Comments Add Comment

रुपन्देहीलाई हराउँदै एपीएफ दूधे गोल्ड कपको सेमिफाइनलमा

प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

७ असोज, झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तर्गत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्देही-११ लाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले २-१ को गोल अन्तरले रुपन्देहीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफको ३६ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । श्याम नेपालीको क्रस पासलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको १६ औं मिनेटमा खड्काले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफको २३ औं मिनेटमा रुपन्देहीका विदेशी खेलाडी जुलिडले सान्त्वना गोल फर्काए । खेल मैदानको मध्य भागबाट प्रहार गरेको फ्रि-किक गोल रक्षक राज नगरकोटीको हातबाट फुत्किएपछि गोल भएको हो ।

खेलको २२ औं मिनेटमा एपीएफका हरि कार्कीले खाली पोष्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।

३१ औं मिनेटमा युवराज खड्काले गरेको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका थिए । ३३ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा जुनिडले गोल गर्ने उत्कृष्ट अवसर खेर फाले ।

खेलमा दुई गोल गरेका एपीएफका युवराज खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।

पहिलो सेमिफाइनलमा आइतबार हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र मोरङ-११ बीच प्रतिस्पर्धा हुँदैछ । एपिएफ र हिमालयन शेर्पाबीचको दोस्रो सेमिफाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment