Comments Add Comment

पेस्तोलसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै सडक अवरुद्ध

८ असोज, कपिलवस्तु । हतियारसहित पक्राउ परेका एक व्यक्तिलाई रिहा गर्न माग गर्दै स्थानीयबासीले कपिलवस्तुको बहादुरगञ्जमा सडक अवरुद्ध पारेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित स्थानीय भरत चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनी निर्दोष रहेको तर प्रहरीले फसाउन खोजेको बुटनीयाबासीको दाबी छ । उनीहरुले भरतको रिहाइको माग गर्दै चन्द्रौटा-कृष्णनगर सडकखण्डअन्तर्गत बहादुरगञ्ज चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासनविरुद्ध नाराबाजी पनि गरेका पत्रकार सनीउल्ला धोबीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बहादुरगञ्जले भने आज विहान बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित भरत चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment