Comments Add Comment

कांग्रेस र एमालेलाई धक्का, माओवादी र मधेसवादीलाई छक्का !

भित्री मधेसमा कांग्रेस र राजमार्गमा एमालेको बर्चश्वमाथि प्रश्न

समाचार टिप्पणी

५ असोज, काठमाडौं । प्रदेश नम्बर २ अन्तरगत १३६ स्थानीय तहमा सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम प्रारम्भिक चरणमै छ । विहीबार साँझ ८ बजेसम्म करिब ३० वटा स्थानीय तहको परिणाम आएको छ । अझै एक सयभन्दा बढी स्थानको परिणाम पर्खन बाँकी नै छ ।

दलहरुले पाइरहेको अग्रताको स्थितिलाई हेर्दाखेरि भने कुन दलको अवस्था कस्तो होला भनेर सामान्य अनुमान लगाउने आधार देखिएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाली कांग्रेसले केही बढी सीट जित्ने देखिएको छ । तर, कांग्रेसले मधेसमा जुन ढंगले जित्ने सोचेको थियो, उसले पाउने सीट संख्या ४० को हाराहारीमै अल्मलिने संकेत देखिएको छ । यसले गर्दा एमालेलाई जितेर देशकै ठूलो पार्टी बन्ने कांग्रेसको सपना लगभग असफल भइसकेको छ ।

मधेसमा दोस्रो स्थानका लागि राजपा, माओवादी र एमालेवीच प्रतिस्पर्धा हुने देखिएको छ । संघीय समाजवादी फोरमले पनि सन्तोषजनकरुपमै अग्रता लिइरहेको अवस्था छ ।

अहिलेसम्मको अवस्थालाई आँकलन गर्दा मधेसको स्थानीय चुनावमा विभिन्न ६ वटा पहेली देखिएका छन्ः

१. अरु प्रदेशमा दुई दल, मधेसमा बहुदल !

पहिलो र दोस्रो चरणको चुनावले नेपालमा जबर्जस्त के स्थापित गर्न खोजेको थियो भने मुलुकमा अब बहुदलीय हैन, दुई दलीय व्यवस्था नै फापसिद्ध हुनेछ र कांग्रेस-एमाले बाहेक अन्य दलहरुको खासै हैसियत छैन ।

तेस्रो चरणमा मधेसको चुनावले नेपालमा दुईदलीय हैन, बहुदलीय व्यवस्थाको सम्भावनालाई सतहमा ल्याएको छ । र, अब देशमा कांग्रेस र एमालेको मात्रै एकलौटी चल्नेवाला छैन भन्ने फेरि एकपटक देखाइदिएको छ

हुनत अघिल्ला दुई चरणका चुनावमा माओवादी पार्टीले तेस्रो स्थान ल्याएको थियो, तर कांग्रेस-एमालेभन्दा उसको ‘ग्याप’ अचाक्ली बढी थियो । यही ‘ग्याप’का कारण सुरुका दुई चरणका चुनावले नेपलामा बहुदल हैन, दुई दलीय व्यवस्थाको सम्भावनालाई संकेत गरेकै हो ।

दुई दलीय रुझानबाट खुशी हुँदै एमाले र कांग्रेसका नेताहरुले अलि बढी नै प्रचार गरेका थिए । उनीहरुले दुई दलीय रुझानलाई टेकेर नेपालमा नयाँ वैकल्पिक दलहरुको उदयलाई लगभग खारेज गर्ने प्रयास गरेका थिए ।

तर, तेस्रो चरणमा मधेसको चुनावले नेपालमा दुईदलीय हैन, बहुदलीय व्यवस्थाको सम्भावनालाई सतहमा ल्याएको छ । र, अब देशमा कांग्रेस र एमालेको मात्रै एकलौटी चल्नेवाला छैन भन्ने फेरि एकपटक देखाइदिएको छ ।

मधेसमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजाले के देखाएको छ भने प्रदेश नम्बर दुईमा कांग्रेस र एमाले हात्तीजस्ता अनि माओवादी र मधेसवादी दलहरु चाहिँ मुसाजस्ता साना छैनन् । कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय फोरम लगायतका पार्टीहरुको हैसियत यो प्रदेशमा संख्यात्मकरुपमा केही सीटको तलमाथि भए पनि गुणात्मकरुपमा लगभग उस्तै-उस्तै आकार देखिने सम्भावना छ ।

मधेसको चुनावी परिणाम सबै आउन बाँकी रहे पनि यतिचाँहि अहिल्यै बताउन सकिन्छ कि यहाँ पाँच पार्टीको सहअस्थित्व देखा परेको छ ।

मधेसको यो राजनीतिक विशिष्ठता अन्य प्रदेशहरुमा देखिएन । थारु बाहुल्य प्रदेशमा पनि कांग्रेस, एमाले र माओवादी नै अगाडि आए, त्यहाँ क्षेत्रीय दलहरुले प्रगति गर्न सकेनन् । पूर्वको लिम्बुवानको प्रभाव रहेका ठाउँमा पनि कांग्रेस र एमाले नै हावी भए ।

तर, मधेसमा भने दुई दलीय वा तीन दलीय राजनीतिको ठाउँमा बहुदलीय राजनीति देखियो । र, अब यसको प्रभाव प्रदेश र केन्द्रको चुनावमा अझ बढी मुखरित हुनेछ ।

किनभने, मधेसमा ‘बहुदल’ले जितेपछि अब थरुहट आन्दोलन उठेको क्षेत्र र काठमाडौंमा समेत क्षेत्रीय पार्टीहरुलाई यसले मनोवैज्ञानिक रुपमा मलजल गर्न सक्छ । राजधानीमा विवेकशील साझा पार्टीको जमिन अघिल्लो चुनावमै तयार भइसकेको छ । मधेसको बाछिटा अब सामान्यरुपमै भए पनि अन्य प्रदेशमा पुग्यो भने यसको जश अपजस मधेसलाई नै जानेछ ।

२. मधेस मुद्दाको बैधता

प्रदेश नम्बर २ को चुनावमा त्यहाँका जनताले कांग्रेस र एमालेलाई मात्रै मतदान गरेर मधेस केन्दि्रत दलहरुलाई हराइदिएको भए भन्न सकिन्थ्यो कि मधेसको मुद्दालाई जनताले अनुमोदन गरेनन् । तर, मधेसी जनताले एमालेलगायतका संविधान संशोधनको विरोध गर्ने दलहरुको एजेण्डालाई साइजमा राखिदिएका छन् । र, मधेसकेन्द्रित दलहरुलाई उल्लेख्य रुपमा रोजेका छन् ।

वीरगञ्ज, जनकपुरलगायतका सहरी क्षेत्रको जनमत संविधान संशोधनको विरोध गर्ने दलको पक्षमा खासै गएको देखिँदैन । बाराको जितपुर सिमरामा मेयर पदका लागि एमालेका उम्मेदवारलाई व्यक्तिगतरुपमा मत धेरै खसेको देखिए पनि वडाहरुको नतिजा फरक छ ।

केपी ओली

यसबाट समग्रमा के निश्कर्ष निकाल्न सकिन्छ भने एमाले नेता केपी ओलीको दाबी जसरी नै मधेसी जनताको जनमत मधेसी नेताको विपक्षमा छ भन्ने तर्कले बैधता पाएन ।

एमाले नेताहरुले मधेसी दलका पक्षमा मधेसका जनता छैनन् भनेर जुन दाबी गर्दै आएका थिए, त्यो दाबीलाई यो चुनावले लगभग खारेज नै गरिदिएको छ ।

३. राजमार्गमा एमालेलाई माओवादीको चुनौती

प्रदेश नम्बर दुईको चुनाव हुनुभन्दा पहिले के भनिँदै आएको थियो भने भित्री मधेसमा कांग्रेस बलियो छ र पहाडे समुदायको बसोबास रहेको राजमार्ग क्षेत्रमा एमालेको बर्चश्व छ । तर, कांग्रेस र माओवादीले तालमेल नगरी लडेका राजमार्ग बेल्टका धेरै ठाउँमा माओवादीको पोजिसन एमालेकै हाराहारीमा देखिएको छ ।

एमालेको ‘राष्ट्रवादी’ नाराको खपत राजमार्ग उसले सोचेको जस्तो बलियो देखिएन । राजमार्गका पहाडे वस्तीमा एमालेको मात्रै प्रभाव छ भन्ने प्रस्तावना लगभग गलत सावित भएको छ ।

राजमार्ग र कोर मधेसमा माओवादी पार्टीले आफ्नो पोजिसन सुधार गरेको मतगणनाको प्रारम्भिक नतिजाले संकेत गरेको छ । माओवादीले आफूलाई एमालेकै हाराहारीमा उभ्याएको छ । राजमार्गमा एमालेको सामान्य अग्रता नै देखिको छ । तर, प्रतिस्पर्धीहरु पनि ऊ सँगसँगै देखिएका छन् । एमाले सँगसँगै माओवादीले पनि राजमार्गमा मार्चपास गरेको छ ।

सप्तरीमा माओवादीको प्रस्तुती विगतको भन्दा कमजोर भए पनि उसले सिरहाबाट त्यसको क्षतिपूर्ति गरेको छ ।

त्यसैले राजमार्ग बेल्ट एमालेको मात्रै आधार क्षेत्र बनेको रहेनछ र त्यहाँका जनताले संविधान संशोधनको पक्ष लिने दललाई अस्वीकारै गर्न चाहेका रहेनछन् भन्ने तथ्य चुरे क्षेत्रमा माओवादी र कांग्रेसले पाएको मतले देखाएको छ, जुन एमालेका लागि चुनौतीको विषय हो भने माओवादीका लागि उत्साहको विषय हो, एमालेलाई यसको असर आगामी चुनावमा पर्न सक्छ ।

प्रदेश नम्बर दुईको निर्वाचनमा माओवादी र मधेसवादी दलहरुले पाएको सफलता क्रिकेट खेलको छक्काजस्तै गुणाल्मकरुपमै उपलब्धीपूर्ण देखिएको छ । एमाले र कांग्रेसले चाहिँ क्रमशः राजमार्ग र कोर मधेस दुबै ठाउँबाट धक्का व्यहोरेका छन् ।

४. उपेन्द्र यादवको शक्ति आर्जन

मधेसको चुनावले देखाएको अर्को प्रारम्भिक संकेत के हो भने ६ वटा पार्टीहरु एकीकृत भएर राजपा बनेपछि मधेसमा उपेन्द्र यादवको संघीय समाजवादी फोरम लगभग सकिएको विश्लेषण गर्नेहरु गलत सावित भएका छन् । र, उपेन्द्र यादवले आफूलाई काबिल नेताका रुपमा स्थापित गरेका छन् ।

उपेन्द्र यादव

भलै, कांग्रेसपछिको दोस्रो दल बन्ने सम्भावनाका हिसाबले संघीय फोरम भन्दा राजपा अगाडि छ, तर संघीय समाजवादी फोरमले पाइरहेको मत मधेसमा सन्तोषजनक देखिएको छ । उसले पाएको सफलता माओवादी र एमालेकै हाराहारीमा छ ।

पहिलो र दोस्रो चरणको चुनावमा फोरमले प्राप्त गरेको निराशाजनक नतिजाको क्षतिपूर्ति उपेन्द्र यादवले मधेसबाट गराएका छन् । नयाँशक्तिसँग सहकार्य नगरी उनले आफ्नो दललाई स्थापित गराएका छन् । यो मधेसको चुनावको अर्को पहेली हो ।

५. हिन्दुवादीको हरिबिजोग

मधेसमा हिन्दु राष्ट्रका पक्षधरहरुको बाहुल्य रहेको बताइने गरेको थियो । हुन पनि ०५१ साल र ०५६ सालको चुनावमा मधेसमा हिन्दुवादी र राजावादीहरु एकाएक फस्टाएका थिए । वीरगञ्जलाई पनि हिन्दुवादको अखडाको रुपमा व्याख्या गरिँदै आएको थियो ।

तर, यो स्थानीय चुनावले हिन्दुवादी पार्टी राप्रपालाई रुचाएको देखिएन । र, मधेसमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको मुद्दा बोक्ने पार्टीहरु नै जनताको रोजाइमा परेको देखिएको छ । त्यसैले यो परिणामले पक्कै पनि राजावादी र हिन्दुवादीहरुलाई सबक सिकाएको हुनुपर्छ ।

६. देउवाको नेतृत्वमाथि खतराको घण्टी

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले मधेसमा यसपटक आफ्नो शक्ति क्षीण गराएको छ । धनुषामा कांग्रेसले निकै क्षति व्यहोरेको संकेत देखिँदैछ ।

शेरबहादुर देउवा

आफ्नै हातमा सत्ता भएका बेलामा पनि देउवा र विमलेन्द्र निधीले मधेसमा काम गर्न सकेनन् । सरकारमा दीपक बोहोराजस्ता विवादित व्यक्तिलाई औचित्यहीन ढंगले लैजानु, जम्बो सरकार बनाएर जनतानमा बदनामी कमाउनु र अलोकप्रिय शासन चलाउनुजस्ता देउवा प्रशासनका विकृतिको प्रभाव स्थानीय चुनावमा देशैभरि देखियो । मधेसी जनताले नेपाली कांग्रेसको कमजोरीमा लाहाछाप लगाउने चाहना देखाएनन् ।

पुरानो प्रभावका कारण कांग्रेसले मधेसमा आफूलाई पहिलो दल बनाउने सम्भावना त सकिइहालेको छैन । तर, उसले ७०/८० सीट जित्ने जुन सपना देखेको थियो, त्यसमा गम्भीर धक्का लागेको छ ।

समग्रमा मधेसमा कांग्रेसको एकलौटी वर्चश्व तोडिएको छ । कांग्रेसलाई यसको थप असर प्रदेश र केन्द्रको चुनावमा पर्ने देखिन्छ ।

रोचक भविश्यको उदघाटन !

मधेसको चुनावको अर्को रोचक पहेली के हो भने यसले वर्तमानलाई भन्दा पनि भविश्यको राजनीतिलाई बढ्ता रोचक बनाइदिएको छ । अब हुने केन्द्र र प्रदेशको चुनावमा यो नतिजाले नयाँ अध्यायको थालनी गराउनेछ ।

मधेसका ८ जिल्लामा अब हुने जिल्ला समन्वय समितिको चुनावबाटै विभिन्न दलहरुवीच गठबन्धनको थालनी हुनेछ । त्यसपछि कतिपय दलहरुले गठबन्धनको प्रयास गर्नेछन् ।

जस्तो कि नेपाली कांग्रेसले अब माओवादीसँग सहकार्य गर्न विगतको जस्तो अरुची देखाउने हैन कि आशक्ति देखाउने प्रयास गर्न सक्छ । किनभने माओवादीलाई अवमूल्यन गर्दा उसले मधेसमा धक्का खाइसकेको छ ।

तर, मधेसमा पाएको सफलताबाट उत्साहित बनेको माओवादीले प्रदेश र केन्द्रको चुनावमा कांग्रेसलाई खासै भाऊ नदिने सम्भावना बढ्ने छ । माओवादीले प्रदेश र केन्द्र दुबै ठाउँमा आफ्नै बलले लड्ने र तेस्रो शक्तिका रुपमा स्थापित गरेर कांग्रेस-एमालेवीच खेल्ने रणनीति बनाउने सम्भावना मधेसको चुनावी परिणामले देखाएको छ ।

प्रचण्ड

यो अवस्थामा अब प्रचण्डले आफैंलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर केन्द्रको चुनाव लड्ने सम्भावना बढेको छ ।

बरु यस अवधिमा एमाले नेताहरुले ‘एक्लै लड्ने’ दम्भलाई छाड्ने र माओवादी वा मधेसकै कुनै दललाई साथमा लिएर कांग्रेसलाई कमजोर बनाउने रणनीति अपनाउने संकेत मधेसको परिणामले दिएको छ ।

एमालेले चुनावपूर्व तालमेल नगरे पनि चुनावपछिको तालमेललाई महत्व दिने सम्भावना छ । जस्तो कि अब नगर कार्यपालिका र गाउँ कार्यपालिका अनि जिससको चुनावमै मधेसमा तालमेलका रोचक खेलहरु प्रारम्भ हुनेछन् ।

त्यसैगरी भावी चुनावमा दलहरु एक्लाएक्लै लडे भने पनि प्रदेश सरकार र केन्द्र सरकार बनाउने बेलामा कांग्रेस र एमालेले एक्ला एक्लै बुहत नपाउने स्थितिमा माओवादी र मधेसवादीलाई साथमा लिएर सरकार बनाउने खेल रोचक किसिमले सुरु हुन सक्छ ।

किनभने मधेसको चुनावले कांग्रेस र एमालेलाई भनिसकेको छ- तिमीहरुको दुई दलीय व्यवस्था टिक्दैन, साना दल र क्षेत्रीय पार्टीहरुको साथविना न कांग्रेसको ‘बिजनेस’ चल्छ, न त एमालेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment