Comments Add Comment

कटारीको कृषि उपज केन्द्र बन्यो लागूऔषधको अखडा


८ असोज, उदयपुर । उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा कृषि वजारलाई व्यवस्थित गर्न बनाइएका टहराहरु प्रयोगविहिन बनेका छन् । टहराहरु प्रयोगमा नआएपछि अहिले स्थानीयको सुंगुर, बाख्रा, कुखुरा, गाईभैसी पाल्ने थलो बन्नुका साथै लागुऔषध प्रयोगकर्ताको जमघट हुने स्थल बनेको छ ।

०४२ सालमा सगरमाथा ग्रामीण एकिकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैँया खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम, सिटी हल १ निर्माण गरी दिएपनि सम्बन्धित निकायले ध्यान नदिदा केन्द्र प्रयोग विहिन अवस्थामा पुगेको हो ।

ती टहराहरु अहिले हेर्दा फोहोर फाल्ने डम्पिङसाइट जस्तै लाग्छ । लागूऔषध प्रयोगकर्ता साझ परेपछि केन्द्रमा जम्मा भएर होहल्ला गर्दै बस्ने गरेकोले साँझमा बाटो हिँड्न समेत समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

उपज केन्द्रभित्र गएर थोरै समय पनि बस्न गाह्रो पर्छ । टहराभित्र सुँगुर, बाख्रा, कुखुरा, गाईभैसीको फोहोर मात्र नभई कण्डमका टुक्रा, लागुऔषधका खोल, बट्टा, सिसाहरुसमेत यत्रतत्र छरिएर रहेका छन् । केहि युवायुवतीले त्यसलाई लागुऔषध सेवन र अनैतिक कार्यको थलोसमेत बनाउने गरेको स्थानीयको भनाइ छ ।

तत्कालीन समयमा कृषि बजार बनीसकेपछि दुई हप्तासम्म सबै व्यापारीले आफ्ना सामान बजारमा राखेपनि त्यसलाई निरन्तरता दिनुको साटो व्यापारीले कटारीको मुख्य लाईनलाई बजारीकरण गरेपछि कृषिउपज केन्द्र ओझेलमा परेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले प्रयोगविहीन कृषि उपज केन्द्रलाई व्यवस्थित गरी प्रयोगमा ल्याउने नगरसभाले नीति अवलम्बन गरेको हुँदा चाँडै नै व्यवस्थित गरिने बताए । उनले कृषि बजार व्यवस्थित गर्ने, कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरी नगरपालिकाले नीति पारित गरिसकेको बताए ।

तीन वर्षअघि केन्द्र सञ्चालनमा ल्याउने तयारीकासाथ सरसफाइ, अतिक्रमण गरी बसेका सर्वसाधरणलाई उठाउने लगायतका काम भएपनि त्यसले निरन्तरता पाउन नसक्दा अझै प्रयोगमा आउन सकेको छैन् । भवन प्रयोगमा नआएपछि १० वर्षअघि केन्द्रको परिषर भित्र १२ घरपरिवार आफैले झुप्रो बनाएर बसेका थिए । कतिपयले गाईवस्तु बाध्ने गरेका थिए ।

व्यवस्थित बनाउने योजनाअनुरुप तीन वर्षअघि वस्ति हटाउन सशस्त्र प्रहरी वेस क्याम्प कटारीकोको सहयोगमा उनीहरुलाई अन्यत्र सारिएपनि त्यसको मर्मतसम्भार र उचित व्यवस्थापन गर्ननसक्दा समस्या अझ थपिएको स्थानीय शम्भु पोखरेल बताउँछन् । यसप्रति सम्बन्धित निकायले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

ईट्टाको गाह्रो र टिनको छानो लगाईएको टहरामा गाईवस्तु त सुरक्षित छन् । तर त्यहाँबाट फैलिएको दुर्गन्धले भने टहरा आसपास बस्नेहरु भने हैरानी खेप्न बाध्य भएको स्थानीय बताउँछन् ।

कृषि बजारलाई व्यवस्थित गर्ननसक्दा पहुँचवालाले उपज केन्द्रको जमीन अतिक्रमण गर्न थालेको स्थानीय सञ्चारकर्मी जिवनाथ दाहालले बताए । उनी भन्छन् ‘उपज केन्द्र व्यवस्थीत गर्न धेरै पटक जिल्ला कृषि विकास कार्यलय र कटारी नगरपालिकालाई भनेपनि खासै सुनवाई भएको छैन । यद्यपि, जनप्रतिनिधि निर्वाचित भएर आईसकेकाले बन्ने आशा गरेका छौ ।’

सगरमाथाको प्रमुख प्रवेशद्वारको रुपमा चिनिने कटारी बजारको कृषि उपज केन्द्रलाई व्यवस्थित गर्न सके ओखलढुङगा, खोटाङ र सोलुखुम्बुका कृषकहरुले उत्पादन गरेको कृषि सामग्रीलेसमेत बजार पाउने स्थानीय सन्जिव कार्की बताउँछन् । बजार व्यवस्थित गर्न पटक-पटक कार्यसमिति फेरीए पनि समस्या जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।

प्रयोगविहीन बनेको कटारीको कृषि उपज केन्द्र त एउटा उदाहरण मात्र हो । उदयपुरमा यस्तै बेल्टार, लेखगाँउ, ठानागाउँ लगायतका आधा दर्जन स्थानमा बनाइएका टहरा र गोदाम घर प्रयोगविहीन छन् ।

जसका कारण कृषि बजारलाई व्यवस्थित बनाउन गरिएको करोडौको लगानि बालुवामा पानी खन्याए सरह भएको स्थानीय सरोकार निकायहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment