच छ । बाँकी ४० प्रतिशत जनसंख्याले बैंकिङ कारोबारमा आबद्ध नै हुन पाएको छैन ।

बैंकिङ च्यानलभन्दा बाहिर नै रकम थुप्रिनुको मुल कारण पनि त्यही हो । राष्ट्र बैंकका अनुसार नयाँ–पुराना सबै गरी अहिले चार खर्ब २९ अर्ब रुपैयाँका नोट चलनचल्तिमा छन् ।

गत असारसम्ममा नेपालमा ५० लाख ४९ हजार विद्युतीय कार्डधारी छन् । तीमध्ये २० प्रतिशतले मात्र भुक्तानीका लागि कार्डको प्रयोग गर्ने नेपाल इन्भेस्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्द बताउँछिन् ।

त्यसरी भुक्तानीका लागि आवश्यक पोइन्ट अफ सेल (पीओएस) मेसिनको संख्या मुलुकभर जम्मा पाँच हजार छ । सचेतना अभावमा कार्डकाे प्रयोग पनि एटीएमबाट रकम निकाल्ने विकल्पका रुपमा मात्र भइरहेको चन्दको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment