Comments Add Comment

कथा- वदिनीको सपना

थाहा छैन, किन हो हिजोआज अक्सर ऊ आफू स्कुल पढ्न गएको सपना देख्छे । गएराति पनि उसले त्यस्तै सपना देखी, तीन-चारजना उसकै छिमलका केटीहरूसँग स्कुलको पोसाक लगाएर, किताबको झोला भिरेर, आपसमा कहिल्यै नटुङ्गिने कुरा गर्दै, हाँस्दै हाँस्दै हिँडेकी । तर स्कुलको गेटसम्म नपुग्दै उसको त्यो मीठो सपना टुट्यो । त्यसपछि उसलाई असाध्यै नरमाइलो लाग्यो । केहीबेर उसका आँखा पनि रसाए ।

उसले बुझ्न सकेकी छैन किन हिजोआज ऊ यस्तो सपना देख्न थालेकी छे । एउटै सपना धेरैपटक देख्दा त्यो सपना साकार पो हुन्छ कि ? उसको मनमा झिनो आशा पनि पलाउँछ । सपनाकै कारणले ऊ हिजोआज बिहान १० बज्ने बेलातिर बाटोतिर उत्सुक भएर हेर्न थालेकी छे । उसकै उमेरका अरु स्थानीय केटीहरू एकैखाले लुगा लगाएर गफ गर्दै स्कुल गएको हेरिरहन्छे ।

उसले एकपटक आँट गरेरै आमासँग भनी- ‘आमा मलाई पनि स्कुल पढ्न पठाइदिनुस्न् ।’ आमाले केही पनि बोलिनन् । उसले फेरि जिद्धी गरी । आमाले झर्केर भनिन्- ‘अब त्यही बाँकी छ तँलाई ।’ तर पनि ऊसले जिद्धी छोडिन । आखिर आमाले भन्न करै लाग्यो- ‘ल ल अहिले नकरा, एउटा मास्टर आउँछु भन्या छ, आयो भने कुरा गरौँला ।’ ऊ निकै खुसी भई, सपना साँच्चै पूरा होला कि भन्ने आशाले ।

नभन्दै केही दिनपछि राति ९ बजेतिर एकजना चुरोट तान्दै आइपुग्यो । उसलाई देखेपछि उसकी आमाले अलि नरम भएर बोली- ‘मास्टरसाबको बाटो हेरेको कति दिन भइसक्यो, बल्ल आज बाटो बिराउनुभएछ ।’

‘हैन काठमाडौँतिर गा’थेँ, त्यसैले आउन पाइन, किन बाटो हेरेको त मेरो ?’

‘यो कान्छीले स्कुल पढ्न जान्छु भनेर मलाई हैरान पारिराछे । सपनामा पनि स्कुल गाकैमात्र देख्छे रे । यसलाई स्कुल पठाउन मिल्छ त ?’

ऊ ध्यानपूर्वक आमा र मास्टरका कुरा सुनिरहेकी छे । मास्टरले उसलाई माथिदेखि तलसम्म नियालेेर हेर्‍यो, सिकारीले सिकार हेरेझैँ ।

‘कति वर्षकी भयौ ?’- मास्टरले सोध्यो ।

उसको सट्टा आमाले नै जवाफ दिइन्- ‘ चौध लागिसकी नि ।’
मास्टरले मुसुमुसु हाँस्दै सोध्यो- ‘बोहनी भइसक्यो त ?’

अहिलेसम्म मास्टरका कुरामा चासो दिइरहेकी उसले मुन्टो बटारी । आमाले भनिन्- ‘छैन, मास्टरसाबले नै आँट्ने हो कि ?’

‘साँच्चै हो त ?’- मास्टरले आँटेको भाव देखायो ।

उसले लगभग चिच्याएरै भनी- ‘नाई म मान्दिन, म त्यस्तो काम गर्दिन ।’

आमाले सम्झाउने शैलीमा भनिन्- ‘अब पनि त्यसो भनेर हुन्छ ? अब बेला भइसक्यो तेरो, कति तेरी दिदी र मैलेमात्र खेप्नु ? मास्टरसाबलाई आज खुस गर्दे, अनि पो तँलाई स्कुलमा पढ्न मिलाइदिनुहुन्छ त, त्यसै हुन्छ ? माथि चोटामा जानोस् मास्टरसाब, म यसलाई पठाइदिन्छु । पहिलो पटक हो यसको, अलि विचार राख्दिनुहोला ।’

मास्टरले उसलाई गिजल्नुसम्म गिजल्यो । स्कुल पढ्न जान पाउने आशले उसले मास्टरलाई आफ्नो कलिलो शरीर पूरै सुम्पिदिई, पीडा खपेरै भए पनि ।

मास्टरको जोस सेलाएपछि र्फकने बेलामा उसले डराई डराई सोधी- ‘सर म कहिलेदेखि स्कुल जाने त ?’

मास्टरले पाइन्टको बेल्ट कस्दै भन्यो- ‘चौध वर्षकी तरुनीलाई एकैचोटि स्कुलमा भर्ना गर्न मिल्दैन, पढ्ने नै मन भए घरमै बसेर पढ्नु, म आउँला बेलाबेलामा ।’

उसलाई मास्टरको मुख चिथोर्न मन लाग्यो तर सकिन । अनि बोल्न मिल्ने तर लेख्न नमिल्ने एउटा अश्लील गालीको शब्द उसको मुखबाट अनायास निस्कियो सुस्तरी । मास्टर भर्‍याङ ओर्लेर तल पुगिसकेको थियो ।

(कथाकार एवं पत्रकार बस्नेतको ‘यौनका फूल यौनका काँडा’ कथाकृति प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment