Comments Add Comment

नेपाली आकाशमा विमानको ‘इन्ट्री पोइन्ट’ बढाउने सहमति अलपत्र

खोज तथा उद्दार सम्झौतामा तीन वर्षदेखि सरकारी आलटाल

८ असोज, काठमाडौं । भारतसँग खोज तथा उद्धार सम्झौतामा सरकारी आलटालका कारण अहिलेसम्म हिमालय-२ रुट कार्यान्वयनमा आउन सकेको छैन । उक्त सम्झौता नभएकाका कारण प्रवेश विन्दु (इन्ट्री पोइन्ट) विस्तारको कामसमेत अड्किएको छ ।

भारतीय पक्षले तीन वर्षअघि नै सम्झौताको मस्यौदा पठाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधीकरणले पनि त्यसमा संशोधन गरेर मन्त्रालयलाई पठाइसकेको छ । तर, मन्त्रालयले त्यसलाई अगाडि बढाएको छैन ।

प्राधीकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार अहिले नेपाल भित्रिने विमानहरुले सिमराको एक मात्र रुट प्रयोग गर्नुपर्छ । चीन र भुटानबाट आउने विमानबाहेक सबै सोही विन्दुबाट नेपाल प्रवेश गर्छन् ।

चिनियाँ एयरलाइन्सका केही विमान मकालु हिमालछेउबाट नेपाल प्रवेश गरेर संखुवासभाको तुम्लिङटारनजिकबाट सोलुखम्बुतर्फ मोडिँदै काठमाडौं आइपुग्छन् । भुटानको पारो विमानस्थलबाट उडेका विमानले मेची नदीको प्रवेश विन्दु समात्छन् ।

अहिले भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलको काम अगाडि बढेको छ । तीन वटै विमानस्थल प्रयोगमा आइसक्दा सिमराको प्रवेश विन्दुको औचित्य कम हुन्छ । र, घुमाउरो रुट प्रयोग गर्नुपर्दा इन्धन खर्च ह्वात्तै बढ्छ ।

भैरहवा र पोखरा विमानस्थलका लागि भैरहवालाई नै प्रवेश विन्दु बनाउनु उपयुक्त हुन्छ ।

नेपालले भारतसँग विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट थप प्रवेश विन्दुको प्रस्ताव गरेको छ । तर, नेपाली पक्षकै बेवास्ताका कारण उक्त प्रस्ताव कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छैन ।

ती सबैमा सुरक्षा मूल्यांकन -सेफ्टी एसेस्मेन्ट)का लागि भारतीय पक्षले गत वैशाखमै बोलाएको थियो, नेपाली पक्षलाई । तर, स्थानीय चुनावको तयारी चल्दै गर्दा निर्वाचन आयोगले आचारसंहितालाई कारण देखाएर जान दिएन । त्यसपछि भारतले पनि यसमा चासो दिएको छैन ।

‘हामीले उनीहरुबाट अनुमति लिनुपर्ने हो । हामीले नै चासो नबढाएपछि उनीहरुले ध्यान दिने कुरै भएन,’ प्राधीकरणका एक अधिकारी भन्छन्, ‘नेपाली पक्षले स्थानीय चुनावको बहाना बनाउँदा भारतीय पक्षले नेपालकै चासो नरहेको रुपमा बुझेको छ ।’

स्रोतका अनुसार ६ पुस ०७३ मा नयाँदिल्लीमा भएको बैठकमा नेपाललाई महेन्द्रनगरबाट प्रवेश विन्दु दिन भारत सकारात्मक देखिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आईकाओ)ले एल-६२६ नामकरण गरेको उक्त रुटका लागि सहमति दिन खोज तथा उद्दार सम्झौता हुनुपर्ने भारतको प्रस्ताव छ ।

विमान दुर्घटनामा पर्दा आपसी आपतकालीन सहयोगका लागि उक्त सम्झौता आवश्यक पर्छ । त्यसको फाइदा नेपाललाई नै छ ।

उद्दार तथा खोजीमा अहिले नेपालको भन्दा भारतीय संयन्त्र बलियो छ ।

तर, मन्त्रालयका अधिकारीहरुले उक्त विषयलाई अगाडि बढाउन चासो दिएका छैनन् । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने भने उक्त सम्झौता अन्तिम चरणमा रहेको दाबी गर्छन् । जबकि, त्यससम्बन्धि मस्यौदा तीन वर्षदेखि मन्त्रालयले नै अड्काएर राखेको छ ।

प्राधीकरणका अनुसार भैरहवालाई प्रवेश विन्दु बनाउन भारत सकारात्मक छ । तर, नेपालगञ्जका हकमा बीचमा भारतीय वायुसेनाको अड्डा पर्ने भएकाले तत्काल दिन नसकिने बताउँदै आएको छ ।

महेन्द्रनगरका हकमा पनि भारतीय ‘रिजर्भेसन’ छैन । खाली, सुरक्षा मूल्यांकनमा मात्र जोड दिएको छ, जुन नेपाली पक्षकै कारण हुन सकेको छैन । कुन मुलुकका कति विमानले उक्त रुट प्रयोग गर्न सक्छन् भन्ने जान्न चाहेका छन्, भारतीय अधिकारीहरुले ।

यस्तै, जनकपुर, विराटनगर र मेचीको प्रवेश विन्दुमा पनि भारतीय पक्ष सकारात्मक छ । ती विन्दुबाट विमान आउजाउ गर्न सक्दा सिमराको प्रवेश विन्दुको औचित्य समाप्त हुने भारतीय बुझाइ छ ।

के हो हिमालय-२ ?
आईकाओले नेपालको आकाश हुँदै अन्तर्राष्ट्रिय उडानहरू गर्न सकिने हिमालय-२ रुट कार्यान्वयनमा ल्याउन खोजेको वषर्ाैं भइसक्यो । तर, कार्यान्वयनमा आउन सकेको छैन ।

नयाँदिल्लीबाट महेन्द्रनगर हुँदै काठमाडौं र यहाँबाट मेची, गुवाहाटी, चीनको कुन्मिङ र हङकङ जोड्ने वैकल्पिक हवाई मार्गलाई हिमालय-२ रुट भनिन्छ ।

उक्त रुट प्रयोग गर्दा हाल बंगालको खाडीमा रहेको ‘ट्राफिक कन्जेस्सन’ नेपाली आकाशतिर सर्छ । हिमालय-२ रुटमा उड्ने विमानहरुको इन्धन खर्च पनि घट्छ ।

नेपाली आकाश प्रयोग गरेवापत अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपाललाई प्रतिघण्टाका दरले रकम तिर्नुपर्छ ।

यो रुट प्रयोगमा आउँदा युरोप र मध्यपूर्वबाट चीन, जापान, हङकङलगायत गन्तव्यमा उडान भर्न सोझो मार्ग तयार हुन्छ ।

पाकिस्तानको आकाशबाट भारत हुँदै नेपाली आकाशमा प्रवेश गर्न पाउँछन्, विमानहरु ।

उक्त रुटका लागि पनि भारत सकारात्मक छ । चीनले पनि यसअघि नै सहमति जनाइसकेको छ । आफूले स्वीकृति दिनुअघि म्यानमारबाट स्वीकृति लिन सके हिमालय-२ कार्यान्वयनमा ल्याउन सहज हुने भारतीय बुझाइ देखिन्छ ।

म्यानमारको उत्तरी क्षेत्रस्थित अहिले कमजोर सञ्चार प्रणाली रहेको आकाश प्रयोग हुनेछ, हिमालय-२ का लागि । सोही कारण म्यानमारको सहमति खोजेको हो, भारतले । म्यानमारको उक्त इलाकामा अहिले भेरी हाई पि|mक्वेन्सी -भीएचएफ) ‘कभरेज’ कमजोर छ ।

आकाश प्रयोग हुने सबै मुलुकको सहमति तयार भएपछि आईकाओले उक्त रुटका लागि अनुमति दिनेछ ।

यसकारण हिमालय-२
अहिले सञ्चालनमा रहेको बंगालको खाडीको मार्गभन्दा यस रुटबाट १५ देखि २० मिनट उडान समय घट्छ । हरेक वर्ष एक हजार ६ सय ६० टन इन्धन बचत र वर्ष पाँच हजार दुई सय टन कार्बन उत्सर्जन पनि घट्छ ।

अहिले बंगालको खाडीको आकाश प्रयोग गर्दा लामो दूरीका विमानहरुले मार्ग परिवर्तन, इन्धन सकिने र उडानका लागि घण्टौं प्रतिक्षा गर्नुपर्ने समस्या बेहोर्नु परिरहेको छ । हिमालय-२ प्रयोगमा आएसँगै सबै समस्या समाधान हुनेछन् ।

बंगालको खाडीको ट्राफिक कन्जेस्सन घटाउन आईकाओले सन् २००१ देखि विकल्पको खोजी थालेको हो । उक्त रुटमा दैनिक सयभन्दा बढी उडान हुने गर्छन् ।

हिमालय दक्षिणमा काठमाडौं आउजाउ गर्नेबाहेक ठूला विमानको उडान कम छ । सोही कारण नेपालले तीन वटा मार्गलाई विकल्पका रूपमा अगाडि सार्‍यो ।

तीमध्ये दोस्रो अर्थात् हिमालय-२ दूरी र इन्धन बचत तथा कार्बन उत्सर्जनका हिसाबले उपयुक्त रहेको निष्कर्षमा आईकाओ पुगेको थियो । कात्तिक ०६७ मा क्यानाडाको मन्टि्रयलमा सम्पन्न आईकाओको ३७आैं महासभा तथा मंसिर ०७३ मा थाइल्यान्डको बैंककमा सम्पन्न दक्षिणपूर्वी एसियाको हवाइमार्ग समीक्षा बैठकमा पनि हिमालय-२ बारे गम्भीर छलफल भएको थियो ।

बंगालको खाडी हुँदै उड्ने १५ प्रतिशतले विमानले मात्र पनि हिमालय-२ प्रयोग गरे भने नेपालको राजश्व वृद्धिमा सहयोगी बन्न सक्ने र पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment