Comments Add Comment

ओलीको प्रतिवेदन भन्छ- कांग्रेस ह्रासोन्मूख, माओवादी ओरालो लाग्दै !

मधेसी दललाई गाली, राप्रपा र नयाँशक्तिबारे मौन

८ असोज, काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा ओलीले नेपालको राजनीतिक शक्ति सन्तुलनको विश्लेषण गरेका छन् ।

ओलीको प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ । प्रतिवेदनमा उनले नेपाली कांग्रेसलाई बाह्य शक्ति केन्द्रको सल्लाह अनुसार चल्ने ह्रासोन्मुख शक्तिका रुपमा विश्लेषण गरेका छन् । माओवादी केन्द्र पनि ओरालो लागिरहेको र निराश बनेर कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गरिरहेको ओलीले बताएका छन् ।

एमाले अध्यक्ष ओलीले मधेसकेन्द्रित दलहरु र जातीय समूहहरुलाई संविधान विरोधी बताउँदै उनीहरु कमजोर बनिरहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘कांग्रेस कमजोर हुनु लोकतन्त्रका लागि सकारात्मक’

एमाले अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनमा नेपाली कांग्रेसको चरित्र चित्रण गर्ने प्रयास गर्दै भनेका छन्- ‘इतिहासका खास खास कालखण्डमा लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेले पनि आज नेपाली काङ्ग्रेस एमालेप्रतिको प्रतिशोधी भावना, सत्तास्वार्थ, भ्रष्टता र राष्ट्रियताका प्रश्नमा अविश्वसनीय शक्तिका रुपमा देखा परेको छ ।’

ओलीको प्रतिवेदनमा कांग्रेसबारे थप व्याख्या गर्दै यसो भनिएको छ-

‘यसपटकको निर्वाचनको एउटा उल्लेखनीय विशेषता के हो भने आफूलाई देशकै पहिलो राजनीतिक शक्तिका रुपमा दाबी गर्दै आएको र अहिलेसम्मका निर्वाचन एक्लै लड्दै आएको नेपाली कांग्रेसले पहिलोचोटि नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाएको छ । एमालेसँग लड्न माओवादी लगायत विभिन्न दलको वैशाखी टेक्ने स्थितिमा पुग्नु भनेको नेपाली कांग्रेसको शक्ति क्षयीकरण र कमजोर आत्मविश्वासको उपज हो ।’

कांग्रेस कमजोर हुनु लोकतन्त्रका लागि सकारात्मक कुरा हो भन्दै प्रतिवेदनमा अगाडि भनिएको छ- ‘तत्कालका लागि उसको नेतृत्वमा भएको गठबन्धनले हामीलाई कतिपय ठाउँमा असजिलो पारे पनि पहिलो ठानिने शक्तिको यो ह्रासोन्मुख अवस्था नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक र शक्ति सन्तुलन श्रमजीवी जनताको पक्षमा सुदृढ बन्दै गरेको स्थितिको परिचायक हो ।’

‘माओवादी निरन्तर ओरालो लाग्दैछ’

एमाले अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र निरन्तर ओरालो लाग्दै जानु र उसमा नीतिगत विचलन देखिनु उसको चारित्रिक विशेषता भएको बताएका छन् ।

ओलीले प्रतिवेदनमा भनेका छन्- ‘नेकपा माओवादी-केन्द्रको नीतिगत विचलन र परिणाम निरन्तर ओरालो लाग्दै जाने स्थिति यस निर्वाचनको अर्को चारित्रिक विशेषता हो । राजनीतिक अवसरवाद, एमाले विरुद्धको प्रतिशोध र कुण्ठा एवं विगतका गल्तीहरुको सम्भाव्य परिणतिबाट जोगिने मनोवैज्ञानिक दबावका कारण आज माओवादी-केन्द्र नेपालको कम्युनिष्ट आन्दोलन र राष्ट्रिय हितका विरुद्ध विभिन्न शक्तिहरुबाट उपयोग हुने विन्दुमा पुगेको छ ।’

माओवादीले एमालेको विनासमा आफ्नो भविश्य देखेको ओलीले आरोप लगाएका छन् । प्रतिवेदनमा अगाडि भनिएको छ- ‘अहिले त्यो (माओवादी) पार्टी ‘एमालेको विकासमा आफ्नो आधार संकुचन हुने र एमालेको ‘विनास’बाट मात्र आफ्नो आधार फैलने’ निस्कर्षमा पुगेको देखिन्छ । उसले जुन बाटो लिएको छ, यसले उसलाई आगामी दिनमा झनै दिशाविहीन र कमजोर बनाउँदै लैजानेछ । माओवादी कार्यकर्ताहरुमा उत्पन्न व्यापक निराशा र पार्टी परित्यागले यिनै कुरालाई सङ्केत गर्छन् ।’

यति हुँदा हुँदै पनि माओवादीलाई ‘गलत बाटोमा जानबाट रोक्नुपर्ने’ ओलीको निश्कर्ष छ । उनले प्रतिवेदनमा भनेका छन्- ‘हामीले माओवादी अवसरवादका विरुद्ध वैचारिक सङ्घर्षलाई तीव्रता दिँदै त्यसलाई गलत बाटोमा जानबाट रोक्ने प्रयासलाई जारी राख्नुपर्छ ।’

‘मधेस केन्द्रित दलः बाह्य शक्तिलाई गुहार्ने’

एमाले अध्यक्षको प्रतिवेदनमा मधेस केन्द्रित दलहरुलाई बाह्यशक्तिको आड भरोसामा जातीय- क्षेत्रीय अतिवादी नारा लगाउने र तराईमा सामन्ती यथास्थिति कायम राख्ने शक्तिका रुपमा विश्लेषण गरिएको छ । उनीहरुको गलत प्रवृत्तिको विरोध गर्नुपर्ने ओलीको निश्कर्ष छ ।

तर, चुनावमा यस्ता शक्तिहरु कमजोर बनेको ओलीले निश्कर्ष निकालेका छन् । र, दस्तावेजमा भनिएको छ- ‘निर्वाचनमा अनुदारवादी शक्तिहरु निकै कमजोर देखिएका छन् ।’

ओलीको प्रतिवेदनमा मधेस केन्द्रित दलहरुबारे थप भनिएको छ- ‘मधेसकेन्द्रित दल तथा केही जातीय समूहहरुले लामो समय संविधानको विरोध र जातीयता-क्षेत्रीयतामाथि आधारित भएर राजनीति गर्दै आएका छन् । वाहृय शक्तिको आडभरोसामा, जातीय-क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित भएर सञ्चालन भएको उनीहरुको राजनीति जनतामा आएको जागरणसँगै क्रमशः कमजोर बन्दै गएको छ ।’

यी शक्तिहरुबारे पार्टीले लिनुपर्ने नीतिबारे सुझाउँदै एमालेको प्रतिवेदनमा अगाडि भनिएको छ- ‘यस्तो सङ्कीर्णताबाट मुक्त गर्न र राष्ट्र तथा जनताको हितमा सकारात्मक भूमिका खेल्न अभिप्रेरित गर्दै हामीले उनीहरुका सङ्कीर्णता, सामाजिक विद्वेष र अतिवादलाई प्रोत्साहन गर्ने प्रवृत्ति, तराईमा सामन्ती सामाजिक-आर्थिक-सांस्कृतिक यथास्थिति कायम राख्ने प्रयाश एवं नेपालको आन्तरिक मामलामा वाहृय शक्तिहरुलाई
गुहार्नेजस्ता गलत प्रवृत्तिहरुको विरोध गर्नुपर्छ ।’

देशभक्तसँग तालमेल गर्ने, तर ती को हुन् ?

एमाले अध्यक्ष केपी ओलीले वामपन्थी प्रगतिशील र देशभक्तहरुसँग सहकार्य गर्ने र उनीहरुसँग चुनावी तालमेलका लागि तत्काल छलफलसमेत अगाडि बढाउने नीति अघि सारेका छन् । तर, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरु कुन कुन हुन् भन्नेबारे ओलीको प्रतिवेदनमा कतै पनि उल्लेख गरिएको छैन ।

त्यसैगरी केपी ओलीले आफ्नो प्रतिवेदनमा कमल थापा नेतृत्वको राप्रपा, पशुपति समशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र विजयकुमार गच्छदारको फोरम लोकतानित्रक लगायतका दलहरुबारे केही बताएका छैनन् ।

गत स्थानीय चुनावमा एमालेले काठमाडौंमा कमल थापासँग र बिराटनगरमा फोरम लोकतान्त्रिकसँग चुनाबी तालमेल गरेको थियो । जिससको चुनावमा माओवादी र संघीय फोरमसँग पनि एमालेले तालमेलको नीति लिएको थियो ।

आगामी चुनावमा वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिसँग सहकार्य गर्ने बताए पनि उसले यस्ता शक्तिहरु कुन कुन् हुन भनेर किटानी गरेको देखिँदैन ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपा र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति लगायतका पार्टीहरुका सम्बन्धमा पनि एमालेको प्रतिवेदन मौन छ । विवेकशील साझा पार्टीका विषयमा पनि एमाले बोलेको छैन ।

एमालेको प्रतिवेदनमा कुनै पनि पार्टीको नाम नलिई अमूर्त भाषामा भनिएको छ-

‘राष्ट्र र जनताको वृहत्तर हित एवं राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, समानता र न्याय जस्ता आधारभूत प्रश्नमा वामपन्थी, प्रगतिशील र देशभक्त समूहहरुले विभिन्न सीमाका बाबजुद सकारात्मक भूमिका खेलिरहेका छन् । मुलुकमा राष्ट्रियता, अग्रगमन र संविधानका पक्षधर शक्तिहरुलाई थप सुदृढ गर्नु पर्ने समयको माग एवं थ्रेस होल्डका कारण राष्ट्रव्यापी जनाधार नभएका समूहहरुलाई अगाडि बढ्न गाह्रो पर्ने कानुनी प्रवन्धलाई समेत ध्यानमा राख्दै अब हाम्रो पार्टीले सबै सकारात्मक शक्तिहरुलाई वैचारिक, सङ्गठनात्मक र कार्यगत एकतामा आवद्ध गर्न विशेष पहल गर्नुपर्दछ ।’

यो पनि पढ्नुस् 

माधव नेपाललाई ओलीको जवाफ-मलाई देवत्वकरणको रुची छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment