Comments Add Comment

सरकारको निर्णय दुर्भाग्यपूर्णः डा. केसी

८ असोज, काठमाडौं । प्रा. डा. गोविन्द केसीले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको सरकारी निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ताले यस्तो निर्णय सुनाएका थिए । त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द आह्वान गरेर आन्दोलन गरिरहेको छ ।

चिकित्सक संघको विरोधपछि प्रधानमन्त्री कार्यालयले बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने निर्णय भइनसकेको स्पष्टीकरण दिएको छ ।

डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिकित्सक संघको विरोध कार्यक्रमपछि सरकारले दुरुस्त त्यस्तो निर्णय नगरेको भनेर दिएको प्रष्टीकरणले राज्य कति हचुवा र गैरजिम्मेवार तरिकाले चलिरहेको छ भन्ने छर्लंग हुन्छ ।’

राज्यको नियत अझै छर्लंग नभएको भन्दै उनले भनेका छन्, ‘उपचारका क्रममा हुन जाने सबै भवितव्यलाई पनि लापरवाहीको वर्गमा राखेर चिकित्सकलाई दोहन गर्ने पछिल्लो समयमा बढिरहेको प्रवृत्तिलाई राज्यको यस्तो रवैयाले प्रश्रय दिन्छ ।’

न्यूनतम लगानीमा यथेष्ट भौतिक पूर्वाधार र जनशक्ति नराखी अस्पताल चलाउनेलाई उन्मुक्ति दिने तर, डाक्टरहरुलाई जिम्मेवार ठह¥याउने हो भने बिरामी मारमा पर्ने उनले बताएका छन् । ‘चिकित्सकहरुले शल्यक्रियालगायत बढी जोखिम बढी भएका कामहरु नगर्ने र आफूलाई सुरक्षित महसुस हुने उपचार पद्दति मात्रै अपनाउने देखिन्छ । त्यसले अहिले नै गहिरो रहेको डाक्टर–बिरामी सम्बन्धको खाडल झन् गहिर्याउने देखिन्छ’ उनले भनेका छन् ।

डा. केसीले उपचारका क्रममा हुने मृत्युमा निष्पक्ष रुपमा भवितव्य र लापरवाही छुट्याउनु पर्ने र यदि लापरवाही भएको पाइए विद्यमान कानुनअनुसार कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । ‘डाक्टरको लापरवाही नै नभएको अवस्थामा हुलहुज्जत र तोडफोडका भरमा अस्पतालहरुले क्षतिपुर्ति दिने र छानविन नहुने अवस्थाको अन्त गरिनुपर्छ’ उनले भनेका छन् ।

डा. केसीले चिकित्सक संघले अघि सारेको चिकित्सकहरुको दीर्घकालीन हित हुने माग पूरा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment