Comments Add Comment

‘गन्तव्य वैकल्पिक शक्ति नै हो, बाटो थोरै मोडेको मात्रै हो’

वैकल्पिक राजनीतिक शक्ति बनाउँछु भनेर माओवादी केन्द्र छाडेका डा. बाबुराम भट्टराई फेरि एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा मिसिएका छन् । तीन दलबीच आगामी प्रदेशसभा र प्रतिनिधिसभामा चुनावी तालमेल गर्ने र लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यति मात्र होइन, भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी आगामी चुनावमा सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । भट्टराईले वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियान विर्सजन गरेका हुन् ? यसै सन्दर्भमा अनलाइनखबरले डा. भट्टराईसँग गरेको कुराकानीः

एमाले र माओवादीसँग पार्टी एकताको सहमतिसँगै नयाँ शक्ति बनाउने अभियान विसर्जन भयो होइन ?

नेपालमा नयाँशक्तिको ऐतिहासिक आवश्यकता छ । वैकल्पिक राजनीतिको विश्वव्यापी ट्रेन्ड पनि देखापरेको छ । त्यसैले वैकल्पिक राजनीतिक शक्ति निर्माणको हाम्रो लक्ष्य छ, त्यसमा हामी अहिले पनि दृढ छौं । तर, लक्ष्य प्राप्त गर्ने बाटो समयअनुकुल फेरबदल हुन्छ । एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन । त्यसैले अहिले हामीले बाटो थोरै मोडेकै हो ।

अर्को, तत्काल हामीले के पनि देख्यौं भने नेपालमा जुन राजनीतिक अस्थिरता छ, पटक-पटकको सरकार परिवर्तनले विकास र समृद्धिको जनचाहना पूरा हुन सकेको छैन । त्यसलाई समेत मध्यनजर गर्दै विचार मिल्ने वाम, प्रगतिशील, लोकतान्त्रिक, देशभक्त शक्तिहरुको बीचमा तालमेल गरेर जान सकियो भने स्थिर सरकार बन्छ । र, भोलिका निम्ति नयाँ वैकल्पिक राजनीतिक धार निर्माण गर्ने मार्ग पनि प्रशस्त हुन्छ । त्यहीअनुसार यो प्रयत्न गरिएको हो ।

तर, धेरैले अनेपक्षित मानेका छन् । यदि तपाईंहरुको यो प्राकृतिक गठबन्धन हो भने किन मानिसहरुले यसलाई स्वाभाविक रुपमा लिन सकेनन् ?

कुनै पनि ऐतिहासिक घटना अपेक्षित हुँदैन । इतिहास निर्माताहरुले अपेक्षित काम मात्र गर्दैनन् । धेरै कुरा अनपेक्षित नै हुन्छ । मुख्य कुरा अहिलेको ऐतिहासिक आवश्यकता हो कि होइन भन्ने हो । त्यसरी हेर्दा नयाँ संविधान बनेपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ, त्यसले आगामी ४/५ वर्षको राजनीतिक दिशा निर्देश गर्छ । त्यसक्रममा नयाँ ढंगले ध्रुवीकरणको प्रयत्न गर्नु स्वाभाविक हुन्थ्यो र त्यो नै भएको हो । यसलाई अनपेक्षित वा अदृश्य चलखेल भन्नु जायज होइन । यो राजनीतिक नेतृत्वले सुझबुझपूर्ण र दूरदर्शी तवरले गरेको निर्णय हो । त्यसैले यसलाई सहज मान्नुपर्छ ।

सूर्य चिन्ह धेरै भिजेको र आम जनताले ग्रहण गरेकाले त्यसलाई साझा चिन्ह बनाएर जानु भोलिको साझा पार्टीको निम्ति पनि उपयुक्त हुन्छ

तर, कुनै पूर्वसंकेत थिएन । सबै दशैं मनाइरहेका बेला तपाईंहरुले तालमेल मात्र होइन, एकता नै गर्ने घोषणा गरेपछि यसलाई अनेपक्षित रुपमा लिनु स्वाभाविक होइन र ?

यो आजको भोलि भएको सहमति होइन । विभिन्न प्रयत्न भइरहेका थिए । त्यसक्रममा यो ढंगले अगाडि बढ्दा सबैको सोचमा समानता भेट्यौं । खासगरी नयाँशक्तिको तर्फबाट भन्नुपर्दा यो पनि नयाँशक्ति निर्माणको वैकल्पिक बाटो हो भन्ने हामीले ठान्यौं र हामी इमानदारितापूर्वक नै यो प्रक्रियामा समाहित भयौं । हामीले अहिले चुनावी तालेमल र त्यसपछि पार्टी ध्रुवीकरणको नयाँ वैकल्पिक शक्ति निर्माणमा इमानदारितापूर्वक नै लाग्छौं ।

एमालेले पहिलो पार्टी हुनेछ, माओवादीलाई बलियो तेस्रो हैसियत सुरक्षित गर्नुछ र नयाँशक्तिलाई आफू जोगिनु छ । त्यसैले पार्टी एकता भन्ने मात्र हो, यो चुनावी स्वार्थको गठवन्धन हो भन्छन् नि ?

यो विल्कुल गलत हो । नेपालमा जे कुरालाई पनि शंकाको दृष्टिले हेर्ने र षडयन्त्रको सिद्धान्त आविष्कार गर्ने चलन छ । हामी त्यसभन्दा माथि उठ्नु पर्छ । यस्ता महान र ऐतिहासिक कामहरु देश र जनताको हितमा छन् कि छैनन् भनेर हेर्ने प्रमुख कुरा हो । त्यसरी हेर्दा वाम प्रगतिशील लोकतान्त्रिक देशभक्त शक्तिहरु एक ठाउँमा आउनु र भरपर्दो राजनीतिक विकल्प तयार गर्नु आजको आवश्यकता हो र त्यसअनुरुप नै यो बनेको हो । त्यसैले तीन दलबीच भएको सहमति क्षणिक चुनावी लाभका लागि मात्र भनेर बुझ्नु सही हुँदैन ।

भनेपछि एउटै कम्युनिस्ट पार्टी बन्छ ?

एउटा वैकल्पिक पार्टी भन्छु म । नाम त के राख्ने भोलि महाधिवेशनले टुंगो लगाउँछ । तर, अग्रगामी, प्रगतिशील, वामपन्थी, समाजवादउन्मुख शक्तिको निर्माण हुन्छ ।

यो चुनावलगत्तै हुन्छ ?

चुनावको क्रममा हामी सहकार्य गर्छौं । सम्भव भएपछि एउटै चुनाव चिन्ह बनाएर जान्छौं । चुनावलगत्तै पार्टीहरुको ध्रुवीकरण गरेर वैकल्पिक शक्ति बनाउने प्रयत्न हुन्छ ।

हिजो कांग्रेस, एमाले र माओवादीले समृद्धिको नेतृत्व गर्न सक्दैनन् । तीन ठूला दल भ्रष्टाचार, कुशासन र सत्ताको खेलमै डुबेका छन् भन्नुहुन्थ्यो । आज उनीहरुसँगै मिलेर नयाँ पार्टी बनाउँछु भन्दै हुनुहुन्छ । कसरी विश्वास गर्ने ?

परिस्थिति गतिमान हुन्छ । हिजो एउटा सन्दर्भमा जे परिस्थिति थियो, त्यही ढंगले विश्लेषण गर्‍यौं । परिस्थिति फेरिएपछि नयाँ ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ ।

त्यसरी हेर्दा जसलाई हामीले पाँच-स भनेका छौं, समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन-सदाचार, स्वाधिनता र समुन्नत समाजवादको लक्ष्यमा हामी अहिले पनि दृढ छौं । यो पुरा गर्न पुराना पार्टीहरुको समेत नयाँ ढंगको रुपान्तरण गरेर अगाडि बढ्न सकियो भने वैकल्पिक राजनीतिक शक्ति बन्छ भन्ने मलाई विश्वास छ ।

तर, हिजो तपाईं प्रचण्डलाई भ्रष्टाचारमा डुबेको, केपी ओली राष्ट्रिय एकता भाँड्न लागेकोजस्ता आरोप लगाउनुहुन्थ्यो । आज पार्टी एकताको सहमतिपछि सबै ठीक ?

अहिले चुनावी तालेमल र त्यसपछि पार्टी ध्रुवीकरणको नयाँ वैकल्पिक शक्ति निर्माणमा इमानदारितापूर्वक नै लाग्छौं

छलफलका क्रममा हामीबीच भ्रष्टाचार उन्मुलन गर्ने र सदाचार, सुशासन कायम गर्ने सहमति भएको छ ।

अर्को, देश संघीयतामा गइसक्यो, खालि यसलाई सम्बोधन गर्ने केही कुरा बाँकी छन् । त्यसैले संविधानलाई समयअनुकुल परिमार्जन गर्दै जाने सहमति पनि भएको छ । त्यस सन्दर्भमा हामी नयाँ ढंगले अगाडि बढेका छौं ।

बुढीगण्डकी, एनसेललगायत प्रकरणमा ओली र प्रचण्डमाथि प्रश्न उठाउनु भएको थियो । अब विगतमा जे भयो छाडौं र नयाँ ढंगले जाने भनेको हो ?

विगतमा कानुन र नियमविपरित भएका परिघटनाहरुको छानविन गर्ने र सच्याउने प्रयत्न हाम्रो जहिले पनि हुन्छ । यो मुद्दालाई हामीले छाडेका छैनौं । भनिन्छ, गल्ती गर्नु अपराध होइन, नसच्याउनुचाहीं अपराध हो । त्यसैले विगतमा गल्ती कमजोरी भएको छ भने त्यसलाई सच्याएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ ।

भनेपछि पार्टी एकता हुन्छ ?

म व्यक्तिगत रुपमा धेरै नै ढुक्क छु र मेरो पुरै प्रयत्न हुन्छ । ध्रुवीकरण गरेर वैकल्पिक शक्ति निर्माणको अभियानले नयाँ फड्को हान्न सक्छ भन्ने विश्वास बढेर गएको छ । यसका लागि पुरै जोडबल लगाएर अन्तिमसम्म प्रयत्न गर्छु ।

सूर्य चिन्हबाट चुनाव लड्ने त्यसकै सुरुवात हो ?

साझा चिन्हबाट लडौं भन्ने हो । अहिले निर्णय भइसकेको छैन तर एउटै चिन्ह लिएर जाँदा उपयुक्त हुन्छ भन्ने मेरो प्रस्ताव हो । सूर्य चिन्ह धेरै भिजेको र आम जनताले ग्रहण गरेकाले त्यसलाई साझा चिन्ह बनाएर जानु भोलिको साझा पार्टीको निम्ति पनि उपयुक्त हुन्छ भन्ने मेरो मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment