Comments Add Comment

सप्तरीको १५ तहको नतिजा सार्वजनिक, कुन तहमा कसले जिते ?

जित्ने आश गुमाइसकेका पूर्वसभासद्का छोराको अप्रत्यासित जीत

८ असोज, सप्तरी । सप्तरीको थप सात स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजामा फोरम नेपाल पाँच, कांग्रेस र राजपाले चार/चार स्थान तथा नयाँ शक्ति र एमालेले एक÷एक स्थानमा विजय हासिल गरेका छन् ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकामा राजपाले जितेको छ । हनुमाननगर–कंकालनी नगरपालिकामा राजपाले मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा शैलेश साह ५७२० र उप मेयरमा सरिता यादव ५४१७ मत ल्याई विजयी भएका हुन् । संघीय समाजवादी फोरमबाट मेयर पदका उम्मेदबार वीरेन्द्र माझीले साह दोस्रो भए । उनको मत ४३६५ छ । उप मेयरमा सियाबती देवी यादव ४१९९ मत ल्याएर पराजित भइन् ।

यस्तै शनिबार साँझ फोरम नेपालले खडग नगरपालिकामा अप्रत्यासित नतिजा निकालेको छ । शुरुदेखि नै अग्रता लिएको कांग्रेसलाई हराउँदै फोरम नेपालले खडग नगरपालिकामा मेयर जितेको छ । उपमेयर भने कांग्रेसको पोल्टामा परेको छ । फोरम नेपालका हैयामु हकले कांग्रेसका किरण भगतलाई १३४ मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । हकले ३१२८ मत पाउँदा भगतले २९९४ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकी जस्मिन सुल्ताना विजयी भएकी छन् । सुल्तानाले ३२३७ मत पाउँदा फोरम नेपालकी केन्द्रिला कुमारी झाले २७६७ मत मात्रै पाइन् ।

निर्वाचित हक पहिलो संविधानसभामा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र निर्वाचित सांसद सदरुल हकका छोरा हुन् । सदरुलको हत्या भइसकेको छ ।
सुरुङा नगरपालिकामा कांग्रेसले जितेको छ । योसँगै जिल्लामा कांग्रेसले चारवटा स्थानीय तह जितेको छ । कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन् । मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम एमालेका रामनारायण चौधरीले ५०७९ मत पाए । यस्तै उपमेयरमा निर्वाचित बिन्दा पासवानले ५ हजार ३६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविना डोटेलले ५ हजार ४ मत प्राप्त गरिन् ।

सुरुङ्गामा पनि एमालेले शुरुदेखि नै अग्रता लिदै आएको थियो ।

यस्तै तिलाठी–कोइलाडी गाउँपालिकामा राजपाले जितेको छ । योसँगै राजपाले जिल्लमा तीनवटा स्थानीय तह जितेको छ । तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिश सिंह र उपप्रमुखमा सुचिता यादव निर्वाचित भएका छन् । सिंहले २९८७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुण यादवले २८७२ मत पाए ।

यस्तै संघीय समाजवादी फोरम नेपालले बोदे बर्साइन नगरपालिका र महदेवा गाउँपालिका जितेको छ ।

बोदे बर्साइनको मेयर पदमा संघीय फोरमका आतिश सिंह यादव ४५४७ मत सहित मेयर पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका अमरेन्द्र यादवले ३२९८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि फोरम नेपालकै रंजु साह निर्वाचित भएकी छन् । साहले ३७२१ मत प्राप्त गर्दा राजपाबाट उपमेयरमा उम्मेदबारी दिएकी रेणु साहले ३६३७ मत प्राप्त गरिन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालले जिल्लाको बलान–बिहुल गाउँपालिकामा पनि जितेको छ । संघीय फोरमका दयानन्द गोइत अध्यक्ष पदमा तथा उपाध्यक्षमा संघीय फोरमकै रुबी गुप्ता निर्वाचित भएका हुन् ।

फोरमका दयानन्द गोइतले दुईहजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्रकुमार यादवले एकहजार ३२२ मत प्राप्त गरे । उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एकहजार ८०२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गरिन् ।

यस्तै महदेवा गाउँपालिकामा फोरमबाट प्रमुख र उपप्रमुख दुबै पदमा फोरम नेपाल विजयी भएको छ । अध्यक्षमा दीपक यादव र ममता यादव उपाध्यक्षमा निर्वाचित भएकी छन् । दीपकले ३९ र ममताले २७४९ मत प्राप्त गरिन् ।

राजपाका प्रमुख र उपप्रमुख दोस्रो स्थानमा सीमित भए । प्रमुखका उम्मेदवार सुनिल मण्डलले २९१९ मत पाए भने उपाध्यक्षमा राजपाकै अर्चना यादवले २५१२ मत पाइन् ।

योसँगै सप्तरीमा १५ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । संघीय फोरम पाँच ठाउँमा र राजपा तथा कांग्रेस ४÷४ तहमा तथा एकमा एमाले र एकमा नयाँ शक्तिले जित हात पारेको छ । कांग्रेसले सुरुङ्गा नपासहित बेल्ही चपेना, कृष्णासवरण, बिष्णुपुर गाउँपालिका, राजपाले डाक्नेश्वरी र हनुमाननगर–कंकालनी नगरपालिका तथा रुपनी र तिलाठी कोइलाडी गाउँपालिका, संघीय फोरमले खड्ग तथा बोदे बर्साइन नगरपालिका र तिरहुत, महदेवा एवं बलान बिहुल गाउँपालिका जितेको छ ।

एमालेले सप्तकोशी नगरपालिका तथा नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिका जितेको छ ।

हकको अप्रत्यासित जीत

खड्ग नगरपालिकामा मेयर पद जित्ने हैयामु हक पूर्व सभासद् सदरुल हक मियाँका छोरा हुन् । लगातार कांग्रेसले अग्रता लिइरहँदा उनले जित्ने छाँटकाँट नै देखेका थिएनन् । नतिजा आएको दिन शनिबार उनको अग्रता केही बढ्यो । शनिबार कांग्रेस र फोरमको अग्रता छिन–छिनमै तलमाथि भइरहेको थियो । वडा नम्बर १० को करिब ८ सय मत गणना हुन बाँकी रहँदा हक ११७ मतले अगाडि लागेका थिए । अन्तिम परिणाम आउँदा हक १३४ मतले निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment