Comments Add Comment

अवैद्य रुपमा भित्र्याइएका कपडा नियन्त्रणमा लिंदा ‘तस्कर’को अवरोध

८ असोज, नवलपरासी । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलले भारतबाट अवैध रुपमा नवलपरासीको नाकाबाट तस्करी गरेर नेपालमा ल्याइएका कपडाहरु बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ रामपुरवामा वेवारिसे अवस्थामा एक झुप्रोमा डम्प गरेर राखिएका ठूलो परिणाममा विभिन्न किसिमका कपडाहरु बरामद गरिएको राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख नरेन्द्रप्रकाश पाण्डले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका कपडाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ ।

विशेष सूचनाको आधारमा राजश्वको टोलीले झुप्रोमा रहेको कपडाहरुलाई नियन्त्रणमा लिन खोज्दा ठूला संख्यामा रहेका स्थानीयहरुले (कपडा तस्कर) टोलीलाई अवरोध गरेको थियो ।

भन्सार छली गरी अवैध रुपमा डम्प गरिएका कपडाहरु बरामद गर्दा स्थानीयहरुले लाठी, भालासहित गाडी अवरोध गरेपछि आफूहरुले थप प्रहरीको मद्दत लिएर कपडा जफत गर्न सफल भएको प्रमुख पाण्डेले बताए ।

उनले भने अवैध रुपमा कपडा डम्प गरिएको सूचना आएको थियो त्यही सूचनाको आधारमा छापा मारेर कपडा ल्याउने क्रममा ठूलो संख्यामा स्थानीयहरुले अवरोध गरेपछि प्रहरीको थप मद्दत लिएर काममा सफलता पायौँ । तर, केही कपडा तस्करहरुले लुकिछिपी लैजानमा सफल भए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । बरामद गरिएको कपडाहरु महेशपुर भन्सार कार्यालयबाट करिब ४ सय मिटरको दुरीमा रहेको छ ।

कपडा कसको हो ?

स्रोतका अनुसार बरामद गरिएका कपडा नवलपरासीको मुकेश नामका व्यक्तिको हो । उनले यस क्षेत्रमा ठूलो मात्रामा कपडा तस्कर गर्ने गरेको प्रहरी बताउँछ ।

नाकाबाट ठूलो परिणामा तस्करी गर्ने तस्कहरुले कुनै एक स्थानमा साम्रगी डम्प गर्ने गरेको र ठूलो परिणामा गाडीमा पठाउने गर्ने गर्दछन् ।

दशैको बेला मुलुकमा कपडाको माग बढेको अवस्थामा नवलपरासी र रुपन्देहीका नाकाहरुबाट व्यापाक रुपमा कपडा तस्करी बढेको छ ।
नवलपरासीको नाकाबाट तस्करी भएपनि मुलुकको विभिन्न शहरहरुमा उक्त कपडा पुर्याउनका लागि रुपन्देहीको भैरहवा ट्रान्जिट प्वाइन्ट बनेको छ ।

नवलपरासीका नाकाबाट अवैध रुपमा तस्करी गरी नेपालमा डम्प गरेका कपडाहरु ठूलो परिणाममा गाडीमा लोड गरी भैरहवाको पशुपति ट्रान्सपोर्टमा ल्याउने गरिएको र किर्ते बिल बिजक जारी गरेर उक्त ट्रान्सपोर्टबाट मुलुकको विभिन्न शहरहरु कपडा पुर्याउने गरिएको स्रोतको भनाइ छ ।

प्रहरीले केही हप्ता अघि मात्र भन्सार छली गरी ल्याइएका विभिन्न साम्रगीहरु पशुपति ट्रान्सपोर्टबाट बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment