Comments Add Comment

डोटीका सडकमा जोखिमपूर्ण यात्रा: जहाँ यात्रुले गाडी लैजान्छन्

८ असोज, डोटी । गाडी भन्ने बित्तिकै यात्रुहरुलाई ओसार पसार गर्ने साधन भनेर बुझिन्छ तर डोटीका ग्रामीण क्षेत्रमा यसको परिभाषा फेरिएको छ । यात्राको करीब करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई गन्तव्यसम्म पुर्‍याउँछन् धकेलेरै भए पनि ।

बुधबारदेखि आएको अबिरल वर्षाका कारण डोटीका ग्रामिण क्षेत्रका कच्ची सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ-ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । ठाउँ-ठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ ।

सडकको दुराबस्थाकै कारण गत २० गते राती डोटीको दिपायलबाट चवराचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ७ जना घाइते भए । बोगटान गाउँपालिका-६ गगुडा धारमा उक्त जीप सडकबाट करीव पाँच सय मिटर तल खसेको थियो । हिलाम्य सडकमा जीप चिप्लेर दुर्घटना भएको थियो ।

जिल्लाका अन्य ग्रामिण सडकहरुको अवस्था हेर्दा यस्तै भयानक दुर्घटनाको जोखिममा रहेका देखिन्छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलबाट आदर्श गाउँपालिकाको मौवासम्मको सडकमा सबैभन्दा बढी सवारी साधन चल्ने गर्छन् । उक्त सडकमा चल्ने बोलेरो जीपहरु आफै कम गुड्छन् भने यात्रुहरुले धक्का लगाएर बढी गुडाउनु पर्ने अवस्था छ । जम्मा २२ किलोमिटरको दुरीमा प्रतियात्रु पाँच सय रुपैयाँ भाडा लिने गरेका छन् सवारी धनिहरुले ।

गाउँ-गाउँमा सडकको पहुँच पुर्‍याउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै । तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकएको छैन । मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पुर्‍याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

२०७१ साल यता डोटीका ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनाका क्रममा ५१ जनाले ज्यान गुमाइसकेका छन् । २०७१ साल असोज २० गते बुडर-जोरायल सडक खण्डको कफलकट्टे भन्ने ठाउँमा ना ३ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २९ जनाको एकै चिहान भएको थियो । कच्ची सडकमा भएको दुर्घटनामध्ये यो सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।

नेपालीहरुको महान चाड बिजया दशमीका लागि घर बाहिर रहेकाहरु आफ्नो गन्तव्यमा पुग्न जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बिशेषगरी भारतमा काम गरेर फर्किएकाहरुले आउँदा सामान समेत ल्याउने भएका कारण भारी सहित पैदल हिँड्न गार्‍हो मानेपछि जोखिम मोलेरै भए पनि गाडीको यात्रा गर्दछन् । ‘सामान छ बोकेर जान सकिँदैन,’ डोटी आदर्श गाउँपालिका-४ का तुला बिष्ट भन्छन्, ‘सामान बोक्ने मान्छे पनि पाउँदैन त्यसैले गाडीमै जानु पर्ने बाध्यता छ ।’ उनी भाडा निकै चर्को भएको गुनासो गर्छन् ।

बिष्टको जस्तै गुनासो छ डोटी बोगटान गाउँपालिका-१ का नरेश मगरको । उनी भन्छन्, ‘कि त सडक काट्नै नहुने, काट्ने नै हो भने अलि स्तरीय बनाउनु पर्ने । यस्तो सडकमा यात्रा गर्नु आफ्नो बाध्यता भएको मगर बताउँछन् ।

सडकको दुरावस्थाले आफूहरुले ज्यान जोखिममा राखेर हिँड्नु परेको बताउँछन् डोटी आदर्श गाउँपालिका-४ का करबिर बिष्ट । उनी भन्छन्, ‘हिँडेर जान पनि अल्छी लाग्छ, त्यसैले जसो-जसो होला भनेर गाडीमै जान्छौं ।’ उनी गाडीमा बसेदेखि गन्तव्यमा नपुगेसम्म डरले मुटु काँप्ने गरेको सुनाउँछन् ।

जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरु पनि यस्तै जोखिमपूर्ण कच्ची बाटोमा हिँड्ने गरेको भएपनि सडक मर्मतमा उनीहरुको ध्यान नगएको बताउँछन् डोटी सायल गाउँपालिका-५ का तेज डुम्रेल । उनी भन्छन्, ‘आफै जोखिमपूर्ण यात्रा गरिरहेको पनि थाह छैन जनप्रतिनिधिहरुलाई ।’

डोटीका ग्रामिण कच्ची सडकहरुमा दिपायल-मौवा-डौड, दिपायल-चवाराचौतारा, सहजपुर-बिपीनगर बोगटान, बुडर-जोरायल, तल्कोट-धुर्कोट सडकहरुमा बढी यातायातका साधनहरु आउजाउ गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment