Comments Add Comment

रीना मेयर बनेपछि प्रभु साहले भने- मेरो चुनावमा उनको योगदान थियो !

रोल्पाको भूमिगत यात्रादेखि मौलापुरकी मेयरसम्म

५ असोज, रौतहट । रीनाकुमारी उर्फ कविता साह प्रदेश २ को पहिलो महिला मेयर बनेकी छन् । साह रौतहट मौलापुर नगरपालिकामा माओवादी केन्द्रबाट मेयर चुनिएकी हुन् ।

रीनाले संघीय फोरमका राम एकवाल रायलाई १७०४ मतान्तरले पराजित गरिन् । मेयरमा निर्वाचित साहले ३ हजार ९१२ मत पाउँदा राम रायले २२०८ मत मात्र पाए ।

रौतहटमा माओवादीले जित पक्का भएको दाबी गरेको स्थानीय तह मध्ये एक मौलापुर हो । त्यसमाथि मौलापुरमा मेयरका उम्मेदवार रीना थिइन् ।

दोस्रो संविधानसभामा माओवादीले निकै कमजोर प्रदर्शन गर्दा पनि रौतहट ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए, माओवादी नेता प्रभु साह । रीना प्रभुकी पत्नीसमेत हुन् ।

पूर्वमन्त्री एवं वर्तमान शहरी विकास मन्त्री रहेका प्रभु साह सुरुमा डा. बाबुराम भट्टराई निकट मानिन्थे । तर, भट्टराई समूहले माओवादी छाड्दा पनि उनी पार्टी माओवादीमै रहे ।

साहलाई संसदीय राजनीतिको चतुर खेलाडी मान्ने गरिन्छ । र, रौतहटमा जित हाल पारेर उनले आफू खेलाडी रहेको थप पुष्टि गरेका छन् ।

माओवादी नेताहरुले मौलापुरमा पाएको सफलताको श्रेय प्रभुलाई दिने गरेका छन् । कतिसम्म भने चुनाव प्रचारमा रौतहट पुगेका कांग्रेसका एक नेताका अनुसार प्रभु साहको चुनाव क्षेत्र सडककै कारण चिनिने अवस्था छ । साहको चुनाव क्षेत्रमा अन्यत्रको तुलनामा सडकको अवस्था निकै राम्रो छ ।

मौलापुरको चुनावी परिणाम सार्वजनिक भएपछि मन्त्री प्रभु साहले भने, ‘मेरो चुनावमा उनको योगदान छ, उनको चुनावमा मेरो पनि भूमिका रहृयो । तर, जनताले उनको योग्यता हेरेर नै जिताएका हुन् । चुनावमा म एक दिन मात्रै गएको हुँ ।’

बिहेपछि माओवादीमा सक्रिय

प्रभु र रीनाको विवाह ०५६ मा भएको हो । त्यसको एक वर्षपछि रीना माओवादीमा सक्रिय भइन् ।

सशस्त्र द्वन्द्वकालमा रुकुम रोल्पासम्म पुगेकी उनी जिल्ला कमिटीमा बसेर काम गरिन् । तर, साह ०६४ मा सांसद भएपछि परिवारसहित काठमाडौं बस्दै आएकी थिइन् । त्यसपछि राजनीतिमा खासै सक्रिय भइनन् ।

माओवादी रौतहटका एक नेताका अनुसार मौलापुर नगरको मेयरका लागि माओवादीबाट ४/५ जनाको दाबेदारी थियो । तर, साह पत्नी रीनाले टिकट पाइन् । उनलाई उम्मेदवार बनाउँदा जित्ने भएकाले टिकट दिइएको माओवादीका जिल्ला नेताहरु बताउँछन् ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि दुई छोराहरुको हेरचाह एवं लगभग गृहिणीको जस्तै भूमिकामा रहे पनि अब रीनाले घर गृहस्थीबाट बाहिर निस्केर जनप्रतिनिधिको भूमिका खेल्ने अवसर प्राप्त गरेकी छिन् ।

दुई नम्बर प्रदेशको मेयरमा पहिली बिजेता बन्न सफल भएकी रीनाले एसएलसीसम्म अध्ययन गरेकी छिन् ।

रीनाका बारेमा एक माओवादी नेताले भने- विगतमा राजनीतिमा खासै सक्रियता नदेखिए पनि उनी सक्षम नेतृ हुन् । उनीसँग नगरपालिका हाँक्न सक्ने क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment