Comments Add Comment

नयाँ शहरको डीपीआरका लागि कम्पनी छनोट हुँदै

एक दशकमा सबै शहर तयार बनाइसक्ने लक्ष्य


२० असोज, काठमाडौं । सरकारले काठमाडौंमा बन्ने नयाँ चार आधुनिक शहर (स्मार्ट सिटी) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने कम्पनी छनोटको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

स्मार्ट सिटी निर्माणका लागि डीपीआर बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले टेन्डर गरेको थियो । प्रस्तावितमध्ये सबैभन्दा ठूलो शहर ‘इशान’को डीपीआरका लागि छनोट भएका पाँच कम्पनीको ‘सर्ट लिस्ट’ गरिएको छ ।

ती कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अनलाइनखबरलाई जानकारी दिए । यसबाहेक अन्य तीन साना शहरका लागि डीपीआर बनाउन गरिएको टेन्डर प्रक्रियाबाट योग्य कम्पनी सर्ट लिस्ट गर्ने काम सोमबार सकिने उनले बताए ।

प्राविधिक तथा आर्थिक प्रस्तावका आधारमा योग्य कम्पनीले डीपीआर निर्माणको जिम्मेवारी पाउनेछन् । सम्झौतालगत्तै उनीहरुले परियोजना प्रतिवेदन तयार गर्न सुरु गर्नेछन् । डीपीआरकै आधारमा शहरहरुमा बन्ने पूर्वाधार के–कस्ता हुने भन्ने टुंगो लाग्नेछ ।

सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ३० हजार रोपनीमा चार नयाँ शहर बसाल्दैछ । सरकारले चार वटै शहर निर्माण हुने क्षेत्रलाई समेटेर स्थानीय जग्गाको कित्ताकाटमा रोक लगाएको छ । ती क्षेत्रमा नयाँ भवन निर्माण गर्न पनि अनुमति दिइएको छैन ।

कहाँ–कहाँ बन्दैछन् ?

सरकारले उपत्यकामा सबैभन्दा ठूलो आधुनिक शरहका रुपमा ‘इशान’ लाई तयार गर्नेछ । काठमाडौंको पूर्वोत्तर क्षेत्रमा पर्ने यो शहर झण्डै एक लाख रोपनीमा फैलिनेछ ।

भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।

उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म रहने यो शहर भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकीककरण आयोजनासहितको क्षेत्रमा फैलिनेछ ।

अर्को आग्नेय शहर १० हजार रोपनीको हुनेछ । यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्नेछ । पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । उत्तरको सीमा भने अरनिको राजमार्ग हुनेछ ।

दक्षिणतर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्म यो शहरको सीमा तोकिएको छ ।

तेस्रो नैऋत्य शहर पनि १० हजार रोपनीको हुने प्रस्ताव गरिएको छ । ललितपुरको पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङमति १ भएर छम्पी जाने बाटो तथा वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ । पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको सैँबु गाविसको सीमासम्म शहर फैलने प्रस्ताव गरिएको छ ।

चौथो शहर ‘उत्तर’ १० हजार रोपनीमा फैलिनेछ । पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा तोकिएको छ ।

पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म उत्तर शहरले ओगट्नेछ । उत्तरमा सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिनेछ । दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुने गरी प्रस्ताव गरिएको छ ।

यस्त बन्नेछन् शहर

नयाँ शहरलाई काठमाडौंमै पहिलोपटक व्यवस्थित शहरीकरणको नयाँ अभ्यासका रुपमा अगाडि बढाइने सरकारले बताएको छ । जथाभावी घडेरी बनाएर बेच्ने परम्परा यी शहरमा हुने छैन ।

प्रशस्त खुला क्षेत्रहरु सिर्जना गरिनेछन् । साइलक ट्रयाकसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिइनेछ । सँगै खेल मैदान, पार्कलगायत आधारभूत शहरी पूर्वाधार रहने प्रमुख तिवारीले बताए ।

‘हामीले त इशान शहरमा एउटा तलाउ पनि बनाउनसक्ने देखेका छौं,’ तिवारीले भने, ‘एउटा व्यवविस्थत शहरमा हुनुपर्ने खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत सबै पूर्वाधार तयार हुनेछन् ।’

यी शहरमा सरकारले आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्याएर राख्नेछ । त्यसमा निजी क्षेत्रबाट सम्भाव्यताका आधारमा लगानी हुन सक्ने तिवारीले बताए ।

शहरलाई कुरुप हुन नदिन तारलाई अन्डरग्राउन्ड गर्ने, फोहोरमैला व्यवस्थापनको विशेष योजना बनाइने प्राधिकरणले बताएको छ ।

यी शहरमा पाँच लाख मानिस बस्न सक्ने छन् । निर्माणको लागत करिब पाँच खर्ब रुपैयाँ अनुमानित छ । योजनाअनुसार काम भए अबको १० वर्षमा सबै शहरमा तयार भइसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment