Comments Add Comment

मधेसमा कांग्रेसको कमजोर नतिजाः विमलेन्द्र निधि कति दोषी ?

सय सिट जित्ने दाबी आधाभन्दा कममै समेटिने संकेत

६ असोज, काठमाडौं । प्रदेश २ को टिकट वितरणको डाडु पन्यू हातमा लिँदै गर्दा कांग्रेस नेता विमलेन्द्र निधिसँग अवसर थियो, कमजोर बन्दै गरेको पार्टीको मनोबल उकास्ने र आफूलाई सफल रणनीतिकारका रुपमा स्थापित गर्ने ।

उनको दाबी थियो, सय सिट जिताएर मधेसमा मात्र होइन, समग्रमै कांग्रेसलाई पहिलो दल बनाउँछु ।

प्रदेश २ को चुनावी कमान्ड निधिलाई सुम्पिँदै गर्दा कांग्रेस नेताहरुलाई पनि लागेको थियो, एमालेसँग हाराहारी मात्र भयो भने पनि देशभर सकारात्मक सन्देश जान्छ र आसन्न प्रतिनिधिसभा चुनावका लागि उर्जा प्राप्त हुन्छ ।

तर, एक सय ३६ स्थानीय तहमध्ये झण्डै आधाको परिणाम आइसक्दा कांग्रेस प्रदेश २ मा पहिलो त हुनेछ तर निकै मुस्किलले । निधिले भनेजस्तो समग्रमा पहिलो पार्टी त भएन नै, एमालेको हाराहारी पनि नपुग्ने निश्चित देखिएको छ ।

अर्थात्, कांग्रेसका भावी उपसभापतिका रुपमा हेरिएका निधिले प्रदेश २ मा ठूलो जित निकालेर आफूलाई ‘बलियो नेता’का रुपमा स्थापित गर्ने मौका गुमाएका छन् ।

किन असफल भए ?

टिकट विवरणको डाडु पन्यू पाएपछि निधिले ‘ठूला विरोधी’को मुख बुझो लगाउने र आफ्नो इच्छाअनुसार अगाडि बढ्ने नीति लिए । त्यही विन्दुबाट उनको बाटोले गलत मोड लियो । ठूला नेताहरुले जसलाई भन्छन्, निधिले उसैलाई टिकट दिए ।

उदाहरणका लागि केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव वरिष्ठ नेता रामचन्द्र पौडेल गुटकी हुन् । छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको मेयरको टिकट दिएपछि उनी मौन बसिन् । कृष्णप्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई फकाउन निधिले उनको नगर र क्षेत्रमा चौधरीले भनेको व्यक्तिलाई टिकट दिए । रौतहटमा पार्टी सभापति आफ्नै थिए, आफ्ताब आलमलाई विश्वासमा लिए ।

धनुषा उनकै गृहजिल्ला । अर्को समूहका आनन्दप्रसाद ढुंगानालाई विश्वासमा लिए भने पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन समूहलाई पेले । यसले टिकट वितरणमा स्थानीय तहको चुनाव नभई पार्टी महाधिवेशनमा जस्तो चरम गुटबन्दी देखिन पुगेको कांग्रेसका एक नेता बताउँछन् ।

परिणाम राम्रा र चुनाव जित्न सक्ने होइनन्, निधिले रुचाएका मानिस हाबी भए । र, सय सिट जित्ने दाबी गरेको कांग्रेसले ५० भित्रै समेटिने अवस्था आयो ।

एक कांग्रेस नेता भन्छन्, ‘चुनाव जित्ने नसा भएको भए उनले आफ्नो विरोधी होस् कि समर्थक, चुनाव जित्ने उम्मेदवार छान्न सक्थे । तर, उनको दम्भका कारण ५० सिट पनि नजित्ने अवस्था आयो ।’

अर्को, उनले माओवादी केन्द्रको अवमूल्यन गरे । प्रदेश २ मा आफ्नो संगठन कमजोर भएको आकलन गरेको माओवादी कांग्रेससँग तालेमल गर्न हतारिएको थियो ।

तर, मधेसमा माओवादी नै छैन भन्ने शैलीमा निधिले तालमेलको प्रस्तावलाई लत्याए । एक नेता भन्छन्, ‘माओवादी नै छैन भन्ने मानेपछि कस्तो रणनीति बन्यो होला ।’

चुनावी परीणामको अर्थ

यो स्थानीय चुनाव भएकाले यसैका आधारमा धेरै विश्लेषण गर्नु हतारो हुनसक्छ । कम्तिमा चुनावी कमान्ड सम्हालेका निधिमाथि भने प्रश्नचिन्ह खडा भएको छ ।

कांग्रेसमा यसले ठूलै हलचल ल्याएको छ । संसदको चुनावमा प्रदेश २ मा ३२ वटा निर्वाचन क्षेत्र छन् । र, त्यहाँको परिणाम कांग्रेसको पक्षमा नहुँदा आसन्न प्रतिनिधिसभाको चुनावमा पहिलो पार्टी बन्ने उसको सपनामा धक्का लागेको छ ।

साथै, अब माओवादी केन्द्रसँगको ‘बार्गेनिङ’मा पनि कांग्रेस केही कमजोर भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा हिजोकै अवस्थामा थोरै दिएर चित्त बुझाउन सक्थ्यो । तर, त्यो सम्भावना अब रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment