Comments Add Comment

अलैंचीको मूल्य घटेपछि पूर्वमा आर्थिक मन्दी, दशैंमा पनि सदरमुकाम सुनसान

ताप्लेजुङबाट झापाको विर्तामोड लैजान थोरैमात्र अलैंची लोड गर्दै कामदार । भाउ घटेपछि अलैंची कारोबार ह्वात्तै घटेको छ ।

५ असोज, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा विष्णु न्यौपानेले खोलेको चिया पसलमा दैनिक १५ कप पनि चिया बिक्दैन । डिस होम, रेडियो, टिभि, लगायतका ईलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र खतिवडा बिक्री ठप्प हुँदा पसल बेच्ने मोडमा पुगेका छन् । सदरमुकाम फुङ्लिङका अन्य व्यवसायीहरु दशैंको सिजनमा पनि आर्थिक मन्दी छाउँदा व्यवसाय नै परिवर्तन गर्ने सोचमा पुगेका छन् ।

दुई वर्ष अघि प्रति मन (४० किलो) एक लाख नाघेको अलैंचीको मूल्यमा गिरावट आएकै कारण दशैंको मुखमा समेत व्यवसाय खस्किएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीको दावी छ ।

सरकारी कार्यालय नजिकै चिया पसल खोलेका न्यौपानेले पहिले दैनिक ३० देखि ४० कप चिया बेच्ने गरेकोमा अहिले आधाले बिक्री घटेको बताए । घर भाडा महिनाको १४ हजार छ । आम्दानी घटेर पाँच हजारमा झरेकाले अबको महिनादेखि भाडा नघटाए व्यापार गर्न नसक्ने उनको भनाई छ ।

इलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र खतिवडा व्यापार ठप्प हुँदा सटरको भाडा २० हजार र आफू बस्ने ६/७ हजारको कोठाको भाडा तिर्ने अवस्था नहुँदा पसल नै बेचेर घर र्फकने सोचमा पुगेको बताउँछन् ।

‘पहिले बिक्री पनि राम्रै थियो दैनिक ४०/५० हजाराको टिभि, डिसहोम लगायतको सामाग्री बिक्री हुन्थ्यो भाडा पनि सहजै तिरिदै आएको थियो । अहिले दैनिक दुई हजारको पनि सामाग्री बिक्री हुँदैन केले खाने केले भाडा तिर्ने ?’ खतिवडा प्रश्न गर्छन्, ‘अलैचीको भाउ एक लाख माथि हुँदा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चहल पहल बाक्लै हुन्थ्यो ।’

दशैंको समयमा त सानो सडक भएको सदरमुकाममा भिडभाडले सवारी साधन जाम समेत हुन्थ्यो अहिले त दिनभर पसल रुँघेर बस्यो बिक्री शून्य छ । दशैंको समय होकि वर्षाको समय । बिक्री नै छैन,’ कपडा पसल सञ्चालक कमला पौडेल भन्छिन् ।

ताप्लेजुङबासी मुख्य आम्दानिको स्रोत मानिएको अलैंचीको भाउ गत वर्षबाट लगातार घटेर मनको (४० किलोको) ३०/३५ हजार रुपैयाँमा झरेपछि सबैतिर यसको असर परेको हो । न्यूनतम २/४ मन अलैंची फलाउने कृषकहरुले पनि मनको एक लाख बढी हुँदा सिजनको ४/५ लाख आम्दानी गर्दै आएकोमा अहिले मुस्किलले ६० हजारदेखि एक लाखसम्म मात्र आम्दानी गर्दा बालबच्चा पढाउनदेखि दैनिकी गुजार्न समेत मुस्किल पर्ने भएकाले पहिले जस्तो बजार गएर सामाग्री खरिद गर्ने अवस्था नभएको आठराई त्रिवेणी गाउँपालिकाका नवराज सिटौला बताउँछन् ।

‘कृषकको आम्दानी घटेपछि त्यसको असर सिधै व्यापार व्यवसायमा पर्छ, पहिले राम्रो व्यापार हुने आशामा पसल खोलका व्यवसायीको अवस्था अहिले नाजुक बन्न थाल्यो,’ उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे भन्छन् ।

व्यापारीले राम्रो आम्दानी गर्ने भएपछि सदरमुकाममा पसल गर्ने सटर र कोठाको भाडा पनि बढाएका घर धनिले आम्दानि घटेको एक वर्ष बितिसक्दा समेत व्यवसायीको मर्का नबुभ\mदा व्यवसायीहरु व्यवसाय छाडेर पलायन हुने अवस्था सुरु भएको व्यवसायी महेन्द्र खतिवडाको भनाई छ । ताप्लेजुङको व्यापारीक केन्द्र मानिएको तोक्मेडाँडा क्षेत्रका घर धनिले पहिले तलाको सटरको मासिक २० हजार भाडा र त्यस अघि पेश्की स्वरुप दुई लाख दिएपछि मात्र कोठा दिने गरेका छन् ।

त्यसरी व्यापार सुरु गरेका व्यवसायी अहिले धमाधम पसल नै छाड्न र पसल बिक्री गर्न थालेको स्थानीय व्यावसायी प्रदिप लिम्बु बताउँछन् । दशैंको मुखमा लत्ताकपडा, किराना साथै भाँडाकुडाको व्यापार व्यवासायमा उत्साह हुनुपर्नेमा अहिले सबै ठप्प जस्तो नै रहेको व्यापारीहरुको भनाइ छ ।

ताप्लेजुङ जिल्लामात्र नभई अलैंची उत्पादन हुने पूर्वी जिल्लाहरु पाँचथर, तेह्रथुम, संखुवासभा लगायतमा पनि अलैंचीको मूल्यमा गिरावट आएको छ ।

किन घट्यो अलैचीको भाउ ?

नेपालमा उत्पादन भएको अलैंचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैंची काँकडभिटा नाका हुँदै भारत निर्यात हुन्छ । पाँच प्रतिशत अलैंची भने नेपालमै खपत हुन्छ । मसला, पूजा सामाग्री लगायतमा अलैंची प्रयोग हुने गरेको व्यवसायीको भनाइ छ । अहिले आएर भारतमा पनि अलैंची उत्पादन बढेपछि नेपालबाट बाहिरीने अलैंचीको कमि आएको र भाउ उच्च रुपमा घटेको व्यवसायीहरुले बताएका छन् ।

नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका यदुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि नेपालको मूल्य घटेको टेलिफोनमा बताए । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसाम, मेघालय लगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको उनको भनाइ छ ।

पछिल्लो समय नक्कली अलैंची समेत मिसाएर बेच्दा नेपालको अलैंची निकासीमा कमी आएको अलैंचीको क्षेत्रमा अनुसन्धान गरिरहेका संस्थाहरुको दावी छ ।

नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तान लगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकाले पनि नेपाली अलैंचीको मूल्य घटेको अलैंची सम्बन्धी अनुसन्धान गरिरहेको हिमाली कार्यक्रमका सीपी भट्टराईले बताए ।

नेपालबाट भारत र पाकिस्तानमा पुर्‍याएको अलैंचीमा नेपालबाट अलैंची जातको नक्कली बस्तु चुरुम्फा केही परिमाणमा मिसावट हुने गरेको छ । भियतनाम, ग्वाटेमालाबाट अलैंची जस्तै नक्कली सामग्री भारत भित्रिएपछि अलैंचीको मूल्यमा गिरावट आएको अलैंची व्यवसायी महासंघको आरोप छ ।

भाउ बढ्ने आशामा गोदामै अलैंची

गत वर्ष प्रतिमन बढीमा एक लाख १० हजार र कममा ६० हजारमा खरिदबिक्री भएको नेपाली अलैंची यस वर्ष ३५ हजारमा स्थिर छ । कहिलेकाहि त २७ हजारमा पनि बेच्नु पर्ने बाध्यता रहेको व्यापारीहरु बताउँछन् ।

मूल्य बढ्ने आशमा नेपाली व्यापारीले ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको ताप्लेजुङका व्यवसायी खेमराज केसीले बताए । घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैंचीको कारोबार अहिले पूरै सुस्ताएको छ ।

थोरै-थोरै मात्र अलैंची साना सवारी साधनमा बिर्तामोड पठाउने गरिएको छ भने ठूलो मात्रामा अलैंची ताप्लेजुङको गोदाममा नै थन्किएको व्यवसायीको भनाई छ । लामो समय थन्किँदा ढुसी आएर बिग्रिन थालेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङ जिल्लामा ओलाङ्चुङ्गोला बाहेक सबै क्षेत्रको कूल चार हजार ५ सय हेक्टरमा अलैँची खेती हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment