Comments Add Comment

त्रिशुली थ्री-‘ए’ आयोजनामा मुख्य सुरुङको ‘ब्रेक-थ्रु’


५ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली थ्री-‘ए’ को मूख्य सुरुङको आज ब्रेक-थ्रु भएको छ ।

समयसीमा भन्दा ४ दिन अघि रुङ खन्ने काम सकिएको छ । सरकारले यसलाई सेप्टेम्बर २५ सम्ममा सुरुङ खन्ने काम सक्न समयसीमा तोकेको थियो । ४.०७६ किमी लामो सुरुङमध्ये भूकम्प आउनु अघि ३.८९ किमी खनिसकिएको थियो ।

भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)ले गत साउनको सुरुवातबाट काम सुरु गरेको थियो ।

भूकम्पका कारण पहुँच मार्ग बिग्रेपछि यसले निर्माण कार्य रोकेेको थियो । भूकम्पपछि काम छाडेको यो कम्पनीले २ वर्ष सम्म काम नै नगरी बस्यो ।

पूर्व ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आयोजना तत्काल सुचारु गर्न चिनियाँ कम्पनीलाई दवाव दिएपछि काम थालेको थियो ।

माथिल्लो त्रिशुली थ्री-ए जलविद्युत आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले आयोजनाको ६५ प्रतिशत काम सकिएको जानकारी दिएका छन् ।

उनले भने ‘ सिभिलत तर्फकेा ८२ प्रतिशत काम सकिएको छ, अब इलेक्ट्रोमेकानिकल काम बाँकी छ, जसका लागि सामान आयात गर्ने काम भइरहेको छ । ‘ इलेक्ट्रोमेकानिकल लागि आवश्यक पर्ने सामानहरु चीनबाट आयात हुँदै गरेको उनले जानकारी दिए ।

सहि तवरले काम अघि बढ्न पाएकेा भए यो आयोजना गत वर्षको असार बाटै सञ्चालनमा आइसक्थ्यो । तर यो आयोजना सन् २०१९ को अप्रिलसम्ममा मात्रै निर्माण गरिसक्ने आयोजनाको लक्ष्य छ ।

गत शुक्रबार मात्रै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना स्थल पुगेर चिनियाँ कम्पनीलाई समयमै काम सकन निर्देशन दिएका थिए ।

गत दुई महिनादेखि भने निरन्तर रुपमा काम अघि बढेको छ, सुरुङ निर्माण सँगै अन्य पहुँच मार्ग मर्मत, पावर हाउस निर्माणको काम पनि कम्पनीले अघि बढाएको छ।

सन् २०११ को जुनबाट काम सुरु भएकोे यो आयोजना कुल ६० मेगावाट क्षमताको छ । ६० मेगावाट बाट बढाएर ९० मेगावाट बनाउने भनेर ठेकेदारले नै चौतर्फी लविङ गरेको थियो । तर अन्तत उ सफल हुन सकेको थिएन ।

आयोजनालाई अहिले सिमेन्टको समस्या

यस आयोजनाले अहिले भारतीय जेपी सिमेन्ट प्रयोग गरिरहेको छ । सरकारले भने अहिले भारतबाट आयातित सिमेन्ट पनि नेपाल गुणस्तर प्रमाणपत्र उल्लेख हुनुपर्ने नियम ल्याएको छ ।


तर, भारतीय सिमेन्ट कम्पनीले भने यसमा चासो दिएका छैनन् । त्यसैले अब आयोजना स्थलमा के कसरी सिमेन्ट आयात गर्ने भनेर निर्माण कम्पनी चिन्तित बनेको छ ।

ऋणको म्याद थप्ने पनि टुंगो लागेन

आयोजनाका लागि ऋणदाता चिनियाँ बैंकसँग लिएको पाँच वर्ष ऋणको अवधि थप गरिदिन सरकारले यसअघि नै आग्रह गरिसकेको छ । सरकारले यो आयोजनाका लागि आठ अर्ब ९० करोड ऋण लिएको हो ।

ऋण तिर्ने अवधि सुरु भइसकेपनि आयोजना सकिएको छैन । जसका कराण सरकारले यसको म्याद थप गर्न खोजेको छ । तर चिनियाँ पक्ष अहिलेसम्म यसमा सहमत भैसकेको छैन ।

जसका कारण अहिले आयोजनाले निर्माण कम्पनीलाई पैसा दिन सकेको छैन । आयोजना प्रमुख जोशीका अनुसार कम्पनीलाई दिनुपर्ने ८० करोड बराबरको रकम बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment