Comments Add Comment

बाढीपीडित भन्छन्- जमरा राख्ने अन्न र ठाउँ छैन, दशैं कसरी मनाउनु ?

अस्थायी टहराबाट पनि हटाइने त्रासमा पीडित


८ असोज, नेपालगञ्ज । बाँकेका बाढी पीडित दशैंको जमरा राख्ने अनाज र ठाउँ अभावमा पिरोलिएका छन् ।

राप्ती सोनारी-२ टिकुलीपुर क्षेत्रमा अस्थायी शिविरमा बस्दै आएका छन्, उनीहरु ।

आँगनमै दशैं भित्रिइसक्दा सबैले गच्छेअनुसारको किनमेल पनि नगरेका होइनन् । तर, आफ्नै घरमा बसेर चाडपर्वमा रमाउनुको विकल्प कसरी बन्न सक्थ्यो र, टहराको जिन्दगी !

टिकुलीपुर हरलाफाँटाको शिविरमा बस्दै आएकी ६० वर्षीया देवी खनाललाई दशैं आएजस्तो लागेकै छैन । भन्छिन्, ‘जीवनमा यति ठूलो कष्ट भोग्नुपर्ला भन्ने लागेकै थिएन ।’

बाढीले घर डुबायो, ज्यान जोगाउन उनको परिवार जंगलमा बसेको छ । दिनरात छाडा पशु र जंगली जनावरको त्रास रहन्छ । र, अर्को त्रास थपिएको छ, सामूदायिक वनले कतिबेला उठीबास लगाउने हो !

गत २८ साउनको बाढीले उनीहरुको गाउँ नै डुबायो । सबै गाउँले हरला सामूदायिक वनभित्र अस्थायी टहरो बनाएर बसेका छन् । त्यस क्षेत्रमा बाढी पीडित ५९ परिवारले आश्रय लिएका छन् ।

सबैको पीडा र व्यथा एकै छ । ‘बाढीले डुबाएको घर बस्न सक्ने अवस्थामा छैन, यही टहरो पनि वनले सात दिन हटाऊ भनिरहेको छ,’ खनालले भनिन्, ‘दशैं पनि दशा बनेर आएको छ ।’

पालबाट पानी छिरेर रातभर जाग्राम बस्नुपर्छ, उनीहरुले ।

४९ वर्षीया भीमी वलीको परिवारले तीन वर्षमा दोस्रो पटक बाढीको कहर खेपेको छ । ०७१ सालको बाढीले अहिलेजस्तै उठिबास लगाएको थियो । त्यतिबेला पनि जमरा राख्न पाएको थिएन, उनको परिवारले । वलीले भनिन्, ‘अहिले त झन् वनले कतिबेला लखेट्ने हो टुंगो छैन ।’

५४ वर्षीया मीना खत्री टहरामै भए पनि जमरा राखेर परम्परा धान्ने प्रयास गर्दै थिइन् । ‘घर बाढीले भत्काएको छ । नौ जनाको परिवार यही टहरोमुनि ओत लागेका छौं,’ उनले भनिन् । जमरा राख्ने अन्न पनि उनले आफन्तसँग मागेर ल्याएकी हुन् ।

सुरक्षा दिनुपर्ने सरकारले नै अस्थायी टहराबाट लखेट्ने धम्की दिइरहेकामा ८० वर्षीय मोती बुढाको मन दुःखेको छ ।

वडाका बासिन्दाको सुरक्षा र उनीहरुको समस्याको समाधानलाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको राप्ती सोनारी-२ का वडाध्यक्ष मदनकुमार वलीको दाबी छ । ‘बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था नहुँदासम्म वनबाट नहटाउन सम्बन्धित निकाय गुहारिरहेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment