Comments Add Comment

नक्कली अन्तःशुल्क पैठारीको जालो, तस्करीमा संलग्न थप एक पक्राउ

६ असोज, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २० गते वीरगञ्जमा बरामद भएको मदिरामा प्रयोग हुने नक्कली स्टिकर पैठारीमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले बुधवार घटनामा संलग्न धादिङ धुनीबेशी ३ का राजकुमार भण्डारीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिकाको वडा नं ६ बौद्धबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पठाइएको ब्यूरोले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको भन्दै आइतबार हिमालयन कार्गोका सञ्चालक विनोद कुमार गुप्तालाई पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्वर १४ कुलेश्वरबाट पक्राउ परेका उनलाई सोमबार आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पठाएको थियो । गुप्ताकै बयानका आधारमा भण्डारीलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।

गत भदौ २० गते वीरगञ्ज भन्सार कार्यालयले जाँचपासका क्रममा ८६ हजार ४ सय ७० थान मदिरामा प्रयोग हुने नक्कली अन्तः शुल्क स्टीकर बरामद भएको थियो ।

हरिओम ट्रेडिङ प्रालिका नाममा भारतबाट आयात गरिएको उक्त नक्कली अन्तःशुल्क स्टिकर पैठारीमा संलग्न हरिओम ट्रेडिङ प्रालिका संचालक कुल प्रसाद राजभण्डारी र निजका सहयोगी प्रकाश घिमिरेलाई आन्तरिक राजस्व विभाग अन्तः शुल्क महाशाखा लाजिम्पाटको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यूरोले सोही दिन आवश्यक कारवाहीका लागि वीरगञ्ज कार्यालय पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment