Comments Add Comment

श्रीलंकाका ११ हजार बालबालिका यूरोपमा बेचिएको खुलासा

५ असोज, आम्स्टर्डम । सन् १९८० को दशकमा श्रीलंकामा जन्मिएका हजारौं बालबालिकालाई धर्मपुत्र/पुत्री बनाउने नाममा समुद्रपार बिक्री गरिएको खुलासा भएको छ । श्रीलंकाका उच्च अधिकारीहरुले एउटा डच वृत्तचित्रमा यो तथ्य स्वीकार गरेका हुन् ।

दुवै पक्षलाई नक्कली कागजात दिएर ११ हजार बालबालिका विभिन्न युरोपेली मुलुकमा बिक्री गरिएको हो ।

श्रीलंकाका स्वास्थ्यमन्त्री डा. रजिता सेनेरत्नेले नेदरल्यान्ड्सको समसामयिक टेलिभिजन कार्यक्रम ‘जेम्ब्ला’सँग ती बालबालिकाका वास्तविक आमाहरु पत्ता लगाउन डीएनए डाटाबेस स्थापना गरिने बताए ।

नेदरल्यान्ड्समा मात्र करिब चार हजार बालबालिका विभिन्न परिवारमा छरिएका छन् भने बाँकीलाई स्विडेन, डेनमार्क, जर्मनी र बेलायत पुर्‍याइएको छ ।

तीमध्येका एकलाई धर्मपुत्र बनाएका रोवल भान भिलेनले बीबीसीलाई बताएअनुसार उनले २७ वर्षअघि ती बालकलाई जन्म दिने आमा पत्ता लगाउन श्रीलंकाको यात्रा गरेका थिए । उनी धर्मसन्तान बनाइएका बालबालिकालाई उनीहरुका श्रीलंकाली आमाहरु पत्ता लगाउन पहल गर्ने नेदरल्यान्ड्सस्थित सामाजिक सञ्चार सञ्जालका सदस्य हुन् ।

‘बालबालिका र तिनका आमाहरुको गलत सूचना राखिएको हुँदोरहेछ, त्यसैले यो काम निकै कठीन छ,’ उनले भने ।

‘हामी एउटा डीएनए बैंक बनाउन चाहन्छौं, जसमा नेदरल्यान्ड्समा धर्मसन्तान बनाइएका सबैको अभिलेख हुनेछ,’ उनले भने, ‘स्विडेन, डेनमार्क, जर्मनीलगायत मुलुकलाई पनि त्यहाँ रहेकाहरुको डीएनए पठाइदिन अनुरोध गर्नेछौं ।’

डच काउन्सिल फर दी एड्मिनिस्ट्रेसन अफ क्रिमिनल जस्टिस एन्ड प्रोटेक्सन अफ जुभेनिलले नोभेम्बर २०१६ मा विदेशी बालबालिकालाई धर्मसन्तान बनाउने काम रोक्न आग्रह गरेको थियो । उनीहरुको मातृभूमिमा विभिन्न अनैतिक अभ्यासका कारण संस्थाले त्यस्तो सुझाव दिएको थियो । त्यसयता नै हो, जेम्ब्लाका डच फिल्म निर्माताहरुले यस विषयमा ध्यान दिन थालेको हो ।

जेम्ब्लाका अन्वेषक नोबर्ट रेइन्जेनले बीबीसीलाई बताएअनुसार बालबालिका ग्रहण गर्दा बनाइने कागजात अधिकांश झुटा छन् र यसमा सरकारी अधिकारीहरुको पनि मिलेमतो पाइएको छ ।

जन्मदर्ता प्रमाणपत्र, बालबालिकाको नाम र वास्तविक बाबुआमाको नामसमेत गलत भेटिएको उनले बताए ।

‘केही घटनामा अरुलाई नै नक्कली बाबुआमा बनाएर बच्चा बिक्री गरिएको पनि भेटियो,’ रेन्जेनले भने ।

वृत्तचित्रमा स्थानीय बासिन्दाले अस्पतालका कामदारको मिलेमतो रहेको आरोप लगाएका छन् । श्रीलंकाको मतुगामास्थित अस्पतालमा नयाँ आमाहरुले आफ्नो बच्चाको मृत्यु भएको बताएका थिए । जबकि, उनीहरुका सन्तान समुद्रपार बेचिएका थिए । वृत्तचित्रमा एक महिलाले आफूलाई आमाका रुपमा प्रस्तुत हुनका लागि अस्पतालसँग सम्पर्क रहेका कुनै व्यक्तिले ३० डलर दिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment