Comments Add Comment

‘मलाई क्षणिक स्क्यान्डलमा रमाउनु छैन’: वर्षा सिवाकोटी

'अमेरिकाको भिसा छ, तर जान मन छैन'

‘यसपटक मेरो दशैंमा टीका भएन’ । कुराकानीको सुरुवातमा ‘तपाइको दशैं कस्तो भयो’ भनेर सोध्दा नायिका वर्षा सिवाकोटीले जवाफ दिइन् । नेपाली चलचित्र क्षेत्रमा धेरै नायिका गसिप र स्क्यान्डलमै रमाएर चर्चामा छन् । वर्षा भने यो स्वभावबाट भिन्न छिन् ।

‘नाइ नभन्नु ल २’ डेब्यू नायिकालार्इ कहिलेकाहीँ लाग्छ, यही स्वभावले उनी ओझेलमा परिरहेकी छिन् । कस्तो लाग्दैछ त रंगिन नगरी ? वर्षा भन्छिन्-‘म एकदमै कामलाइ नै फोकस गर्ने कलाकार हुँ । क्षणिक चर्चामा रमाएर अर्थ रहन्न भन्ने मेरो सोच छ । यहाँ, एक जना नयाँ कलाकार आउँछन्, चलचित्रको प्रमोशनदेखि रिलिजको दिनसम्म रमाउँछन् अनी हराउँछन् । म त्यसरी रमाउन चाहन्नँ ।’

यी नायिकालाइ थाहा छ, काममा ध्यान नदिए यो माया नगरीमा केही पनि प्राप्त हुनेवाला छैन । यसैले त उनी अगाडि भन्छिन्-‘२-३ वटा चलचित्र चलेन भनेर निराश हुनु पर्दैन । सबैभन्दा ठूलो कुरा धैर्यता हो ।’ चलचित्र असफलताको छटपटीलाइ उनले धैर्यतासँग जोडिन् र मनलाइ शान्त बनाउने कोशिश गरिन् ।

बदलिदै सोच

वर्षाको सोच केही बदलिएको छ । चलचित्र चल्नका लागि मिहिनेत गरेर काम मात्र गरेर नहुने रहेछ । बजारमा आउने साना-साना कुराले कलाकारलाइ नोटिस गराइरहेको हुन्छ । बर्षालार्इ लाग्थ्यो, उनलाइ आएका चलचित्रका अफर उनको काम मन पराएर आएको हो । यो बाहेक उनले कहिल्यै पनि अरु कुरा सोचिनन् । तर, त्यस्तो होइन रहेछ । वर्षा भन्छिन्-‘बेला-बेलामा चर्चा हुने काम गर्नु पर्दोरहेछ भन्ने लाग्यो ।’

चलचित्र क्षेत्रमा २ वर्षा छन् । वर्षा राउत र वर्षा सिवाकोटी । २ वर्षा हुँदा मिडिया र दर्शकले धेरै तुलना गरिदिन्छन् । यो कुराले आफूलाइ घाटा भएको वुझाइ यी सुन्दरीको छ ।

तर, हिजोआज दुर्इ वर्षा फरक हुन् भनेर दर्शकले वुझ्न थालेका छन् । वर्षा थप्छिन्-‘आखिर त काम नै मुख्यकुरा रहेछ भन्ने लागेको छ ।’ आफू क्षणिक हाइलाइटमा आउन कहिल्यै पनि नचाहने कुरालार्इ भने वर्षाले बारम्बार दोहोर्‍याइन् ।

सिनेमा रिलिजको अघिल्लो रात

कलाकारका लागि सिनेमा रिलिजको अघिल्लो रात निकै पीडादायक हुन्छ । धेरै कलाकार यो पीडाबाट गुज्रने गर्छन् । किनकी, कलाकारको करिअरको फैसला हरेक हप्ताको शुक्रबारले गरिदिन्छ । वर्षाको हकमा पनि यो कुरा लागू नहुने कुरै भएन । ‘मलार्इ त निन्द्रा नै लाग्दैनँ । प्रमोशनको समयमा निकै मिहिनेत गरिएको हुन्छ । निकै उत्साह पनि हुन्छ । तर, चलचित्र रिलिजको २-३ दिन अगाडिदेखि निराश भइन्छ । झन्, बिहिबारको रातको त कुरै नगर्नुहोस्, साह्रै छटपटी हुन्छ ।’

चलचित्र ‘पशुपति प्रसाद’ रिलिज हुँदा उनका आँखा अनिदो बसेनन् । चलचित्रको बिहिबार नै प्रिमियर भएकाले राम्रो प्रतिक्रिया पाएकी वर्षा ढुक्कले सुतिन् । तर, चलचित्र ‘लप्पन छप्पन र कारखाना’ रिलिजको समयमा भने उनका आँखा निदाउन मानेनन् ।

‘म स्टारडमको लडाइमा छु भन्ने लाग्छ । यसको मत्तलब अर्थहिन चर्चा कमाएर बस्नुपर्छ भन्ने होइन । हो, मैले कुनै-कुनै ठाउँमा जोखिम मोल्न चाहिनँ । तर, अनावश्यक हाइपले खासै अर्थ राख्दैनँ ।’

फिल्म नचल्दा दुःख लाग्छ

हुनत, वर्षाले धेरै चलचित्रमा अभिनय गरिसकेकी छैनन् । तर, अभिनय गरेका केही चलचित्र नचल्दा उनी निकै दुखी भएकी थिइन् । चलचित्र ‘लप्पन छप्पन र कारखाना’ नचल्दा वर्षाले धेरै पटक सोचिन्-‘यहाँ कस्ता कस्ता चलचित्र त चलेका छन् । मेरो चलचित्र किन नचलेको होला ?’

‘लप्पन छप्पन’को छायांकन सकिदासम्म आफ्नो उत्साह निकै तल झरेको अनुभव छ यी नायिकाको । ‘कारखाना’ चलचित्रका लागि त उनी र नायक सुशिल श्रेष्ठले निकै मिहिनेत गरेका थिए । तर, चलचित्र प्रमोशनको क्रममा उनीहरु एक्लो जस्तो भए । निर्माणपक्षले साथ नदिदा वर्षा र सुशिल आफ्नै सुरमा प्रमोशनमा दौडिएका थिए । तर, त्यो दौडले खास अर्थ राखेन । चलचित्र असफाल भइदियो । यो कुराले आजसम्म पनि चित्त दुखाएको छ वर्षाको ।

स्टारडमको लडाइबाट बाहिरएकी छैन

माया नगरीमा स्टारडमको लडाइ सधै नै चलिरहन्छ । को नम्बर १, को अगाडि भन्ने लडाइमा केही नायिका भिडिरहेका हुन्छन् । के यो लडाइबाट वर्षा बाहिरिएकी हुन् ? तर, उनलाइ त्यस्तो लाग्दैन । वर्षा भन्छिन्-‘म स्टारडमको लडाइमा छु भन्ने लाग्छ । यसको मतलव अर्थहिन चर्चा कमाएर बस्नुपर्छ भन्ने होइन । हो, मैले कुनै-कुनै ठाउँमा जोखिम मोल्न चाहिनँ । तर, अनावश्यक हाइपले खासै अर्थ राख्दैनँ ।’

वर्षा तितो कुरा भन्छिन्-‘चलचित्र चल्नु अगाडि मिडियामा जति नै तारिफ भएपनि चलेपछि कलाकारको कामको मुल्यांकन भैहाल्छ । त्यसैले आफ्नो सम्बन्धको आधारमा अनावश्यक हाइप बनाएर क्षणिक रमझममा रुमल्लिनुको तुक छैन ।’

मिडियामा हरेक दिन समाचार आउनु मात्र सफलता होइन भन्छिन् वर्षा । वर्षाको भनाइ कोप्रति लक्षित थियो, त्यो उनले खुलाइनन् । तर, भनिन्-‘धेरै कलाकारको समाचारमा दर्शकको कमेन्ट हेर्नुहोस् त, त्यस्तो कमेन्ट आउनु भन्दा त पर्दा पछाडि नै रहनु वेश होइन र ?’

अमेरिका जान मन छैन

करिअर ओरालो लागिरहेको समयमा वर्षाको हातमा अमेरिकाको ५ वर्षे भिसा छ । धेरै कलाकार कलाकारितामा ओरालो लाग्दै गर्दा अमेरिकाको लागि ठूलै पापड पेल्छन् । तर, वर्षालार्इ अमेरिकाले सहजै पत्यायो ।

कतै, अमेरिका नै बस्ने सोच त छैन, वर्षा मुस्कुराइन् र भनिन्-‘जाने भएत त म भिजा लाग्ने वित्तिकै जान्थेँ । तर, मैले नयाँ चलचित्र साइन गरिसकेको छु । अहिले मेरो सोच नै सोही चलचित्रमा छ । एउटा कार्यक्रमका लागि कुरा आएपछि भिसा ट्राइ गरेको थिएँ, लाग्यो । तर, मलार्इ अमेरिका जानै मन छैन । अमेरिका भन्दा यूरोप गएर बस्न मन छ ।’ अमेरिकामा भिसा हातमा बोकेकी वर्षा यसलार्इ करिअरमा कुनै समय विकल्पको रुपमा लिन सक्ने बताउँछन् । तर, उनी अझै करिअरमा नै फोकस हुने सोचमा छिन् ।

चलचित्र नगरी तातो आगो ताप्ने क्षेत्र हो । सेलाउनेका पछाडि यहाँ कोही पनि कुद्न चाहन्नन् । ५० प्रतिशत हल्ला र ५० प्रतिशत कामले धेरैले दशक भन्दा लामो समय यहाँ राज गरेका छन् । वर्षा यो स्वभावबाट केही टाढा छिन् । ‘कामको मुल्यांकन हुन्छ’ भनेर अडिग रहेकी नायिकाको ‘धैर्यता’ नटुटोस्, हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment