Comments Add Comment

विनासको पीडा बिर्सेर दशैं मनाउँदै बारपाकवासी

८ असोज, गोरखा । विनासकारी भूकम्पबाट मध्य क्षेत्रका १४ जिल्ला तहसनहस बनेको २८ महिना बित्यो । त्यसको केन्द्रविन्दु (इपिसेन्टर) बनेको बारपाक पीडा बिर्सेर यतिबेला दशैंको रौनकमा भुलेको छ ।

इपिसेन्टरका बासिन्दाले भूकम्पका कारण आफन्तजन र घर गुमाउनुको पीडा त कहाँ बिर्सेका छन् र ! अस्थायी टहराकै आश्रयमा पनि उनीहरु परम्परा धान्न लागिपरेका हुन् ।

भूकम्पबाट थिलथिलो बनेको पहाडी बस्ती विस्तारै बौरिने क्रममा छ । भूकम्पको सम्झना/बिर्सना, विदेश पुगेका बारपाकीसमेत झोलीझाम्टा बोकेर थातथलोतिर लम्किँदै गरेको भेटिन्छन् ।

दशैं खर्चको जोहो गर्दै नयाँ लुगा र भेडा तयार पारेका छन्, अधिकांशले ।

परम्पराअनुसार गत बिहीबार सबै बारपाकीले मुखियाको घर पुगेर जमरा राखे । मुखियाको घरमा गएर सामूहिक जमरा दशैंमा बारपाकको फरक पहिचान हो ।

‘अब फूलपातीका दिन जमरालाई कोटदेवी (अकला मन्दिर)को मौला घरमा लगिन्छ,’ स्थानीय जित घले भन्छन्, ‘टीकाको बिहानसम्म जमरा त्यहीं रहन्छ ।’ टीकाको शुभसाइतमा सबै सोही मन्दिरमा भेला हुन्छन्, मुखियाको हातबाट टीका लगाएर आशिर्वाद लिन्छन् ।

अनि आ–आफ्ना घर फर्केर टीका, जमरा लगाउँदै खुशी साटासाट गर्छन् ।

अष्टमीको दिन कोटदेवीको मौला घरमा राँगोको बलि चढाइन्छ । स्थानीय बासिन्दाले घर–घरमा भेडा र च्यांग्राको बलि दिन्छन् ।

बारपाकको दशैंमा टीका, जमरा र मिठा परिकार मात्र हुँदैनन्, नाचगानमा झुमेका बारपाकी देख्दा लाग्छ, दुई वर्षअघि यहाँ कुनै विपत आएकै थिएन ।

चाडवाडले ऋण थप्ने चिन्ता

भूकम्पबाट भत्किएका घर पुनर्निर्माणका क्रममा इपिसेन्टरका बासिन्दा चुर्लुम्म ऋणमा डुबेका छन् । चाडबाडको खुशी ऋणको भार थपेर सकिने चिन्तामा पनि देखिन्छन्, उनीहरु ।

‘सरकारले दिएको ५० हजार रुपैयाँले घर बनाउन होइन, भत्काउनै पुगेन,’ स्थानीय फुल गुरुङ भन्छन्, ‘ऋण खोजेर घर जसोतसो बनाएँ तर फेरि चाडबाड आयो, कसरी मनाउने भन्ने चिन्ता छ ।’

घर निर्माणका क्रममा उनलाई सात लाख रुपैयाँ ऋण लागेको छ । दुई छोरी र एक छोरा गरी ६ जनाको परिवार छ । ‘केटाकेटी नयाँ लुगा भन्छन्, पैसा छैन, अब पुरानो लुगा धोएर लगाइदिनु पर्ला,’ गुरुङ चित्त बुझाउँछन् ।

अधिकांश अस्थायी टहरामै

भूकम्पको विनासपछिको यो तेस्रो दशैं हो । बारपाकका अधिकांश बासिन्दा अझै अस्थायी टहरामै छन् । पुनर्निर्माण कछुवा गतिमै छ, ऋणको भारले इपिसेन्टरका बासिन्दाको सातो लिएको छ ।

‘अस्थायी टहरामा टीका लगाउने ठाउँ पनि छैन, धेरै वर्षपछि आउन लागेका आफन्तलाई कहाँ राख्ने होला,’ स्थानीय यम गुरुङ भन्छन् ।

रकम अभावका कारण अधिकांश पीडितले घर बनाउन सकेका छैनन् । घर बनाएकाहरुले पनि अनुदानको दोस्रो किस्ता पाएका छैनन् । ‘जसोतसो ऋण गरेर घर बनाइयो,’ अविनाश गुरुङ भन्छन्, ‘सरकारले दोस्रो किस्ता अझै दिएन ।’

करिव १४ सय ४७ घरधुरी रहेको बारपाकमा हालसम्म अधिकांशले दोस्रो किस्तावापतको रकम पाएका छैनन् । पीडितमा ऋणको भार बढ्नुको एक कारण हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment