Comments Add Comment

कविता: अँजुलीभरिका फूलहरू

ए सप्तकोसीका किनारहरू

कतिन्जेल बस्छौ चुपचाप यसरी ?

भन न ऊ कहिले आउने होला ?

यो मनको राजमार्गै–राजमार्ग भएर !

यो बाटाभरि पैतालाले लेख्दै

त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै

हावाका भित्ताहरूमा झझल्कोले पोत्दै

परैबाट सोध्ला ठेगाना

क्षितिजपारिबाटै भए पनि देखाइदिनु

एक थुप्रो सपनाको बस्ती

एक झुप्रो वेदना

अस्ताउन बाँकी एक थुँगो घाम

अनि कोर्दै मेट्दै गरेको एक हरफ जोबन ।

उस्तैउस्तै लाग्छन् यी

घाम र जिन्दगी

फूल र बास्ना

जून र ज्योति

अनि ऊ र म ।

बिहान सबेरैदेखि पिठिउँमा टेक्दै जाने घाम

फूलमा मगमगाउँदो सुगन्ध

जूनमा टलपलाउने ज्योति

सबैसबै उसको हो

मोनालिसाझैँ मुस्कुराउने रात उसैसँग छ ।

त्यही हो उज्यालो

जसले मेरो घरसम्म बाटो पठाउँछ

बटुवाविनाको यो बाटो

जहाँ ढुङ्गाको छातीमा उभिएको सयपत्री

हाँस्न खोज्नुजस्तै हो

सम्झँदा पीडा हुन्छ अतीतलाई

विस्मृति कतै पर छ ।

मसँग मात्र कहाँ हो र ?

उससँग पनि छन् रङ मिल्ने सपना

पर्वमा रमाइरहेका केटाकेटीका जस्तै रहर छन्

त्यसैले त बनायौँ हामीले एक माला इन्द्रेणी

साक्षी छन् प्रेमका अवयवले चुलिएका

सगरमाथा र किलिमान्जारो ।

उही भूगोलका फरकफरक गोलार्धमा

निदाएछौँ अबेरसम्म एउटै सपना सिरानी हालेर

बिउँझदा मध्याह्न पोखिइसकेछ आँगनभरि

समय तिमीले त सायद यस जङ्गलमा

कसैलाई पर्खनु छैन, जाऊ

बाटैमा भेट्नेछौ

मेरो बैँसभरि सुहाएको पहाड निदाएको

सँगै नाबालक देश पनि सुतेको छ

तिनलाई उठाऊ

म अँजुलीभरि फूल लिएर आउनेछु स्वागतमा

किनकि

यो साल जसरी पनि

एउटा हरियो शान्ति भित्र्याउनु छ यस घरभित्र ।

(कवि पराजुली मोरङको बेलबारी नगरपालिकाकी उपमेयर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment