Comments Add Comment

माधव नेपाललाई ओलीको जवाफ-मलाई देवत्वकरणको रुची छैन

केन्द्र र सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने संकल्प

८ असोज, काठमाडौं । आगामी निर्वाचनमा केन्द्र र सबै सात प्रदेशमा सरकारको नेतृत्व गर्ने संकल्पसहित एमाले केन्द्रीय कमिटी बैठक आइतवार सम्पन्न भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित भएपछि बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न विषयमा १४ बुँदे निर्णय गरेको छ ।

एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड समेत तय गरेको छ । उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरुले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रुपमा एकजनाको नाम सिफारिस गर्न प्रोत्साहन गरिएका प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

प्रदेशबाट सिफारिस भएका नामका आधारमा स्थायी कमिटीले उम्मेदवार तोक्नेछ । एमालेका सबै प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको छ ।

माधव नेपाललाई ओलीको जवाफ

केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीलाई आफूलाई देवत्वकरणमा रुची नरहेको बताएका छन् । बरिष्ठ नेता नेपालले शुक्रबार बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीलाई देवत्वकरण गर्न खोजिएको र पार्टीलाई कोटरीबाट चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपाललाई जवाफ दिँदै ओलीले भने, ‘मलाई देवत्वकरणमा रुची छैन, अहिले पार्टीले पाएका सबै उपलव्धी सामुहिक रुपमा प्राप्त भएका हुन् । पार्टी अध्यक्षका रुपमा मैले मात्र गरेर होइन । तर, पार्टी ध्वंश भयो भन्ने र चुनावमा पार्टी पहिलो हुने कुराको तालमेल चाहिँ भएन ।’

उनले बरिष्ठ नेताहरुलाई स्थायी कमिटीमा छलफल गर्न आग्रह गरे । अध्यक्ष ओलीले बोलिरहँदा माधव नेपालले अब मैले पनि बोल्नैपर्ने भयो भनेर समय मागेका थिए । तर, ओलीले पछि छलफल गरौंला भन्दै बैठक टुंग्याएको स्रोतले जनाएको छ ।

बैठकमा उपमहासचिव घनश्याम भुषालले अध्यक्षले अध्यक्षको हाइटबाट बोल्नुपर्‍यो भन्दै आपत्ति जनाएका थिए । जवाफमा ओलीले भने, ‘मैले मिडियाबाट तपाईका अर्ति उपदेशहरु पढिरहेको छु ।’

केहीबेर तीन नेताबीच तनाव भएपनि बैठक सर्वसम्मत रुपमा ओलीको प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एक नेताले बताए ।

माधव नेपालले ओलीलाई उनी निकट कार्यकर्ताले ‘बा’ भन्ने गरेकोमा समेत आपत्ति जनाएका थिए । ‘बा होइन कमरेड भन्नुपर्‍यो, पार्टीलाई कोटरीबाट होइन, संस्थागत ढंगले चलाउनुपर्‍यो’ नेपालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment