Comments Add Comment

लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले माग्यो १५ सिट

१९ असोज, काठमाडौं । बृहत लोकतान्त्रिक गठबन्धनबारे छलफल गर्न भन्दै कांग्रेसले बोलाएपछि राप्रपाका शीर्ष नेताहरु दोधारमा परे । एकातिर पार्टी फुटको पीडा, अर्कातिर अस्तित्व जोगाउन कुनै न कुनै गठबन्धनमा जोडिनुपर्ने बाध्यता । र, लोकतान्त्रिक गठबन्धनमै सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा देखिन्छन्, उक्त पार्टीका नेताहरु ।

सामान्य छलफलपछि राप्रपा अध्यक्ष कमल थापा १८ असोज साँझ नेताद्वय बुद्धिमान तामाङ र दीलनाथ गिरीलाई लिएर बालुवाटार पुगे ।

उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको विपरित बसे, उनको छेउमा कांग्रेस नेता विमलेन्द्र निधि थिए । गह्रुँगो मन लिएर बालुवाटार पुगेका थापाले आफ्नो वह पोखे, ‘अहिले लोकतान्त्रिक गठबन्धन बनाऊँ भन्दै हुनुहुन्छ । हामीले पहिलेदेखि नै यो भनेका हौं तर पार्टी फुटको पीडा बेहोर्नु पर्‍यो ।’

संविधान संशोधन विधेयकको पक्षमा भोट हाल्छौं भन्दाभन्दै पार्टी फुटाएको बताउँदै उनले अहिले के आधारमा लोकतान्त्रिक गठबन्धन बनाउने भन्ने प्रश्न गरे । थापाले त्यसो भनिरहँदा देउवा र निधिका साथै पशुपतिशमशेर राणा पनि मौन बसेका थिए ।

राणाले पार्टी फुटाएर नयाँ दल खडा गर्नुमा देउवा सरकारलाई पनि दोषी मानेको छ, राप्रपाले । राप्रपाका एक नेता भन्छन्, ‘पार्टी विभाजनको पीडा र अपमानजनक व्यवहार सम्झिने हो भने त हामी कांग्रेसतिर फर्किन पनि नहुने हो ।’

तर, राप्रपाको आफ्नै बाध्यता छ । राष्ट्रिय पार्टी हुन समानुपातिकमा तीन प्रतिशत मतसँगै प्रत्यक्षमा कम्तिमा एक सिट जित्नुपर्छ ।

राप्रपा विभाजनअघि दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा गरी प्रत्यक्ष निर्वाचित तीन सांसद थिए । उनीहरुले फेरि पनि जित्न सक्ने आकलन थियो । तर, तीनै जना राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकतिर लागिदिए ।

त्यसमाथि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनेपछि राप्रपा प्रत्यक्षतर्फ शून्य हुने खतरा छ । राप्रपाकै एक नेताका अनुसार सोही जोखिमका कारण उक्त पार्टी गठबन्धनको सहारा लिन चाहन्छ ।

तर, एमाले-माओवादी गठबन्धन बनाउन कस्सिएका नेताहरुले राप्रपासँग सल्लाह गरेनन् । राप्रपा अध्यक्ष थापा स्वयंले एमाले र माओवादी नेताहरुसँग ‘माया मारेको’ बताउँदै गुनासो गरेका छन् । एमाले-माओवादी गठबन्धनका नेताहरुले छलफल गरौंलासम्म भनेका छन् ।

यद्यपि, राप्रपा वाम गठबन्धनमा अटाउने सम्भावना कम छ । त्यसैले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा जाने बाटो नै उक्त पार्टीका लागि उपयुक्त बन्दै गएको छ । लोकतान्त्रिक गठबन्धनका लागि गृहकार्य गर्न गठित कार्यदलमा बुद्धिमान तामाङलाई राप्रपाले खटाउनुको कारण पनि त्यही हो ।

तथापि, राप्रपाको शर्त छ, गठबन्धनमा आफ्नो हैसियत प्रष्ट हुनुपर्छ । गठबन्धनका सम्भावित सदस्यहरु कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछि आफू रहेको बताउँदै राप्रपाले प्रतिनिधिसभामा १५ र प्रदेशमा २५ सिट दाबी गरेको छ ।

कार्यदल बैठकमा सबै पार्टीले आ-आफ्नो दाबी पेश गर्ने र कांग्रेसले उदारता देखाएको खण्डमा लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने राप्रपा नेता दीलनाथ गिरी बताउँछन् । भन्छन्, ‘अहिले चुनावी तालमेलका लागि शुरुवाती चरणमा छलफल भएको हो ।’

राप्रपाले मागेका जिल्ला

राप्रपाले प्रतिनिधिसभाका एक सय ६५ मध्ये १५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई गठबन्धनले सघाउनुपर्ने प्रस्ताव राखेको छ । स्रोतका अनुुसार झापा, मकवानपुर, बाँके, धनुषा, पर्सा, सिरहा, सल्यान, दैलेखलगायत जिल्लामा १/१ सिट राप्रपाले मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment