Comments Add Comment

कुवेतमा नेपालीले मनाए संविधान दिवस

२१ सेप्टेम्बर, कुवेत । कुवेतमा रहेका नेपालीहरुले पनि संविधान दिवस मनाएका छन् ।

नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष पुगेको अवसरमा कुवेतका नेपालीहरुले विशेष कार्यक्रमकाबीच दिवस मनाएका हुन् ।

यहाँको राजदूतावासद्वारा क्राउन प्लाजा होटेलमा एक आयोजित कार्यक्रममा नेपालीहरु सहभागी भएका थिए ।

कार्यक्रममा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री एचई अमाल मेज्रेन एल-हामडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा राजदूत यज्ञबहादुर हमाल, विभिन्न संघसँस्थाहरुका प्रमु तथा प्रतिनिधिहरु लगायत अन्य उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै कुवेतका लागि नेपाली राजदूत यज्ञ बहादुर हमालले प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गरे ।

उनले नेपालको इतिहासमा पहिलो पटक २० सेप्टेम्बर २०१५ मा नेपाली जनताद्धारा चुनिएको ऐतिहासिक संविधानसभाद्धारा संविधान जारी भएको र तत्पश्चात सो दिनलाई राष्ट्रिय दिवस मनाउन थालिएको बताए ।

संविधानको प्रमुख विशेषताहरुको बारेमा जानकारी गराउँदै उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपश्चात अहिले शान्ति, स्थायित्व र आर्थिक विकासतर्फ लम्किरहेको बताए ।

नेपाल सधै स्वतन्त्र राष्ट्रको रुपमा रहेको कुरा उल्लेख गर्दै उनले नेपालको आर्थिक वृद्धि दर हाल ७ प्रतिशत पुगेको र देशमा जलविद्युत, खानी, प्राकृतिक सुन्दरता, जैविक विविधता, विविध कला, संस्कृति तथा अन्य प्राकृतिक स्रोत साधनको प्रचुर उपलब्धता रहेको हुँदा नेपाल सरकारले तिनको उपयोगबाट नेपाली जनताको लागि उच्च आर्थिक वृद्धि र समृद्धि प्राप्त गर्नेतर्फ काम गरिरहेको बताए ।

उनले नेपाल विश्वको एक आकर्षक पर्यटक गन्तब्य रहेको हुँदा कुवेती नागरिक एवं अन्य विदेशीहरुलाई नेपाल भ्रमणमा जान आग्रह गर्दै नेपालको कार्पेट, टेक्सटाइल, पश्मिना, अलैची, चिया, अन्य औषधीजन्य जडिबुटी जस्ता उत्पादनहरु विश्वभर प्रख्यात रहेको चर्चा गर्दै नेपालका उत्पादनहरुको उपभोग गर्न र नेपालको जलविद्युत, यातायात पूर्वाधार, पर्यटन, कृषि तथा खनिज जस्ता राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानी गरी सोबाट लाभ लिन कुवेत तथा अन्य मुलुकका उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रमस्थलमा नेपालको प्राकृतिक सौन्दर्य, इतिहास, कला, सस्कृति झल्कने तस्विर, डकुमेन्ट्री भिडियो तथा पर्यटन सम्बन्धी जानकारीमूलक प्रचार सामाग्री राखी प्रचारप्रसार गरिएको थियो ।

साथै, नेपाली कलाकारहरुद्वारा नृत्य, सांगीतिक धुन, बाँजागाँजाको प्रस्तुतीद्वारा नेपाली संस्कृतिको प्रचार गरिनुका अतिरिक्त सेल रोटी, मम, गुन्द्रुकको अचार जस्ता विशेष प्रकारका नेपाली खानेकुराका परिकारहरु पनि विदेशी अतिथिहरुको लागि राखिएको थियो ।

उक्त कार्यक्रम सहभागीहरुको अभिरुचीका साथ भब्यतापूर्वक सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment