Comments Add Comment

टीका पहारीः दी रिटर्न अफ भिलेन

एकाएक पर्दाबाट उनी गायब भए ।

उनी कहाँ गए ? आश्चर्य छायो ।

यो ‘सस्पेन्स’ धेरै समय रहेन । नवलपरासीको एउटा गाउँमा खेती किसानी गरिरहेको अवस्थामा उनलाई मानिसहरुले देखे ।

दश वर्षसम्म उनी हाँस, बाख्रा र माछा पालेर बसे । गुमनाम जिन्दगी बिताए ।

‘पिक्चर अझै बाँकी छ’, दश वर्षपछि उनले फेरि पुरानै स्टाइलमा अट्टहास गरे ।

मिडियामा शीर्षक बन्यो ‘भिलेन टीका पहारी कम ब्याक ।’

अनि फेरि चलचित्रको पर्दामा एउटा चिरपरिचित अनुहार र आवाज छाउन थाल्यो ।

उही सेताम्मे केस र जुँगा । खिरिलो तर अग्लो कद । कुर्ता-पाइजामामा ठिंग उभिदाको ओजिलो व्यक्तित्व । यस्तो लाग्छ उनी आफ्नो ओजपूर्ण आवाजमा कुनै संवाद बोल्न खोज्दैछन् ।

जसै टीका पहारीको प्रसंग आउँछ, नेपाली चलचित्रका कुटिल खलनायकको रेखाचित्र आँखै अगाडि नाच्न थाल्छ । नेपाली सिनेमाले जतिबेला बामे सर्न सुरु गर्‍यो, ठीक त्यही बेला टीका पहारीको पदार्पण भयो । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘दुई थोपा आँशु’ जस्ता थुप्रै सिनेमामा उनको अभिनयले दर्शकमा गहिरो छाप छाड्यो ।

अहिले उनको छोरा पुस्ताले नेपाली चलचित्र कब्जा गर्दैछ, यद्यपी उनको उपस्थिति कमजोर छैन । करिब एक दशकको विश्रामपछि उनको अभिनय तंगि्रएको छ । र, उसैगरी उनको बुलन्द संवाद गुञ्जिरहेकै छ ।

जसै टीका पहारीको प्रसंग आउँछ, नेपाली चलचित्रका कुटिल खलनायकको रेखाचित्र आँखै अगाडि नाच्न थाल्छ । नेपाली सिनेमाले जतिबेला बामे सर्न सुरु गर्‍यो, ठीक त्यही बेला टीका पहारीको पदार्पण भयो ।

अनामनगरस्थित मण्डला थिएटरमा भेट्दा उनी सेतो कुर्ता पाइजामामा देखिए । काँधमा गाम्छा थियो ।  मधेसी मूलका हुनेखानेजस्तै । वास्तवमा त्यो उनको नाटकीय चरित्र रहेछ ।

‘लाटीको छोरो’ नामक नाटकमार्फत ३६ वर्षपछि रंगमञ्चमा फर्किएका पहारी हामीसँगको भेटमा पुनेका प्रसंग सुनाइरहेका थिए, जतिबेला उनी करियरको पूवार्द्धमा थिए । कालान्तरमा उनी कसरी गाउँमा माछा पाल्न पुगे ? अनि कसरी उनको कम ब्याक भयो ?

उनले हामीसँग जीवनका घतलाग्दा र नाटकीय उतार-चढावको बेलिबिस्तार लगाए ।

मुम्बइ छाडेर माछापालन

उनी मुम्बइ बस्थे । रंगमञ्च र फिल्ममा रमाइरहेका थिए । एकपटक कुनै हिन्दी फिल्मको छायांकनका सिलसिलामा नेपाल आए ।

छायांकन भइरहेको फिल्ममा नेपालको कथा समेटिएको थियो र उनी प्रहरी अफिसरको भूमिकामा थिए । काठमाडौं विमानस्थलमा ओर्लिंदा पनि उनी प्रहरीकै गेटअपमा थिए ।

विमानस्थलमा अचानक उनका दाइ भेटिए । दाइ भने गाउँबाट आएका आमाबुवालाई ‘रिसिभ’ गर्न विमानस्थल आएका रहेछन् ।

‘दाइ एयरपोर्टभित्र प्रवेश गर्न पाउनुभएन । म प्रहरीको पोशाकमा थिएँ, सरासर रन-वेमा गएर बुवाआमालाई लिएर आएँ । कसैले छेकबार गरेनन्’, उनले भने ।

आमाबुवा काठमाडौं बस्न नमान्ने । गाउँमा अरु दाजुभाइ नभएकाले मुम्बइको रंगीन दुनियाँ छाडेर उनी आफ्नै गाउँ फर्की आए ।

‘बुवाआमा यहिँ (काठमाडौं) बस्न मानेको भए म मुम्बइ फर्कन्थें, तर उहाँहरु गाउँ नै जानुपर्ने । अरु भाइ काठमाडौंमा बस्ने । अनि बुवाआमा लिएर म गाउँ गएँ’, अभिनेता टीका पहारीले भने ।

रंगीन संसारबाट एकाएक गुमनाम भएका टीका पहारी नवलपरासीको आफ्नो गाउँमा गएर खेतीपातीमा लागे ।

पोखरी बनाएर माछा पाले । अर्कोतिर हाँस, कुखुरा, बाख्रा पनि पाल्न थाले । उत्पादित चिज उनी स्थानीय बजारमा बिक्री पनि गर्थे । बसिबियाँलो पनि, व्यवसाय पनि ।

‘गाउँमा बसेपछि पनि यस्ता कुरा बजारमा किन्न जान त भएन नी’, उनले भने, ‘आफन्त र कलाकार साथीभाइ आउँदा आफैले पालेको कुखुरा र माछा ख्वायो, कति मजा ।’

टीका पहारीको गाउँमा कोहि सुटिङ गर्न पुग्थे, कोहि भेटघाटका लागि । करिश्मा मानन्धर ‘बाबुसाहेव’को टिमसहित त्यहीँ पुगेकी थिइन् ।

गाउँमा अञ्चलभरकै ठूलो गोबरग्याँस प्लान्ट उनैले लगाए । घरै झलमल्ल । आसपासका छिमेकका घरमा पनि टुकी बत्ती बाल्नुपर्ने वाध्यता रहेन ।

बिहान पाँच बजे उठ्यो । माछा पोखरीतिर टहल्न निस्कियो । नौ बजेतिर खाना खायो । गाउँ-समाजको काममा लाग्यो । कहिले विकासे छलफल, कहिले जन्त त कहिले मलामी । साथमा समाजसेवामा पनि ।

पहारीका अनुसार त्यसबेला कलाकारको फेम मात्र हुन्थ्यो, कमाई खासै हुँदैनथ्यो । काठमाडौंमा बसेपछि खर्च धान्न सकिँदैनथ्यो ।

‘माछापालन सेफ साइड भयो’, उनले भने ।

माछापालनमा लागेपछि उनी ग्रामिण परिवेशमै रमाउन थाले । यसबीचमा फिल्मका अफरहरु नआएका हैनन् । उनले पन्छाइदिए ।

रुच्दैन राजधानी

२०२४ सालदेखि नै हो, काठमाडौंसँग उनको संगत । तर, उनले काठमाडौंलाई कहिल्यै आफ्नो बनाउन सकेनन् ।

‘यहाँका अधिकांश मान्छेको सोचाइ र व्यवहार मलाई पटक्कै रुच्दैन’ उनले भने, ‘त्यही भएर मलाई काठमाडौं आफ्नो जस्तो लाग्दैन ।’

विगतमा उनी काठमाडौंमा सुटिङका लागि आउँथे, सुटिङ सिध्याउनासाथ झिटीझ्याम्टा बोकेर गाउँ र्फकन्थे ।

काठमाडौंमा टिक्नै उनलाई मुश्कील । धुलो, धूँवाले समाइहाल्छ । घाँटी खसखसाउँछ, खोकी लागिहाल्छ ।

‘गाउँ गएपछि सबै साफ, आफै ठीकठाक हुन्छ,’ उनले भने,’ ‘मलाई गाउँको धूलो पच्छ । त्यो अग्र्यानिक धूलो हो नि त ।’

मज्जाले हाँसे ।

गाउँमा भने उनको रवाफ थियो । सबैले मान्थे, श्रद्धा गर्थे । छिमेकको झै-झगडा, सानोतिनो मुद्दा प्रहरीकहाँ पुग्दैनथ्यो । जिल्लासम्म फैलँदैनथ्यो । त्यसको समाधान उनी आफै खोजिदिन्थे ।

‘गाउँमा बस्नुको आफ्नै मजा,’ पहारीले भने, ‘पक्का गाउँले भएर बसियो । फिल्मको काम आउँथ्यो, गरिएन ।’

गौरव, सौरभ, सुलभ सानै थिए । चाडपर्वमा गाउँ जान मरिहत्ते गर्थे ।

‘बच्चाहरु मात्र होइन, अरु इष्टमित्र पनि गाउँ नै जानुपर्छ, रमाइलो गर्नुपर्छ भन्थे,’ यसो भनिरहँदा उनी रौसिए, ‘त्यसबेला गाउँमा छुट्टै इन्जोए हुन्थ्यो ।’

कम ब्याक

अहिले भने छोराहरु हुर्किए । आ-आफ्नै कामधन्दामा व्यस्त भए । गाउँ जाने फुर्सद भएन । उनलाई पनि एक्लै धुमधुम्ती बस्न मन लागेन । शहर छिरे ।

‘अहिले पनि म कहिले यता, कहिले उता बस्छु,’ पहारीले भने ‘पूर्णकालिन शहरिया भइसकेको छैन ।’

गाउँमा हुँदा धेरै चलचित्रलाई पन्छाएका पहारी पछिल्लो समय भने सुखले बस्न पाएनन् । फिल्म खेल्नैपर्ने भयो । खेले पनि । कहिले छोरोको करले, कहिले आफ्नै रहरले ।

नवलपरासी गाउँबाटै धाएर ‘छक्का पञ्जा’का लागि पाल्पा पुगे, ‘दुई रुपैयाँ’का लागि झापा पुगे । केहि अगाडि मात्र ‘नाटक खेल्नुपर्‍यो’ भन्दै निम्तो आयो । ‘नाटक भन्नासाथ’ उनका सुषुप्त कला तंगि्रए । करियरको पूवार्द्धमा बिताएका रंगमञ्चका क्षणहरु ताजा भएर आए । पुनाबाट मुम्बई पुगेपछि फिल्म नपाएको क्षणमा उनलाई रंगमञ्चले भरथेग गरेको थियो । त्यसबेला नसरुद्दिन शाह, ओम पुरी, जावेद अख्तरहरुले काँध थापेका थिए ।

यसपाली ‘नाटक गर्नुपर्छ’ भन्ने अफर आउनसाथ फुर्ति बढ्यो, गाउँ छाडेर काठमाडौं आए उनी । र, मण्डला थिएटरमा रिहर्सलमा जुटे । ‘लाटीको छोरो’का लागि मञ्चमा उत्रिए । खबर छायो, ‘३६ वर्षपछि टीका पहारी रंगमञ्च फर्किए ।’

बरालिएको गाउँ

शहरबाट विरक्तिएर गाउँ पसेका टीका फेरि शहर पस्नुको एउटा कारण त रंगमञ्चको आकर्षण भयो, अर्को कारण चाहीँ गाउँको बदलिएको परिवेश पनि हो ।

‘अब गाउँ, गाउँजस्तो रहेन,’ उनले भने, ‘पहिलेजस्तो छँदैछैन । राजनीतिले गाउँलाई बिटुल्याएको छ ।’

गाउँमा पहिलेजस्तो सामाजिक सदभाव नभएकोमा पनि उनी खिन्न छन् । उनको अनुभवमा यो जाति-त्यो जाति, यो पार्टी-त्यो पार्टी, पहाडे-मधेसी आदि दुषित भावनाले समाजलाई छियाछिया बनाइरहेको छ । न मर्दाको मलामी, न पर्दाको जन्त ।

‘पहिले कस्तो मिलेर बस्थे,’ उनी अलि आवेगमा आए, ‘अहिले टुक्रा-टुक्रा गराइयो क्या ।’

माओवादी द्वन्द्वताका टीका गाउँमै थिए । द्वन्द्वको चपेटामा धेरैले गाउँ छाडे । उनी गाउँमै अडिए ।

‘सबै भागे, तपाई किन बस्नुभएको ? माओवादीसँग सम्पर्क छ ?’, स्थानीय प्रशासन र सेनाले बोलाएर उनीसँग स्पष्टीकरण मागेछन् ।

‘यो कुरा मलाई सोध्ने होइन, तपाईंहरुले खोज्ने हो । खोज्नुहोस्’, पहारीले गह्रौं आवाजले भनेछन् ।

हुन त माओवादीहरु उनका घरमा आउँथे । भेट्थे । तर, चन्दा मागेर दुःख नदिएको उनले बताए । मधेस आन्दोलनमा पनि त्यस्तै भयो । कसैले उनीमाथि चोर औंला ठड्याएनन् ।

‘हो, मलाई त कसैले छोएनन्,’ उनले थपे, ‘तर, मैले के महसुस गरें भने पहिलेजस्तो हावा छैन अहिले । मलाई नोक्सान नपुर्‍याए पनि, साथ दिने पनि छैनन् । पहिले जस्तो हार्दिकतापूर्वक साथ दिँदैनन् ।’

अर्कोतर्फ गाउँमा अहिले उनका समकालिन छैनन्, दौंतरी छैनन् । सबै सकिए ।

‘पहिला १५ किलोमिटर आसपासमा मेरा आफन्त, साथीभाइ थिए,’ पहारीले भने, ‘अहिले कोहि छैनन्, एकजना पनि छैनन् । कतै साथीभाइकहाँ गएर केहि क्षण भलाकुसारी गरौं भन्दा त्यो छैन ।’

नो अल्कोहल

टीका ‘हेल्थ कन्सीयस’ छन् ।  सादा खाना खान्छन् । व्यायाम गर्छन् । पहिले मर्निङ वाकमा जान्थे । अचेल घरमै प्राणायाम गर्छन् । पुनामा कलाकारिता पढ्दा नै उनले प्राणायाम विधी सिकिसकेका रहेछन् । त्यसबेला उनले अभिनय र आवाजका लागि प्राणायाम उत्तम भएको सुनेका थिए । अहिले स्वास्थ्यका लागि अपरिहार्य भन्ने बुझेका छन् ।

‘यसैले मेरो डरलाग्दो रोग पत्तासाफ गरिदियो,’ उनले भने, ‘यो कुरा सुनाउँदा कसैले पत्याएनन् ।’

ति दिनहरुमा टीका मस्तसँग मदिरापान गर्थे । मदिराले कलेजो खाएछ । लिभर सिरोसिसका सिकार भए । अनि चट्टै मदिरा छाडेर प्राणायामलाई अपनाए । स्वस्थ खानपान र दिनचर्याका कारण रोग आफै ठीक भयो ।

सानैदेखि उनले चिल्लो पीरो खाएनन् । दाल, भात, तरकारी भए पुग्यो । दाल चाहिँ नभइ नहुने । अहिले पनि त्यहि क्रम जारी छ । उनलाई खाना बनाउन पनि जाँगर चल्छ ।

‘मैले बनाएको ननभेज खाएर त छोराहरुसमेत अघाउँदैनन्, त्यती मीठो हुन्छ,’ उनी मज्जाले हाँसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment