Comments Add Comment

नाकाबन्दीले सिकायो पाठ, सम्प्रभुता जोगाउन कतारलाई गाईहरुको सहारा

भोजनमा आत्मनिर्भरताको बाटोमा कतार

१५ असोज, दोहा । सुन्दा अनौठो लाग्न सक्छ, आफ्नो सम्प्रभुताविरुद्धका जुनसुकै सम्झौताबाट बच्न कतारले राजनीतिक र गैरराजनीतिक मुद्दाहरुको सामना गर्नु परिरहेको छ । यद्यपि, त्यस्ता मुद्दाहरुबाट गाईहरुले बचाइरहेका छन्, यस मुलुकलाई ।

जम्मा २७ लाख जनसंख्या रहेको यस खाडी मुलुकका बासिन्दासामु आफ्नो खानुपर्ने आवश्यकता पूरा गर्न दीर्घकालीन योजनाहरु अगाडि बढाउनुको विकल्प छैन । भोजनका लागि अन्य देशमा निर्भर रहनुपरेको छ, उनीहरुलाई । विगतमा यस कमजोरीलाई उनीहरुकै विरुद्ध प्रयोग गरिएका प्रशस्त उदाहरण छन् ।

जब संयुक्त अरब इमिरेट्स -यूएई) र बहराइनले कतारको साथ छाडिदिए, स्थल सम्पर्क टुट्न पुग्यो । करिब तीन महिनादेखि जारी नाकाबन्दीले पाठ सिकाएको छ, यस देशका बासिन्दालाई । र, जतिसक्दो चाँडो आत्मनिर्भरताको बाटो पहिल्याउन लागिपरेका छन् ।

दोहास्थित बलाडना डेरी फार्ममा युरोप र अमेरिकाबाट आयातीत होलेस्टोन नश्लका ६ सय ५० भन्दा बढी गाई छन् । संकटका सहारा बनेका गाईलाई वातानुकुलित घरहरुमा राखिएको छ । ती सबैलाई हवाई मार्गबाट दोहा उतारिएको थियो ।

नोभेम्बरको अन्तिम दिनसम्ममा थप तीन हजार र सन् २०१८ को सुरुवाती चरणसम्ममा १० हजार होलेस्टोन नश्लका गाई दोहा आइपुग्ने छन् ।

उक्त डेरी फार्मका प्रमुख कार्यकारी अधिकृत जोन डोरेका अनुसार थप आयात हुने गाईहरुका लागि नयाँ भवन निर्माण धमाधम छ, सन् २०१७ को अन्त्यसम्ममा पुरा हुनेछ ।

डोरे भन्छन्, ‘बलाडना इलाकामा सबैभन्दा ठूलो रोटरी पार्लर स्थापना गरिनेछ, जहाँ सय गाईको दूध दुहुन सहज हुने सबै सुविधा उपलब्ध हुनेछ ।’

नयाँ निर्माण हुने संरचनाहरुमा डेरी फार्मिङ मात्र नभई बाच्छाहरुको पालनपोषणका लागि आवश्यक सबै सुविधा उपलब्ध हुनेछ । त्यसका लागि तीन अर्ब कतारी रियाल लगानी हुँदैछ ।

ती परियोजना पूरा भएपछि कतारमा सन् २०१८ मा दैनिक सय टन दूध उत्पादन हुन थाल्नेछ । र, जुन २०१८ सम्ममा १४ हजार गाईबाट दैनिक तीन सय टन दूध प्राप्त हुने आकलन छ ।

त्यसपछि दूग्धजन्य उत्पादनका लागि यूएई र बहराइनको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । उल्टै त्यस्ता पदार्थ निर्यात गर्ने हैसियतमा पुग्नेछ, कतार ।

नाकाबन्दी सुरु हुनुभन्दा अगाडिसम्म कतार यूएई र बहराइनसँग दूग्धजन्य पदार्थका लागि ८५ प्रतिशत निर्भर थियो । ‘भोजनमा आत्मनिर्भरताबारे कतारमा पहिलेदेखि नै सोच बन्दै आएको थियो,’ डोरे भन्छन्, ‘संकटका कारण यी परियोजनाले तीव्रता पाएका छन् । हामी अवसरको लाभ उठाउन उद्यत छौं ।’

गाई फार्म प्रमुख डोरे आयरल्यान्ड मुलका हुन्, जो धेरै वर्षदेखि कतारमा डेरी र कृषि व्यवसायमा आवद्ध छन् । र, यस क्षेत्रमा काम गरेको व्यापक अनुभव छ, उनीसँग ।

‘होलेस्टोन जातका गाई कतार ल्याएर पाल्नु व्यावसायिक हिसाबबाट ज्यादा लाभकारी हुनेछ,’ डोरे भन्छन्, ‘गाईले हरेक किलो खुराकका बदलामा दुई किलो दूध दिन्छन्, मानिसका घर-घरमा ताजा दूध र दूग्धजन्य पदार्थ पुग्छन् । र, यो हरेक हिसाबबाट जितको सौदाबाजी हो ।’

यस खाडी मुलुकमा प्रयोग हुने सागसब्जी सबै युरोपेलीलगायत मुलुकबाट आयात हुन्छन् ।

कतारजस्तो मरुभूमिमा खेतीपाती सम्भव छ । तर, अहिले सञ्चालनमा रहेका एक हजार चार सय कृषि फार्ममध्ये तीन सय वटा मात्र उत्पादनशील छन् । तिनमा बाह्रैमास खेती हुन्छ । यस देशको आवश्यकताको १० प्रतिशत मात्र पूरा हुन बाँकी छ, अब ।

दक्षिणी भेगस्थित कृषिफार्म एगि्रकोका प्रबन्ध निर्देशक नासर अल-खलफका अनुसार तीन वर्षयता उत्पादन बढ्दो क्रममा छ । ‘अपि्रलदेखि अक्टोबरसम्म मौसम ज्यादै गर्मी, शुष्क र आदर््र रहन्छ,’ उनी भन्छन्, ‘ती महिनामा खेती सम्भव छैन । तर, हाम्रो फार्ममा मौसमको कुनै अवरोधले खेतीलाई छेक्न सक्दैन ।’

१२ हजार वर्गमिटरमा फैलिएको उनको फार्ममा कृषिका अत्याधुनिक सबै वैज्ञानिक प्रविधि प्रयोग गरिएको छ । गि्रनहाउसमा टमाटर, लसुन, प्याजलगायत तरकारी फल्छन् ।

आगामी वर्ष आफ्नो उत्पादन दोब्बर बनाउने योजनामा छन्, अल-खलफ । तरकारी मात्र होइन, फलफूल पनि फलाउने योजना छ, उनको । मेवा उत्पादनले राम्रो परिणाम दिएको छ । हालसम्म सफलता नमिलेको अनार र सुन्तलाको उत्पादनमा हो ।

सरकारले किसानहरुसम्म नयाँ प्रविधि पुर्‍याउन पहल गरे केही पनि असम्भव नरहेको उनको बुझाइ छ । ‘आधुनिक प्रविधिको जानकारीका लागि फार्महरुबीच अनुभव आदानप्रदान गरिरहेका छौं,’ उनी भन्छन्, ‘आगामी केही वर्ष कडा मिहिनेत आवश्यक देखिएको छ । तर, निकट भविष्यमै कतारलाई भोजनमा आत्मनिर्भर बनाउन सक्षम हुनेछौं ।’

आगामी तीनदेखि पाँच वर्षमा मुलुकलाई सब्जी र डेरी उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेका छन्, व्यावसायिक कृषकहरु । तर, अझै उखु र मकै फलाउन सम्भव हुने छैन ।

उत्पादित सामग्री भण्डारण गर्न सरकारले एक स्थानीय कम्पनीलाई ठूला गोदाम निर्माणको ठेक्का दिइसकेको छ । त्यस्ता गोदाममा ३० लाख जनसंख्यालाई दुई वर्षसम्म पुग्ने सामग्री भण्डारण गर्न सकिनेछ ।

निश्चित छ, सन् २०२२ मा विश्वकप खेल्न र हेर्न आउने मानिसले स्थानीय उत्पादनकै उपभोग गर्न पाउने छन् । अन्य खाडी मुलुक र युरोपबाट आयातीय सामग्री बजारमा देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment