Comments Add Comment

घेराबन्दीमा पर्‍यो एमाले, एक्लिए केपी ओली !

प्रचण्ड र कमल थापादेखि चित्रबहादुरसम्म चिढिए

समाचार टिप्पणी

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहँदा उनलाई माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापाको बलियो साथ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री बनेर ओलीलाई साथ दिएका थिए । नेमकिपाले सरकारबाहिरै बसेर भए पनि एमालेलाई साथ दिएको थियो ।

ओलीको बलियो मोर्चामा साना पार्टीहरु पनि थिए । माओवादी र राप्रपासमेत ओलीको पक्षमा उभिएपछि तत्कालीन विपक्षी दल नेपाली कांग्रेस निकै कमजोर देखिएको थियो ।

तर, यतिबेला परिस्थिति बदलिएको छ । एकताका केपी ओली र नेकपा एमालेको मोर्चामा रहेका धेरै दलहरुको साथ एमालेले गुमाएको छ । एमाले अध्यक्ष ओली एक्लिँदै र घेराबन्दीमा पर्दै गइरहेका छन् ।

प्रचण्डले साथ छाडे, कमल थापा चिढिए

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई केपी ओलीले हेप्ने गरेको र दोस्रो दर्जाको व्यवहार गर्ने गरेको गुनासो पोख्ने गरेका छन् । केपी ओलीको व्यवहार र कार्यशैलीमाथि कमल थापा र प्रचण्डको लगभग एकै प्रकारको गुनासो छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । के अब उसले माओवादी-एमाले गठबन्धन टुटेको सयमदेखि अहिलेसम्मको आफ्नो भूमिकाको सिंहावलोकन गर्ला ?

तर, एमाले अध्यक्ष ओलीले चाहिँ प्रचण्डले साथ छाड्नुमा आफ्नो व्यवहारका कारणले नभई ‘बाह्य शक्ति’ लाई दोष लगाउने गरेका छन् ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुरुमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीको साथ छाडे । कांग्रेसको साथ लिएर प्रचण्ड प्रधानमन्त्री बन्दासम्म कमल थापा केपी ओलीकै क्याम्पमा इमान्दारितापूर्वक उभिएका थिए ।

तर, ओलीले कमल थापाको पार्टीभित्रै चलखेल गरेर राप्रपा फुटाउन भूमिका खेलेको गुनासो गर्दै कमल थापाले यतिबेला ओलीसँग चित्त दुखाएका छन् ।

हुन त कमल थापाले प्रचण्डको सरकारमा सहभागी हुनु गल्ती भएको निश्कर्ष निकालेका छन् । तर, यसको अर्थ उनी एमालेको कित्तामा छन् भन्ने होइन । थापाले केपी ओलीलाई राप्रपाभित्र चलखेल गरेको र आफ्ना सांसद खरिद गर्न खोजेको भन्दै गुनासो गरेका छन् ।

विशेष गरी संविधान संशोधन प्रस्ताव असफल गराउनका लागि राप्रपाका १२ सांसदलाई गोकर्ण रिसोर्टमा लुकाउने सवालमा ओलीले चलखेल गरेको कमल थापाले गुनासो गर्ने गरेको स्रोत बताउँछ ।

संविधान संशोधनमा एमाले र राप्रपावीच केही मतान्तर रहेको अवस्थामा त्यसरी ओलीले अर्को पार्टीभित्र चलखेल गर्नु अनैतिक कार्य हो भन्ने कमल थापाको बुझाइ छ ।

अन्ततः त्यही १२ भाइ सांसदको प्रकरण अघि बढ्दै गएर राप्रपा फुटिसकेको छ र यसमा कहीँ न कहीँ केपी ओलीको हात छ भन्ने कमल थापाले गुनासो गर्दै आएका छन् । यसमा आफूसँग तस्वीरसहितको प्रमाण रहेको थापाले आफ्ना निकटस्थहरुसँग बताउने गरेका छन् ।

एमालेले काठमाडौंको मेयर जित्नका लागि उपमेयरमा राप्रपालाई सघाउने गरी तालमेल गरेको थियो । तर, एमालेले राप्रपालाई घात गर्‍यो र उपमेयरमा गाईमा भोट हालेन । यसबाट पनि राप्रपाभित्र एमालेप्रति असन्तुष्टि देखा पर्‍यो ।

चित्रबहादुरलाई पनि ‘धोका’ ?

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि लामो समयदेखि एमालेलाई साथ दिँदै आएका थिए । झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् या माधव नेपालले सरकार चलाउँदा होस्, जनमोर्चाले एमालेलाई अनवरत साथ दिएको थियो । ओली सरकारमा चित्रबहादुर केसीले बलियो साथ दिए ।

तर, स्थानीय निर्वाचनमा एमाले नेता कार्यकर्ताहरुमा ठूलो पार्टी हुनुको दम्भ यतिधेरै देखियो कि मोहनविक्रम सिंहले लामो लेख नै लेखेर एमाले धोकेबाज भएको आरोप लगाए ।

विशेष गरी बाग्लुङ र प्युठानको स्थानीय चुनावमा एमालेले आफूहरुलाई धोका दिएको जनमोर्चाका नेताहरुको गुनासो छ ।

जनमोर्चाका नेता चित्रबहादुर केसी पनि कमल थापाजस्तै प्रचण्ड र देउवाको क्याम्पमा त गइसकेका छैनन्, तर उनीहरु एमालेको व्यवहारबाट दिक्क छन् ।

नेमकिपासँग भनाभन

भक्तपुरमा सामान्य प्रभाव रहेको नेपाल माजदुर किसान पार्टी र एमालेको सम्बन्ध विगतमा त्यति राम्रो थिएन । तर, पछिल्लो समयमा एमाले सरकारलाई नेमकिपाले बाहिरैबाट भए पनि साथ दिएको थियो ।

तर, अहिले नेमकिपाका नेताहरु एमालेसँग चिढिएका छन् । केही दिन पहिले प्रसारण भएको एउटा टीभी प्रोग्राममा नेमकिपाका प्रेम सुवालले एमाले सांसद यज्ञ सुनुवारलाई एमाले महाकाली बेच्ने राष्ट्रघाती हो भन्दै झम्टिएको दृश्यले एमाले-नेमकिपाको पछिल्लो सम्बन्धलाई स्पष्ट पार्छ ।

मधेसवादीलाई फकाउने प्रयास असफल

एमाले अध्यक्ष केपी ओलीले सुरुमा मधेस केन्दि्रत दलका नेताहरुलाई भन्नुसम्म भनेर चिढ्याए । पछिल्लो समयमा उनले राजपा र संघीय फोरमका नेताहरुलाई फकाउने प्रयास गरे ।

दोस्रो तहका नेताहरुलाई मधेसी दलका नेतासँग सम्वाद गराएर ओलीले फकाउने रणनीति भित्रभित्रै अघि बढाए । तर, त्यतिबेलासम्म निकै ढीलो भइसकेको थियो ।

विजय गच्छदार सुरुमा एमालेकै नजिक थिए, पछि उनी देउवाको क्याम्पतिर गए । स्थानीय चुनावमा बिराटनगरमा ओलीले उपमेयरमा गच्छदारसँग तालमेल गरेका थिए । तर, एमाले तालमेलप्रति इमान्दार रहेन भन्ने कुरा उपमेयर सुची चौधरीले पाएको मतबाटै प्रष्ट भयो ।

गच्छदार नै एमालेतिर कायम नरहेपछि राजपा र फोरम त झनै रहने कुरै भएन । आफैं सत्ताबाट बहिर्गमित बनेको एमालेले सत्ताको मोह भएका गच्छदारलाई आफूसँगै राखिरहन सम्भव पनि भएन ।

अन्ततः ठूलो ईस्यु केही नहुँदा नहुँदै पनि एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्‍यो र मधेससँग आफ्नो दुरी अनावश्यक रुपमा बढायो ।

साना पार्टीः बाँस काटेर बाँसुरी !

केपी ओली नेतृत्वको सरकारलाई एकनाथ ढकालदेखि लिएर खस नेतासम्मको साथ थियो । माधव नेपालको सरकार पालामा पनि एमालेलाई धेरैवटा साना पार्टीहरुले इमान्दारितापूर्वक साथ दिएका थिए ।

तर, थ्रेस होल्डको पक्षमा एमाले बलियो गरी उभियो र यसले गर्दा साना पार्टीहरु चिढिए । चिढिएमात्रै होइन, आगामी चुनावमा यही थ्रेसहोल्डकै कारण साना पार्टीहरुको अस्थित्व लोप हुने स्थिति पैदा भयो ।

एमाले नेताहरुको बुझाइ के थियो भने अब एमालेको बहुमतलाई कसैले रोक्न सक्दैन र एमालेको एकलौटी सरकार बनाउनका लागि यी साना पार्टीहरुमाथि पटाहा लगाउन जरुरी छ ।

ठूलो पार्टी हुनुको यही मनोविज्ञान र दम्भका कारण एमालेले साना पार्टीहरुका लागि ‘न रहे बाँस, न बज्यो बाँसुरी’ को नीति अंगीकार गर्‍यो ।

तर, एमालेको यो ‘मत्स्य विधिशास्त्र’ का कारण अबको चुनावमा साना दलको राष्ट्रिय अस्तित्व संकटमा पर्ने भएको छ ।

राजनीतिमा बढ्दो विकृतिलाई हल गर्न थ्रेसहोल्डको व्यवस्था गरिनुलाई जायज नै मान्न सकिन्छ । तर, यो निर्णयमा एमालेको अडानको प्रतिफलचाहिँ साना दलहरुको साथ गमाउनेतर्फ मोडियो ।

एमालेले आफूलाई सिंहावलोकन गर्ला ?

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । के अब उसले माओवादी-एमाले गठबन्धन टुटेको सयमदेखि अहिलेसम्मको आफ्नो भूमिकाको सिंहावलोकन गर्ला ?

या अझै पनि आफूलाई मात्रै राष्ट्रवादी ठान्ने र अरु सबै दललाई भित्तामा पुर्‍याउने दुस्साहसवादी नीति नै कायम राख्छ ? के उसलाई अझै पनि अन्य दलहरुसँग सहकार्य गर्नुपर्ने आवश्यकताको वोध भएको छैन ? पक्कै पनि यसबारे एमाले बैठकमा बहस हुने नै छ ।

एमालेले माओवादी, मधेसवादी लगायतका धेरै दलहरुलाई फुच्चेहरु भन्दै पर्खाल बाहिर ठेल्न खोज्यो । तर, तेस्रो चरणको चुनावसम्म आइपुग्दा अरुका लागि लगाइएको पर्खालले अन्ततः एमालेलाई नै घेराभित्र पारेको छ ।

विद्वानहरुले भन्ने गरेका छन्- तिमीले अरुलाई बाहिर पार्ने उद्देश्यले ठड्याएको पर्खालकै कारण तिमी आफैं एक्लिन र घेरामा पर्न सक्छौ ।

यो पनि पढ्नुहोस्

फेरिँदैछ एमाले रणनीति ! माओवादीसँग तालमेलको बहस

मतगणनामा सत्तापक्षले अवाञ्छित गतिविधि गरेको एमालेको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment