Comments Add Comment

बुढानीलकण्ठबाट चल्ने बसमा शुरु भयो जीपीएस ट्रयाकिङ सिस्टम

यात्रुले घरमै बसेर गाडीको आवागमनबारे जानकारी लिन सक्ने


७ असोज, काठमाडौं । बुढानीलकण्ठको दर्शन गर्न जाने यात्रुले अब मोबाईलबाट कुन गाडी कतिबेला कुन ठाउँमा आइपुग्छ भन्ने थाहा पाउन सक्ने छन् । बुढानीलकण्ठ मिनीबस व्यवस्था समितिले यात्रुका लागि पनि जीपीएपस ट्र्याकिङ सिस्टम शुरुवात गरेपछि नारायणथान, बागद्वार र शिवपुरी भ्रमणमा जानेहरुका लागि पनि फाइदा हुनेछ ।

शुक्रबारदेखि समितिले थालेको जीपीएपस ट्र्याकिङ सिस्टम समितिको कार्यालयबाटै कन्ट्रोल हुने समितिका अध्यक्ष प्रमोद खड्काले बताए । समितिले शुक्रबारबाटै आफ्नो अत्याधुनिक कार्यालय भवनसमेत सन्चालनमा ल्याएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको रुद्रेश्वर चोकमा निर्मित भवनको उद्घाटन गर्दै भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपालमै पहिलोपटक यात्रुका लागि जीपीएपस ट्र्याकिङ शुरु गरेकोमा खुसी व्यक्त गरे ।

उनले सार्वजनिक यातायातलाई जनतामैत्री बनाउने र निजी गाडी बिस्थापित गर्नेतर्फ व्यवसायीले यस्ता रचनात्मक अभियान चलाउनुपर्ने बताए ।

समितिको नवनिर्मित भवनमै अत्याधुनिक सूचना प्रविधि जडान गरिएको र समितिका बसहरु कतिबेला कहाँ पुगेका छन् सबैको ट्र्याकिङ गरिने अध्यक्ष प्रमोद खड्काले बताए । उनले यात्रुलाई सहज सुबिधाका लागि समितिले कार्यालयबाटै निगरानी बढाउन यस्तो गरिएको बताए ।

खड्काले भने–हामीले शुरु गरेको जीपीएपस ट्र्याकिङ सिस्टमबाट यात्रुले पनि ५ मिनेटअघिनै सूचना पाउँछन् र बस चढ्ने ठाउँसम्म पुग्न सक्छन् । कुन गाडी कहाँ छ, कतिबेला आउँछ भन्ने सबै सूचना पाइनेछ ।

ठूला र विकसित शहरको जस्तै सार्वजनिक यातायातलाई भरपर्दो बनाउन अन्य अध्ययन पनि भइरहेको खड्काले बताए । सरकारको नीतिबमोजिम चाडै ठूला बस पनि थप्न लागिएको जानकारी समेत अध्यक्ष खड्काले दिए ।

२०३६ सालमा जयकुमार खड्काले स्थापना गरेको बुढानीलकण्ठ मिनिबस व्यवस्था सेवा समिति काठमाडौंकै पूरानो यातायातभित्र पर्छ । अहिले यो समितिको नेतृत्व जयकुमारकै छोरा प्रमोदल गरिरहेका छन् । समितिको भवनका लागि जग्गा समेत खड्काले नै न्यूनतम मूल्यमा उपलव्ध गराएको समितिले जनाएको छ ।

हाल यो समितिले ७० वटा बस सञ्चालन गरिरहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बुढानीलकण्ठ, शिवपुरी जलाधार क्षेत्रसमेत रहेकाले यो क्षेत्रमा सार्वजनिक यातायात सहज बनाउन नगरपालिका सघाउने बुढानीलकण्ठ नगरपालिकका मेयर उद्धब खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment