Comments Add Comment

बागलुङका माझीले पाएनन् दशैंमा घर

७ असोज, बागलुङ  । अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ ।

जसरी पनि दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गरिने सार्वजनिक प्रतिबद्धता पूरा गर्न बागलुङ नगरपालिका असफल देखिएको छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएको माझी समुदाय अहिले नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएको छ ।

माझी बस्ती व्यवस्थापनको जिम्मा लिएको नगरपालिका सम्झौता अवधिलाई देखाएर बस्ती निर्माणमा ढिलाइ गरिरहेको छ । गत पुसमा ठेकेदार कम्पनीसँग सम्झौता गर्ने क्रममा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज अधिकारीले दशैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्ने वार्ता गरेका थिए । नगरपालिका–१ खनियाबासमा १४ माझी परिवारका लागि निर्माण कम्पनी ‘मुक्तिनाथ/विएन/त्रिशक्ति, जेभी’ ले घर निर्माण गरिरहेको छ ।

नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले ७० प्रतिशत काम पूरा भएको र आगामी मंसिरभित्र माझी बस्ती व्यवस्थापन भइसक्ने बताउनुभयो । “सम्झौता अवधि पुससम्म छ, दशैँमा सक्ने भन्ने थियो, सकिएन” इ गिरीले भन्नुभयो “मंसिर, पुससम्ममा घर बुझाउँछौँ ।” घर निर्माणको काम अन्तिम चरणमा पुगेको र ‘फिनिसिङ’(अन्तिम काम) मात्र रहेको उहाँको भनाइ छ । लामो समयसम्म नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो ।

प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भइरहेको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । उहाँले दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गर्ने योजना सार्थक हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । “एक करोडमाथिको योजना भएकाले टेण्डरलगायत प्रक्रियामा जानुपर्यो, निर्माण कम्पनीले समयमै काम गर्दैन”, उनले भनिन् । वर्षौंदेखिको अपूरो योजना पूरा गर्न नगरपालिका कार्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

उहाँका अनुसार सम्पूर्ण काम पूरा हुन अझै चार/छ महिना लाग्ने देखिन्छ । स्थानीयवासी प्रशान्त माझीले छानो छाउनेलगायत काम बाँकी रहेको बताए । “यो दशैँ नयाँ घरमा मान्ने योजना थियो तर अधुरै रह्यो” माझीले भन्नुभयो “बस्ती छिटो निर्माण हुनुपर्यो भन्ने हाम्रो माग हो ।”

नगरपालिकाले नमूना र प्राथमिकता प्राप्त योजनामा परेको माझी बस्ती व्यवस्थानमा ढिलाइ गर्न नहुने नागरिकस्तरबाट पनि आवाज उठेको छ । करिब रु ८२ लाखको लागतमा बन्ने घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ ।

रु एक करोड १३ लाखको लागत अनुमान भए पनि ठेकेदार कम्पनीले घटिघटाउमा रु ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण हुने जनाइएको छ ।

शौचालयसहितको तीनकोठे घर बनाउँदा करिब रु छ लाख खर्च हुने बताइएको छ । नगरपालिका र स्थानीयवासीको लामो प्रयासपछि माझी समुदायको दीर्घकालीन व्यवस्थापन हुने भएको छ । घर निर्माणका लागि माझी परिवार, नगरपालिका र अन्य स्थानीयवासीले जग्गा व्यवस्थापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment