Comments Add Comment

चार खर्ब ३० अर्बको दशैं अर्थतन्त्र, शहरबाट गाउँतिर बहाव

प्रतिव्यक्ति औसत खर्च १५ हजार

१५ असोज, काठमाडौं । दशैंमा उपत्यका छाडेर घर जाने करिब २५ लाख मानिससँगै अर्थतन्त्र पनि शहरबाट गाउँतर्फ चलायमान हुने मानिन्छ । चलायमान रहनु अर्थतन्त्रका लागि सकारात्मक सूचक हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पाेखरेल भन्छन्, ‘दशैं यस्तो पर्व हो, जसले समग्र अर्थतन्त्र चलायमान मात्र बनाउँदैन, त्यसलाई गाउँतिर बगाउँछ ।’ उपभोग्य सामग्रीको व्यापक प्रयोगका कारण यस अवधिमा अर्थतन्त्र पनि उपभोगमा आधारित हुन्छ ।

‘दशैं र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशतबराबर उपभोग हुने गरेको अनुमान गर्ने गरिन्छ,’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन् ।

उनको तर्कलाई आधार मान्ने हो भने दशैं र तिहारमा मात्र करिब चार खर्ब ३२ अर्ब रुपैयाँबराबरको उपभोग हुन्छ । आर्थिक सर्वेक्षण ०७३/७४ अनुसार नेपालको वाषिर्क कुल राष्ट्रिय उपभोग २१ खर्ब ६१ अर्ब रुपैयाँबराबरको छ ।

करिब दुई करोड ८७ लाख जनसंख्यामध्ये दशैं, तिहारमा प्रतिव्यक्ति औसत खर्च १५ हजार रुपैयाँ हुन्छ । यस हिसाबले चार खर्ब ३० अर्ब ५० करोड रुपैयाँ दशैं र तिहारमा बजारमा पुग्ने अनुमान गर्न सकिन्छ ।

फेरिँदो जीवनशैली

दशैं र तिहारलाई लक्षित गर्दै भदौदेखि नै वस्तु आयात सुरु हुन्छ । र, त्यसको परिमाण करिब दुई खर्ब ३० अर्बको हुने गर्छ । नेपाली अर्थतन्त्र व्यापारमुखि बन्दै गएको सन्दर्भमा त्यस्तो आयात पनि उत्पादन नभई उपभोगका लागि हुने गर्छ ।

दशैं त्यसै पनि राम्रो लाउने र मिठो खाने पर्वका रुपमा चिनिन्छ । चौपाया व्यवसायी महासंघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार दशैंको सातादिनमा खपत हुने मासुका लागि मात्र करिब ७० करोड रुपैयाँका खसी बोका र भेडा च्यांग्रा आयात हुने गर्छन् ।

यस्तै, दशैं तिहारमा कपडाको व्यापार पनि वाषिर्क कारोबारको ४० प्रतिशतबराबर हुने गर्छ ।

केही वर्षयता आम नेपालीको जीवनस्तर फेरिँदो क्रममा छ । र, दशैंमा उपभोगको संस्कृतिमा पनि परिवर्तन देखिन थालेको छ । राम्रो लगाउन र मिठो खान दशैं नै कुर्नुपर्ने अवस्थामा सुधार भएसँगै दशैंमा उपभोगका नयाँ आयाम देखिन थालेका छन् ।

‘पहिले नेपाली आफैंले गरेको उत्पादनको लेनदनमा दशैं सीमित थियो । दशैंकै लागि कृषि उपज र खसी बोका पहिलेदेखि तयार पार्ने चलन थियो,’ पाेखरेल भन्छन्, ‘अहिले साथमा पैसा हुने जमात बढेसँगै उपभोगको संस्कृति पनि फेरिएको छ ।’

संस्कृति बन्दै घुमफिर

दशैं, तिहार अहिले चल सम्पत्ती जोड्नेदेखि घुमघाममा रमाउने पर्व बन्न थालेका छन् । घर र देशबाहिर रहेकाहरु चाड मनाउन फर्किने पुराना चलनलाई सपरिवार घुम्न निस्किने संस्कृतिले विस्थापित गर्न थालेको छ ।

लामो छुट्टि सदुपयोग गर्दै प्रतिव्यक्ति ६२ हजारदेखि सवा लाख रुपैयाँसम्म खर्च गरेर नेपालीहरु सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्डजस्ता गन्तव्यमा घुम्न निस्किन्छन् । भ्रमण संस्कृति १० वर्षे सशस्त्र द्वन्द्वका कारण सुरु भएको हो, जतिबेला मानिस गाउँघर पुग्न डराउँथे । त्यसयता पनि यसमा बढोत्तरी देखिएको छ ।

खासगरी हुनेखाने वर्गका लागि विदेश भ्रमण संस्कृतिको रस थप रसिलो बन्दै गएको छ ।

उनीहरुकै सिको मध्यम आयस्तर हुनेहरुले पनि गरेको देखिन्छ । विदेश जान नसक्नेहरु स्वदेशी गन्तव्यमै रमाउने गर्छन् । ट्राभल तथा टुर एजेन्सीहरुले यही मौकामा भ्रमणका विभिन्न स्किम ल्याउने गरेका छन् ।

रेमिट्यान्स, तलबभत्ता र किनमेल

दशैं, तिहारका यस्ता नयाँ आयामलाई वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्सले पनि सहयोग पुर्‍याएका छन् ।

रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा १० देखि २० अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र करिब ६ अर्ब ११ करोड रुपैयाँ पेश्की बुझ्छन् ।

सन् २०११ को राष्ट्रिय जीवनस्तर सर्वेक्षणले देशमा १० वर्षभन्दा माथिका ४८ प्रतिशत मानिस रोजगार रहेको देखाउँछ । प्रायजसो संस्थामा दशैंकै लागि भनेर अतिरिक्त तलब दिने चलन पनि छ ।

सरकारी कार्यालयहरुले भने अतिरिक्त तलबको पूरा एक महिनाको तलब भत्तास्वरुप दिने चलन छ । वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च छ ।

जीवनस्तर सर्वेक्षणले देशका ५६ प्रतिशत घरघुरीले रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख गरेको छ । राष्ट्र बैंकले नमुनाको रुपमा लिएको रेमिट्यान्स भित्र्याउने घरधुरीको सर्वेक्षणले पनि करिब १९ प्रतिशतको आम्दानी रेमिट्यान्स मात्र रहेको उल्लेख गरेको छ । रेमिट्यान्सका रुपमा भित्रिने रकममध्ये दैनिक उपभोगको लागि नै लगभग २४ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।

देश बाहिरका नेपालीले दशैं तिहारकै लागि असोज र कात्तिकमा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाउँछन् । यो दुई महिनामा भित्रिने रेमिट्यान्स वर्षभरिको १७ प्रतिशतबराबर हो । रेमिट्यान्स कम्पनीहरु पनि यसलाई अवसरकै रुपमा सदुपयोग गर्छन् । रेमिट्यान्स पठाउने वा उसका परिवारका लागि आकर्षक उपहार योजनाहरु ल्याउँछन् ।

चल सम्पत्तितिर मोडिँदै

दशैंमा चल सम्पत्ती जोड्ने परिपाटी पनि बढेर गएको छ । गाडी व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै भदौदेखि नै गाडी मेलाको आयोजना गर्नेदेखि दशैंमा छुटका अवसरहरु ल्याउने गर्छन् ।

व्यवसायी शेखर गोल्छाका अनुसार वर्षभरि हुने कुल सवारीको कारोबारमध्ये ३० प्रतिशत दशैंकै बेला हुने गर्छ । राष्ट्र बैंकका अनुसार भदौयता मात्रै भारतबाट नेपालमा २४ अर्ब रुपैयाँका सवारी आयात हुन्छन् ।

टीभी, मोबाइललगायत सामग्रीको खरिद पनि दशैंमा उच्च रहन्छ ।

फेरिएको आर्थिक अवस्थाका कारण पहिलेजस्तो ऋण काढेरै दशैं मनाउने अवस्थामा अन्त्य भएको पाेखरेलको तर्क छ ।

‘नेपालमा गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत जनसंख्यालाई दशैंले आर्थिक भार दिने गर्छ । यद्यपि, पछिल्लो समय समग्रमा नेपालीको जीवनस्तर वृद्धि भएकाले समाजलाई दशैंको आर्थिक भार कम बन्दै गएको छ,’ पाेखरेल भन्छन् ।

यद्यपि, दशैंमा कालोबजारी पनि मौलाएर जाने गरेको छ । त्यसका कारण यातायातमा सास्ती, दैनिक उपभोगका समानमा महँगीजस्ता कुरीति दशैंमा अझै मौलाउने गर्छ । यसले मूल्यवृद्धिलाई दबाब दिने गर्छ ।

नियन्त्रणका तमाम प्रयासका बावजुद अन्य महिनाको तुलनामा दशैंजस्ता चाडबाडमा मूल्यवृद्धि उच्च हुने सरकारी तथ्यांकले नै देखाउँछन् । राष्ट्र बैंकको पाँच वर्षको तथ्यांक हेर्ने हो भने असोजमा महँगी सातदेखि १० प्रतिशतको दरमा रहने गरेको छ ।

दशैंमा हुने आर्थिक गतिविधिको प्रभाव भने दुई पाटोबाट हेर्न सकिने नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा भन्छन् ।

‘दशैंमा बढ्ने उपभोगका गतिविधिले व्यापार घाटामा केही दबाब पर्छ नै,’ थापा भन्छन् ‘तर, नेपालको अर्थतन्त्रमा आयातको हिस्सा ६० र घरेलु उत्पादन ४० प्रतिशत मानेर हेर्दा यो चाडवाडमा हुने खर्चलाई नकारात्मक रुपमा मात्र हेर्नु सही हुँदैन ।’

दशैं तिहारजस्ता चाडपर्वले ग्रामीण उत्पादन र शहरको पूँजीबीच सेतुको काम गर्छन् । आयको वितरणमा पनि माध्यम बन्छन्, यस्ता अवसर । र, यो समय हुने रेमिट्यान्सको प्रवाहको कारण ग्रामीण अर्थतन्त्र उकासिने हुँदा यसका सकारात्मक प्रभाव पनि महत्वपूर्ण रहेको थापाको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment