Comments Add Comment

धनकुटा र तेह्रथुममा कांग्रेस-माओवादी तालमेलको तयारी

माओवादीलाई धनकुटा, कांग्रेसलाई तेह्रथुम ?

सुनिलबहादुर थापा, राजेन्द्र रार्इ र हेमराज भण्डारी

७ असोज, धनकुटा । स्थानीय तहको चुनाव नसकिँदै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी तालमेलबारे जिल्ला-जिल्लामा गृहकार्य सुरु भएको छ । यही क्रममा धनकुटा र तेह्रथुममा कांग्रेस र माओवादीवीच चुनावी तालमेलका लागि छलफल सुरु भएको छ ।

नयाँ निर्वाचन क्षेत्र निर्धारण भएपछि धनकुटा र तेह्रथुममा एक/एक वटा चुनाव क्षेत्र छन् । प्रदेशसभामा भने यी दुईवटा जिल्लाबाट ४ जना प्रतिनिधि चुनिने छन् ।

सूत्रहरुका अनुसार धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले माओवादीलाई सघाउने प्रस्ताव आएको छ भने तेह्रथुममा माओवादीले केन्द्रीय संसदमा कांग्रेसलाई सघाउनेबारे दुई पार्टीका नेताहरुवीच छलफल चल्न थालेको छ ।

तर, यसबारे कुनै निश्कर्ष भने निस्किसकेको छैन ।

धनकुटामा त्रिकोणात्मक प्रतिस्पर्धा

गत स्थानीय चुनावमा धनकुटा जिल्लामा एमालेले क्लिन स्वीप गरेको थियो । त्यहाँ कांग्रेस, माओवादी र तत्कालीन राप्रपा (अहिले राप्रपा प्रजातान्त्रिक)ले एउटा पनि स्थानीय तहको प्रमुख जितेनन् ।

तर, दोस्रो संविधानसभा चुनावमा भने धनकुटाको क्षेत्र नम्बर २ बाट सुनिलबहादुर थापाले चुनाव जितेका थिए । थापा अहिले राप्रपा प्रजातान्त्रिकबाट मन्त्री छन् । र, उनी यसपालि प्रतिनिधिसभा सदस्यका लागि धनकुटामा फेरि उम्मेदवार बन्दैछन् ।

दोस्रो संविधानसभामा थापासँग पराजित भएका एमाले नेता राजेन्द्र राई यसपालि फेरि थापासँग चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

धनकुटा जिल्लाको राजनीतिमा नेपाली कांग्रेस अहिलेसम्म कमजोर मानिँदै आएको छ । जिल्लाबाट ०४८ सालयता कांग्रेसले कहिल्यै संसदीय चुनावमा जित हात पारेको छैन

स्थानीय चुनावमा एमालेलाई जिल्लाभरि जित दिलाएपछि राईले केपी ओलीबाट ‘म्यान अफ दि इलेक्सन’ को उपाधि पाएका छन् । जिल्लामा एमालेको बलियो आधार बनाएकाले राईले यसपालि सूर्यबहादुर थापाका छोरा सुनील थापालाई सहजै जित्ने एमाले नेता कार्यकर्ताहरुको दाबी छ ।

धनकुटा जिल्लाको राजनीतिमा नेपाली कांग्रेस अहिलेसम्म कमजोर मानिँदै आएको छ । जिल्लाबाट ०४८ सालयता कांग्रेसले कहिल्यै संसदीय चुनावमा जित हात पारेको छैन । जिल्लामा कांग्रेसका उम्मेदवार अक्सर तेस्रो भन्दा माथि उक्लन समेत मुस्किल पर्ने गरेको इतिहास छ ।

अहिले एउटै चुनाव क्षेत्र भएपछि कांग्रेसलाई केही सजिलो हुने देखिए पनि कांग्रेसले एक्लै लडेर धनकुटाको प्रत्यक्ष चुनाव जित्नेमा स्वयं कांग्रेसकै नेताहरु विश्वस्त देखिँदैनन् ।

यो अवस्थामा कांग्रेसले प्रतिनिधिसभामा माओवादीलाई छाडिदिने र प्रदेशका दुबै सीटमा माओवादीसँग तालमेल गरेर आफूले जित्ने रणनीति बनाइरहेको स्रोतले बतायो ।

नेपाली कांग्रेसले एक्लै चुनाव लड्दा केन्द्रमा पनि नजितिने र प्रदेशमा पनि हात धुनुपर्ने अवस्था रहेकाले केन्द्रमा माओवादीलाई छाडेर भए पनि प्रदेशका दुई सीट सुनिश्चित गर्न खोजेको सूत्रहरुको दाबी छ ।

कांग्रेसका केही नेताहरुबाट यस्तो किसिमको अनौपचारिक प्रस्ताव आएको धनकुटाका पूर्वसभासद एवं माओवादी नेता हेमराज भण्डारीले अनलाइनखबरसँग स्वीकार गरे । भण्डारीले कांग्रेस नेताहरुको प्रस्तावबारे जानकारी दिँदै भने-‘प्रतिनिधिसभामा हामीलाई सघाउने र प्रदेशसभाका दुबै सीटमा उनीहरुलाई सघाउनुपर्ने अनौपचारिक प्रस्ताव आइरहेको छ, तर यसबारेमा हामीले कुनै जवाफ दिएका छैनौं ।’

जिल्लामा कांग्रेस र माओवादीवीच तालमेल भयो भने केन्द्र र प्रदेशका सबै चुनाव जित्न सकिने सम्भावना रहेको भण्डारीले बताए । यो अवस्थामा राप्रपा, एमाले र गठबन्धनवीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा पूर्वसभासद भण्डारी गठबन्धनका साझा उम्मेद्वार बन्न सक्ने कांग्रेस नेताहरूकाे स्वीकारोक्ति छ ।

कांग्रेस नेता आनन्द सन्तोषी राई धनकुटा जिल्लामा कांग्रेस र माओवादीले मिलेर चुनाब लड्दा राम्रो हुने बताउँछन् । राईले अनलाइनखबरसँग भने- ‘माओवादीलाई प्रतिनिधिसभामा सघाएर कांग्रेसले प्रदेशसभा लिँदा राम्रै हुन्छ । यसरी तालमेल भयो भने एमाले र राप्रपालाई स्वाद चखाउन सजिलो हुन्छ ।’

एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले धनकुटामा माओवादी र कांग्रेसमात्रै होइन, पाँचवटै पार्टी मिलेर आए पनि एमाले एक्लैले सबैलाई हराउने दाबी गरे

उता सूर्यबहादुर थापाको लिगेसीका कारण संगठनात्मक आधार बलियो नभए पनि व्यक्तित्वको बलले चुनाव जित्न सकिने राप्रपा नेताहरुको दाबी छ ।

एमालेले आदिवासी जनजातिलाई उम्मदेवार बनाएको अवस्थामा क्षेत्री बाहुनको भोट आफूतिर आउने थापा पक्षको दाबी छ । तर, यसमा माओवादी-कांग्रेसले पनि अस आर्य उम्मेदवार बनाएको स्थितिमा भने एमालेको जित्ने आधार बलियो हुने सूत्रहरुको विश्लेषण छ ।

धनकुटाको चुनावमा सूर्यबहादुर थापाको लिगेसी र जातीय क्लष्टरको महत्वपूर्ण भूमिका रहने गरेको छ । जातीय क्लष्टरमा लिम्बु, राई र क्षेत्रीबाहुनका तीनवटा महत्वपूर्ण क्लष्टर छन् ।

तर, एमाले धनकुटाका अध्यक्षसमेत रहेका राजेन्द्र राईले भने धनकुटामा माओवादी र कांग्रेसमात्रै होइन, पाँचवटै पार्टीहरु मिलेर आए भने पनि एमाले एक्लैले सबैलाई पराजीत गरेर देखाउने दाबी गरे ।

सांसद उम्मेवारका दाबेदार राईले अनलाइनखबरसँग भने- ‘लाइन कोरेर लडौं, पाँचवटा पार्टी तालमेल गरेर आए भने पनि धनकुटामा एमालेले १५ हजार बढी मतले जित्छ, स्थानीय चुनावले नै यो स्पष्ट देखाइसकेको छ ।’

तेह्रथुममा पनि तालमेलको चर्चा

प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा पनि कांग्रेस र माओवादीवीच तालमेल गर्नेबारे छलफल सुरु भएको छ ।

स्थानीय चुनावमा तेह्रथुममा एमालेले ५ स्थान र कांग्रेसले एउटामात्रै स्थान जितेको छ । तर, जिल्लाभरिबाट प्राप्त मतको हिसाबले कांग्रेस र एमाले लगभग हाराहारीमा रहेको कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेसका पुराना नेता तुलसी सुब्बाले प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा दाबा नगर्ने भनेपछि तेह्रथुममा राज्यमन्त्री सीता गुरुङ उम्मेदवार बन्ने सम्भावना बढेको छ

तेह्रथुममा नेपाली कांग्रेसले प्रतिनिधिसभा आफूले लिने र प्रदेशमा एउटा क्षेत्र माओवादीलाई दिनेबारे अनौपचारिक छलफल चलाइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कांग्रेसका पुराना नेता तुलसी सुब्बाले प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा दाबा नगर्ने भनेपछि तेह्रथुममा राज्यमन्त्री सीता गुरुङ उम्मेदवार बन्ने सम्भावना बढेको र माओवादीसँग तालमेल भएको अवस्थामा उनले जित्न सक्ने कांग्रेस नेताहरुको आँकलन छ ।

एमालेका तर्फबाट तेह्रथुममा भवानी खापुङ, तजमान कन्दङवा, पिताम्बर तिम्सिना र लक्ष्मण तिवारी लगायतका नेताहरु उम्मेदवारका दाबेदार छन् । जिल्लामा एमालेको जनाधार पनि निकै बलियो छ । एमालेबाट विष्णु कन्दङवा पनि दाबेदार थिए, तर उनी स्थानीय चुनावमा लडेर मेयर बनिसकेका छन् ।

प्रदेश सभाका लागि एमालेका पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले समेत दाबा गरिरहेको स्रोतले बतायो ।

तेस्रो शक्तिका रुपमा रहेको माओवादीबाट भने प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाङ्फे, देबेन्द्र कुरुङबाङ र धर्म खड्का लगायतले उम्मदेवारको दाबा गरिरहेका छन् ।

भानुभक्त ढकाल मोरङ झर्ने

एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल मोरङ बाट चुनाव लड्ने तयारीमा छन्

तेह्रथुम गृहजिल्ला भएका नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल पनि योगेश भट्टराई ताप्लेजुङ गएजस्तै तेह्रथुममा चुनाव लड्न आउने चर्चा चलेको थियो । तर, ढकाल पछि हटेका छन् ।

एमाले स्रोतका अनुसार ढकाल मोरङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् ।

विद्यार्थी राजनीतिमा सक्रिय हुँदै राष्ट्रिय राजनीतिमा चर्चामा रहेका युवा नेता ढकाल तेह्रथुम जिल्लाका लागि भने नौलो अनुहार हुन सक्ने स्थानीय कार्यकर्ताले सुझाव दिएपछि उनी मोरङ झर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment