Comments Add Comment

‘हवाइजहाज उडाउनभन्दा स्कुटी चलाउन डर लाग्छ’

आत्मविश्वासी पाइलटको मन्त्री बन्ने सपना

२३ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६० वर्षे इतिहासमा एक मात्र कर्मचारीलाई ‘स्वर्ण पदक’ दिएको छ । ती भाग्यमानी हुन्, पाइलट उद्धव घिमिरे ।

छोटो समयमा देखाएको उच्च कार्यकुशलताका लागि घिमिरेलाई निगमले उक्त सम्मान दिएको थियो, जसले उनको मनोबल अझ उच्च बनाइरहेकै छ ।

सन् २०११ मा क्याप्टेन बनेका घिमिरे ०१४ देखि निगम प्रवेश गरेका हुन् । सुरुमा अग्नि त्यसपछि सिम्रिक एयरलाइन्स हुँदै उनी निगम आएका थिए । लगत्तै चीन पुगेर ६५ दिनको तालिम लिए । स्वदेश फर्केर चीनमै बनेको वाई-१२ जहाज ‘कोइली’ उडाउन थाले ।

निगमसँग त्यतिबेला दुई वटा वाई-१२ जहाज थिए, कोइली र गौंथली । आठ महिनासम्म घिमिरे एक्लैले दुवै जहाजको भार काँधमा बोके । आठ महिनाको परिक्षामै उनी आफूलाई अब्बल सावित गर्न सफल भए ।

दुवै जहाज एक्ला नेपाली पाइलटले उडाउँदा पनि ‘अकुपेन्सी’ ८६ प्रतिशत पुग्यो । र, दुवै जहाज नाफामा गए ।

‘आठ महिनासम्म हरेक दिन उडान गर्ने म सायद नेपालकै पहिलो पाइलट हुँ,’ घिमिरे गर्वसाथ बताउँछन् । यस अवधिमा एक पटक पनि जहाज ‘डिले’ हुन नदिएर अर्को सफलता रचे, घिमिरेले ।

इन्धन आफैं मगाउँथे । यात्रीलाई छिटो जहाजमा चढाउन कर्मचारीलाई कराउँथे । समयमा नआउने यात्रीलाई विमानस्थलमै छाडेर उडे ।

‘एकचोटि समयमा नआएका ६ जना यात्री छाडेर उडेको थिएँ, व्यवस्थापनले मसँग जवाफ माग्यो,’ उनी भन्छन्, ‘तर, म टाइममा एकदम स्ट्रिक्ट छु । आफ्नै हाकिम सा’ब पनि ढिला आउनुभयो भने छोडेर उडिदिन्छु ।’

उनका लागि हाकिमहरु पनि उडानका क्रममा यात्री नै लाग्छन् ।

चिनियाँ जहाज ल्याउने सरकारी निर्णयको चर्को आलोचना भयो । ती जहाज काठमाडौं आएपछि पनि आलोचना कम भएन । क्याप्टेन घिमिरेलाई भने चिनियाँ जहाजको उडान राम्रो लाग्छ । भन्छन्, ‘ती जहाजमा जडित इन्जिन क्यानाडामा निर्मित टि्वनअटर जहाजका हुन् । जहाजका बढी मात्र चीनमा बनाइएको हो । चिनियाँ जहाज उड्नासाथ झर्ने भ्रम धेरैमा देखिन्छ । तर, जहाज भनेको चंगा होइन । यसको सिस्टम बलियो हुन्छ ।’

१८ सिटे चिनियाँ जहाजको भारवहन क्षमतामाथि प्रश्न उठाइँदै आएको छ । त्यसको कारण भने बेग्लै रहेछ । क्याप्टेन घिमिरे भन्छन्, ‘पहिले आएको कोइलीमा एयरबसका हेभी सिट छन् । त्यसैले भारवहन क्षमता कम भएको हो । पछि आएको गौंथलीमा कम तौलका सिट हालिएको छ, जसले टि्वनअटर जतिकै परफरमेन्स दिन्छ ।’

अहिले उनी काठमाडौंबाट पोखरा, भैरहवा र सिमरा उड्छन् । कोइलीले काठमाडौंबाट जाँदा र फर्किंदा १६ यात्रु बोक्छ । इन्धन बढी राख्नुपर्दा कहिलेकाहीँ यात्रु संख्या घटाइन्छ ।

एउटा समाचारले बदल्यो करिअर

पाइलट बन्ने उद्धवको सानैदेखिको इच्छा होइन । उनी त डाक्टर बन्न चाहन्थे ।

खोटाङको एउटा सरकारी बिद्यालयमा पढेका उनी एसएलसीमा जिल्ला सेकेन्ड भएका थिए । त्यसपछि डाक्टर बन्ने लक्ष्यका साथ काठमाडौं आएर दिपेन्द्र प्रहरी विद्यालयमा भर्ना भए । आईएस्सी सकेपछि नेम इन्स्टिच्युटमा एमबीबीएसको तयारी कक्षा थाले । त्यहाँ दुई वर्ष पढे तर ‘फ्री स्कलरसिप’मा नाम निकाल्न सकेनन् । त्यसपछि माइक्रोबायोलोजी लिएर त्रिचन्द्रमा बीएस्सी भर्ना भए ।

उनी बिएस्सी तेस्रो वर्षमा थिए । एक दिन अखबार पढ्दै गर्दा एउटा समाचारमा उनको आँखा पर्‍यो । समाचार थियो, नेपालमा पाइलटको अभाव । पाइलट पढेर आउनेले नेपालमा तुरुन्त जागिर पाउने समाचारमा उल्लेख थियो । त्यही समाचारले उनको सोच बदलिदियो । र, उनी पाइलट बन्ने ध्याउन्नमा लागे ।

बुझ्दै जाँदा फिलिपिन्समा पाइलट कोर्स सस्तो र सहज रहेको पत्ता लगाए । उनलाई २८ हजार डलर ‘तु’ चाहियो । तर, उनीसँग एक रुपैयाँ पनि थिएन । उनले घर पुगेर बुवालाई भेटे ।

‘बा, म पाइलट पढ्ने भएँ,’ उनले भने, ‘२०-२२ लाख लाग्ने रहेछ ।’

‘कहाँबाट ल्याउने यत्रो पैसा ?’ बुवाले जिब्रो टोक्दै सोधे ।

‘मेरो अंशको जग्गा छुट्याइदिनुस्, सबै बेचिदिन्छु,’ उनले भने ।

उनका बाबुले दुई छोरालाई अंशबन्डा गरिदिए र आफ्नो अंशमा परेको जग्गा १८ लाखमा बेचे । त्यसमा बाबुले अलिकति पैसा थपिदिएपछि उनी फिलिपिन्स उडे ।

फिलिपिन्स पुग्दा उनका सहपाठीहरुको खल्तिमा ६-७ हजार डलर थियो । उनीसँग भने ६-७ सय । पढाइ सकेर स्वदेश फर्किंदा उनीसँग डेढ सय डलर बाँकी थियो । पाइलट पढ्दा मितव्ययी बन्नु घिमिरेको बाध्यता थियो ।

स्वदेश फर्केर अग्नि एयरबाट करिअर सुरु गरे ।

जहाजभन्दा स्कुटी चलाउन डर

घिमिरेले जहाज उडाउने तरीका पढ्नुअघि साइकल पनि सिकेका थिएनन् । मोटरसाइकल र गाडी त टाढाको कुरा । ०७० सालमा आएर बल्ल उनले स्कुटी सिके । अहिले काठमाडौंमा यताउता गर्नुपर्दा स्कुटी प्रयोग गर्छन् ।

‘प्लेनभन्दा स्कुटी चलाउँदा डर लाग्छ,’ घिमिरेको अनुभव छ, ‘स्कुटी चलाउँदा आफ्नो गल्ति नभए पनि अर्कोले आएर हानिदेला कि भन्ने डर हुन्छ । प्लेन उडाउँदा हुँदैन ।’

उनी स्कुटी बढीमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा हाँक्छन् । जबकि, जहाज उडाउँदा दुई सय ५० किमि प्रतिघण्टाको रफ्तारमा हुन्छन् ।

कति सुरक्षित ?

धर्ती छाडेर आकाशको यात्रा गर्नुलाई कतिपयले निकै जोखिमपूर्ण ठान्छन् । नेपालजस्तो डाँडाकाँडाले ६८ प्रतिशत भूभाग ओगटेको मुलुकमा त यस्तो जोखिमलाई स्वाभाविक मान्न पनि सकिएला ।

घिमिरे यसलाई कसरी लिन्छन् ? भन्छन्, ‘संसारमा सबैभन्दा सुरक्षित सवारी भनेकै हवाईजहाज हो । तर, नेपालको भौगोलिक अवस्था, मौसम र विमानस्थलहरुको विकटताले गर्दा दुर्घटनाहरु भइरहेका छन् ।’

सँगै पढेका १६ जना साथीलाई उनले जहाज दुर्घटनामा गुमाइसकेका छन् । यद्यपि, धर्ती छाडेर आकाशमा उडिरहँदा उनी मनमा भय भन्ने चिज नै आउन दिँदैनन् ।

‘गाउँमा जन्मे-हुर्केको भएर हो कि के हो, म बढी नै साहसी छु,’ घिमिरे भन्छन्, ‘जहाजका दुवै इन्जिन फेल भए पनि सुरक्षित अवतरण गराउन सक्छु भन्ने आत्मविश्वास छ ।’

आकाशमै कविता फुर्छ

आकाशमा उडिरहँदा घिमिरे डाँडाकाँडा र हिमालका मनोरम दृष्य हेरेर थाक्दैनन् । मौसम सफा भएको बेला मोबाइलबाट तस्बिर पनि खिच्न छुटाउँदैनन् । साहित्यक चेतसमेत भएका यी पाइलटलाई यस्तोबेला कहिलेकाहीँ कविता पनि फुर्छ ।

‘आकाशमा फुरेको कवितालाई मनमै सजाएर राख्छु र फुर्सदमा सम्झेर कागजमा उतार्छु,’ उनी भन्छन् ।

जहाजमा उडिरहँदा को-पाइलटहरुसँग संवाद भइरहने तर व्यक्तिगत कुराकानी नहुने उनी बताउँछन् । भन्छन्, ‘मौसम, ट्राफिकलगायत विषय हुन्छन्, कुराकानीका । अरु सन्दर्भमा प्रवेश नै गरिँदैन ।’

गल्ति सच्याउने मौका नहुने कर्म भएकाले जहाज उडाउँदा एकदमै एकाग्र हुनुपर्ने उनको अनुभवले बताउँछ ।

कस्तो बेलामा जहाज चलाउन सबैभन्दा कठिन हुन्छ ? भन्छन्, ‘घनघोर वर्षा भएको बेलामा हामी अत्यधिक सतर्क हुनुपर्छ । त्यस्तो बेला जहाज धेरै ढलपल हुन्छ । यात्री आत्तिन्छन् । उनीहरु पाइलटलाई हेरिरहेका हुन्छन् । म उनीहरुतिर फर्केर हाँसिदिन्छु र ढुक्क हुन्छन् ।’

जहाज उडाउँदै गर्दा उनलाई जोमसोम र लुक्लाको आकाशबाट देखिने दृष्यले मन खिच्छन् । लुक्लामा त उनले १५ सयदेखि दुई हजार पटक ‘ल्यान्ड’ गरिसकेका छन् । उनको करिअरको पहिलो उडान नै काठमाडौं-लुक्ला थियो । सुरुवाति दिनमा उनी जोमसोम पनि उडे ।

‘ती गन्तव्यमा उड्दाजस्तो मज्जा कहिल्यै आएन,’ उनी भन्छन् ।

आकाश ढाकेर बसेका कुनै बादल स्थिर हुन्छन् भने कुनै चलायमान । कुन बादल बढी जोखिमयुक्त हुन्छ ? उनको छोटो जवाफ, ‘क्युमुलो निम्बस ।’ जलवाष्पयुक्त यो बादल चलायमान हुन्छ, जसलाई कालो बादल पनि भन्ने गरिन्छ । चट्याङ पार्ने र हावाहुरी चलिरहने यस्तो बादललाई पाइलटहरु सकेसम्म टाढै बस्न रुचाउँछन् ।

र, जहाजमा जडित मौसमी राडारले उक्त बादलको संकेत गर्नासाथ उडान ‘डाइभर्ट’ गर्छन्, पाइलटहरुले ।

क्याप्टेन घिमिरे भगवानमा आस्था राख्छन् तर मुर्तिपूजा गर्दैनन् । हरेक टेकअफ र ल्यान्डिङमा स्वच्छ मनले भगवानको पुकारा गर्छन्, ढोग्छन् अनि अगाडिको प्रक्रिया सुरु गर्छन् ।

उनी धुम्रपान र मद्यपानबाट विलकुलै टाढा छन् । अहिलेसम्म मदिरा चाखेका पनि छैनन् ।

सन्तुष्टीको पेशा, सुविधा बढ्ने आशा

डाक्टर बन्ने उद्देश्य लिएर काठमाडौं छिरेका उनको बाटो आकाशको दुनियाँमा प्रवेश गर्‍यो । अनायास छनोट गरेको करिअरप्रति घिमिरेमा रत्तिभर निराशा छैन, पूर्ण सन्तुष्ट छन् ।

‘डाक्टर बनेको भए पैसा त धेरै कमाउँथेँ होला तर यति आत्मसन्तुष्टी सायदै मिल्थ्यो,’ उनी सोच्छन् ।

वायुसेवा निगमको जागिरबाट घिमिरे सन्तुष्ट छन् । तर, निजी कम्पनीतिर सरकारीमा भन्दा बढी तलब, भत्ताको ‘अफर’ हुन्थ्यो भन्ने उनलाई थाहा छ ।

‘निजी एयरलाइन्समा काम गर्ने साथीहरुले मेरोभन्दा कैयौं गुणा बढी कमाएको देख्दा कहिलेकाहीं मन नलोभिने होइन,’ उनी भन्छन्, ‘तर, राष्ट्रिय ध्वजावाहकमा काम गर्नुको गौरव आफ्नो ठाउँमा छ र यसमा हुँदा भोलि एयरबसमा जान सकिन्छ भन्ने पनि हो ।’

घिमिरेका अनुसार उनले सय घण्टा उड्दा करिब एक लाख ८० हजार रुपैयाँ पाउँछन् । जबकि, निजी कम्पनीमा भएको भए १० लाख रुपैयाँभन्दा बढी पाउने थिए । ‘निगममा पाइलट, को पाइलट र क्याबिन क्रुहरु ठगिएका छन्,’ उनी भन्छन्, ‘यसलाई बदल्नुपर्छ, अन्यथा यहाँ पाइलटहरु टिकाउन गाह्रो पर्छ ।’

उनीसँगै निगम प्रवेश गरेको १४ मध्ये आठ जना निजी एयरलाइन्सतिर गइसकेका छन् । ‘यस्तै अवस्था रहिरह्यो भने हामीले पनि सोच्नुपर्ने हुन्छ,’ घिमिरे भन्छन् ।

मन्त्री बन्ने धोको

४५ वर्षको उमेरसम्म मात्र आकाशमा उड्ने योजना बनाएका छन्, घिमिरेले । त्यसपछिको उडान भने जमीनमै गर्ने उनको अर्कै योजना छ । ‘४५ वर्ष पुगेपछि यो पेसा छाडेर राजनीतिमा प्रवेश गर्छु,’ उनी भन्छन् ।

राजनीतिमा लागेर मन्त्री बन्ने अनि झण्डावाल गाडीमा कुद्ने उनको पहिल्यैदेखिको धोको रहेछ । ‘मैले जीवनमा धेरै दुःख गरेको छु, सानोमा घाँस काट्दा हँसियाले औंला काटेका दागहरु अझै छन्,’ उनी भन्छन्, ‘त्यसैले जसरी पनि एक पटक मन्त्री भएर झण्डावाल गाडीमा कुद्ने महत्वाकांक्षा छ ।’

‘देशको राजनीतिमा जब राम्रो मान्छेको खोजी हुन्छ, त्यसपछि मेरो पालो आउँछ’

मन्त्री बन्ने अवसर आएमा नागरिक उड्ययन मन्त्रालय रोज्ने उनी बताउँछन् । ‘म मन्त्री बन्ने भनेको भ्रष्टाचार गर्न वा सरकारी सुविधामा मोजमस्ति गर्नलाई होइन,’ घिमिरे भन्छन्, ‘काम गर्नलाई हो । नागरिक उड्ययन मन्त्रालय हाँक्न पाएँ भने म यस क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छु ।’

अहिलेसम्म उनको आस्थाको राजनीतिक दल छैन । तथापि, राजनीतिमा प्रवेश गर्ने बेलासम्ममा विद्यमान पार्टीमध्ये एउटा छान्ने उनी बताउँछन् । भन्छन्, ‘देशको राजनीतिमा जब राम्रो मान्छेको खोजी हुन्छ, त्यसपछि मेरो पालो आउँछ ।’

अहिले नै पनि आफूले जिम्मेवारी पाएमा निगममा आमूल परिवर्तन ल्याउन सक्ने उनको आत्मविश्वास उनमा छ ।

‘जसरी जनार्दन शर्मा र कुलमान घिसिङले विद्युतको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभयो, त्यसैगरी निगमलाई कायापलट गर्न म सक्छु,’ उनी भन्छन्, ‘मैले जिम्मेवारी पाएँ भने अहिले नै म कुनै पनि जहाज भुईंमा राख्नै दिन्न । जहाज उडायरै निगमलाई नाफामा लैजान्छु, खर्च धान्न ग्राउन्ड ह्यान्डलिङको जिम्मा आवश्यक हुने छैन ।’

यसरी सुध्रिन्छ निगम

राष्ट्रिय ध्वजावाहक भएर पनि निगम किन उँभो लाग्न सकेको छैन त ? क्याप्टेन घिमिरे सरकारलाई दोष दिन्छन् ।

‘ध्वजावाहक भनेर त्यत्तिकै राम्रो हुने होइन । सरकारसँग कुनै योजना छैन, कुनै भिजन छैन । अनावश्यक राजनीतिक हस्तक्षेप मात्र छ,’ उनी भन्छन् ।

निगम सुधारका लागि सबैभन्दा पहिले सरकारी नीतिमा परिवर्तन हुनुपर्ने उनी औंल्याउँछन् ।

‘सरकारले निगमलाई नियन्त्रणमा राख्ने होइन, नियमन गर्ने हो । जहाजहरु थप्नुपर्‍यो । पाइलटहरुको तलब बढाएर सक्षम पाइलट ल्याउनुपर्‍यो । जहाज भुईंमा राख्नु भएन । ग्राउन्ड ह्यान्डलिङले वर्षमा एउटा जहाज थप्छ । तलब खुवाउने जहाज उडाएर हो,’ उनले एक सासमा सुधारमा योजना बताए ।

तथापि, एउटा कर्मचारीले मात्रै चाहेर केही नहुने उनले बुझेका छन् । सबै विभागीय प्रमुखमा इमानदारिता भएमा प्रबन्ध निर्देशकको कामको गति ह्वात्तै माथि जाने उनले बुझेका छन् ।

सरकारले जहाजहरु थपिदिए र तिनको निर्वाध उडान भए निगम नाफामा जान धेरै दिन नलाग्ने उनको भनाइ छ । ‘चाँडै नै एयरबस-३३० आउँदैछ । यो हाम्रो अहोभाग्य हो । यसका लागि सुगत सर (एमडी सुगतरत्न कंसाकार) लाई धन्यवाद दिनुपर्छ,’ उनी भन्छन् ।

निगम भनेको बोइङको नेचरको एयरलाइन्स हो । एयरबस ल्याएर गलत गरियो पनि भनिन्छ नी ? प्रश्न भुईंमा खस्न नपाउँदै उनले जवाफ फर्काए, ‘१०-१५ वर्षअगाडि बोइङको समय थियो । अब एयरबसको समय छ । प्रविधि नयाँ आएको छ । कतिपय ठाउँमा बोइङ ल्यान्ड गर्न दिइँदैन । बोइङमा इक्विपमेन्ट छैन । एयरबसमा छ ।’

जहाज थोरै भएका कारण निगमले ‘स्मुथ्ली’ सेवा दिन नसकेको उनको बुझाइ छ । जहाज बिग्रिंदा स्पेयर पार्ट्स मगाउन लामो प्रक्रियामा जानुपर्ने अवस्थाले पनि अवरोध पुर्‍याएको भन्दै भन्छन्, ‘निजी एयरलाइन्सको जहाज बिग्रियो भने दुई घण्टामा बनेर निस्किन्छ तर हाम्रोमा धेरै दिन लाग्छ ।’

सरकारी व्यक्तिले नै हेपे

सरकारी उच्चपदस्थ व्यक्तिहरुले नै निगमलाई हेपिरहेको घिमिरेको गुनासो छ । राष्ट्रपति र प्रधानमन्त्रीदेखि मन्त्री र सचिवहरुले विरलै निगमका जहाजमा यात्रा गर्छन् ।

घिमिरेले आठ महिनामा जम्मा दुई जना मन्त्री मात्र बोक्ने मौका पाए । उनी भन्छन्, ‘उहाँहरु चढ्नुभयो भने पो के-के सुधार गर्नुपर्छ भन्ने महशुस गर्नुहुन्छ त ।’

निगमका जहाज निजी जहाजजसरी ‘स्टाटस सिक्वेन्समा’ विमानस्थलमा बस्नुपर्ने बाध्यता पनि उनलाई चित्त बुझेको छैन । ‘स्टाटस सिम्बोलमा बस्नु नपर्ने हो भने हाम्रो फ्लाइट एक मिनट पनि डिले हुँदैन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment