Comments Add Comment

पोखरा-काठमाडौं रुटमा विश्वस्तरीय बस, हरेक सिटअघि टिभी

६ असोज, पोखरा । पोखराको जगदम्बा ट्राभल्सले विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस भित्राएको छ । यसअघी दक्षिण एसियाली स्तरको बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले पोखरा-काठमाडौंको रुटमा बस सञ्चालन गर्ने उद्धेश्यले जगदम्बा ट्राभल्सले विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस पोखरा भित्र्याएको हो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहत सञ्चालन हुने नयाँ अत्याधुनिक २ वटा बस आज शुक्रबार पोखराबाट र भोलि काठमाडौंबाट सञ्चालनमा आउने छ ।

नेपालमै पहिलोपटक भित्रिएको यो बस प्रति बस २ करोड रुपैयाँमा खरिद गरिएको ट्राभल्सका सञ्चालक तथा युवा उद्यमी केशवप्रसाद अधिकारीले जानकारी दिए । बसको प्रमुख विशेषता भनेको यसको सिट नै हो । लक्जरियस सिट भएकाले चाहेअनुसार बस्न र सुत्नसमेत मिल्ने अधिकारीले बताए ।

अमेरिकाको वासिङ्टन डिसी र सिंगापुरबाट मगाइएको यो बसको सिट निर्माण भने दिल्लीमा गरिएको उनले जानकारी दिए । सिटमा डाइनिङ टेबल हुने भएकाले सिटमै बसेर खानासमेत खान मिल्छ ।

बसमा ट्वाइलेट, बाथरुमसहित मोवाइल चार्जसमेत गर्न मिल्छ । हरेक सिटमा छुट्टाछुट्टै टिभी हुनु बसको अर्को विशेषता हो । हालसम्म सञ्चालनमा रहेका बसहरुमा एउटै मात्र टिभी हुने भएकाले यात्रुको इच्छाअनुसार भन्दा पनि सबैको साझा धारणामा टिभी हेर्नुपर्ने बाध्यता थियो । तर यो बसको हरेक सिटमा टिभी हुने भएकाले यात्रुले आफूले चाहेको टिभी च्यानल हेर्न सक्छन् ।

बसमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जोडिएको हुनाले यात्रुका आफन्तले बस कहाँ पुग्यो भनेर सजिलै थाहा पाउन सक्ने सञ्चालक अधिकारीले बताए । त्यस्तै, बसमा फ्री वाइफाइको सुविधा पनि दिइने उनले बताए ।

२१ सिटे यो बसमा यात्रा गर्न नेपालीलाई प्रति व्यक्ति २ हजार २ सय र विदेशीलाई २ हजार ७ सय भाडादर कायम गरिएको अधिकारीले बताए । तोकिएको भाडादर तिरेपछि यात्रुले खाना, खाजा, चिया, कफीलगायतका सबै सुविधा उपभोग गर्न पाउँछ ।

सञ्चालक अधिकारीका अनुसार नेपालीले तिर्ने २ हजार २ सयमा बसको भाडा ६५०, बफेट खानाको ५५०, खाजाको १५०, क्र्यु सर्भिस चार्ज १००, २ वटा मिनरल वाटरको ५०, काउज सिट चार्ज २००, मनोरञ्जन खर्चबापत २५०, चिया, कफि र चकलेट बापतको २०० र रेष्टरुम चार्ज ५० गरेर कुल ६५० तिर्नुपर्नेछ ।


जसमा यात्रुले थ्रीस्टार होटलमा खाना, ३ पटक चिया, कफि र चकलेट, मनोरञ्जन अन्तर्गत टिभी, पत्रिका तथा इन्तरनेटको सुविधा प्राप्त गर्नेछन् ।

पहिलोपटक बस भित्र्याइएकाले चालकपनि दिल्लीबाट मगाएर चलाउन लागिएको र केहि दिन नेपाली चालकलाई सिकाएर फिर्ता पठाइने बताइएको छ ।

बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयबाट विहान ८ बजे छुटेर, हल्लनचोक, वराहीचोक, पर्यटन बसपार्क हुँदै काठमाडौं प्रस्थान गर्नेछ काठमाडौंको कलंकीबाट विहान ८ बजे नै बस छुट्ने जनाइएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले सडकको स्तरोन्नती भएमा र राज्यले सहयोग गरेको खण्डमा यस्ता बसहरु अझ धेरै थपेर यात्रुलाई सुविधा दिन सकिने बताए । पोखरा काठमाडौंमा यस्ता बस सञ्चालन गर्न सहज भएपनि अन्य ठाउँमा तत्काल चलाउन गाह्रो हुने समितिका महासचिव योगेन्द्रबहादुर केसीले बताए ।

यात्रुको चाप पनि कम हुने र महङ्गो भाडादर तिर्नपनि यात्रुलाई कठिन हुने भएकाले तत्काल अन्य रुटमा यी बसहरु सञ्चालन गर्न गाह्रो हुने उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment