Comments Add Comment

उदय-मनिलाः मायाको मधुशाला

परिवार नै गीत संगीतमा रहेकाले घर संगीतकै मन्दिरजस्तो


उदय हार्मोनियममा रियाज गरिरहेका छन् । सरगम, अलंकार र रागका आलाप अनि तान छेडिरहेका छन् ।

उता, मनिला भान्सामा खाना तयार गर्दै मिठो स्वरमा गुनगुनाइरहेकी छन् ।

छोरी श्रेया कोठा सरसफाइ गर्दैछिन् र उनको गलाबाट पनि मिठो सुर गुञ्जिरहेकै छ ।

अर्को कोठामा छोरा सुयोग गिटारका कर्डस खेलाइरहेका छन् ।

यसरी पूरै घर संगीतमय भएको छ । म्युजिकल फेस्टिभलझैं संगीतका विविध धुनले परिवेश तरंगित भइरहेको छ ।

गायक उदय सोताङ र गायिका मनिला सोताङको घरमा प्रायः यस्तै माहोल हुन्छ । परिवारका चारै सदस्य संगीतमा लीन भएकाले उनीहरुको घर आफैंमा संगीतको मन्दिर बन्न पुगेको छ ।

मायाको मधुशाला

कुनैबेला उदय र मनिला थापाथलीको ‘रानी महल रेस्टुराँ’मा गाउँथे । डेरा थियो, वागबजारमा । डेरा र रेस्टुराँ आउजाउ गर्न उनीहरुले साइकल किनेका थिए ।

रात छिप्पिँदै गर्दा मनिलालाई पछाडि राखेर उदय साइकलको पाइडल मार्दै सुनसान सडक छिचोल्थे । उज्यालोमा भने मनिला त्यसरी साइकलको पछाडि बस्न लाज मान्थिन् ।

अचेल दरबारमार्गमा मनिला-उदयको आफ्नै स्वामित्वको रेस्टुराँ छ-मधुशाला रेस्ट्रो गजल एन्ड बार ।

सुगम संगीतका यी युगल जोडी अचेल यही मधुशालामा थरिथरिका परिकारसँगै संगीतको बहार ल्याउँछन् । घण्टाघरको घडीले मध्यरातको संकेत नगरेसम्म उनीहरुको घर फर्किने सुरसार हुँदैन । रेस्टुराँमा ग्राहक निथि्रएपछि, हरहिसाब बुझ्छन् । र, मध्यराततिर कारमा हुइँकिँदै घर पुग्छन् ।

मधुशालामै हामीले भेटेका थियौं, उदय सोताङलाई । सेतो फूल स्लिभ सर्ट, चुज जिन्स र लेदर सुजमा ठाँटिएका । चिनियाँले झैं पातलो तर लामो दाह्री/जुँगा नराखेको भए उनी तन्नेरी देखिँदा हुन् ।

हुलिया हेर्दा पत्याउन मुश्किल पर्छ, बिहे भएकै ३० वर्ष पुग्यो भनेर । तीन छोराछोरी ‘लाठे’ भइसके । जेठी छोरी श्रेयाको सांगीतिक वृत्तमा आफ्नै ‘नेम र फेम’ छ । श्रेयालाई चिनाउन ‘उदय र मनिलाको छोरी’ भनेर विशेषण जोडिरहनु पर्दैन ।

संगीतजस्तै सहयात्रा

‘माया नमार है…’

माया मार्ने त कुरै छैन, न उदयले न, मनिलाले । ३० वर्षे दाम्पत्यमा त्यस्तो कुनै तत्वले प्रवेश गरेको छैन, जसले उनीहरुबीच खटपट पैदा गरोस् ।

‘अहिलेसम्म पति-पत्नीको न भनाभन भएको छ, न ठूलो चर्काचर्की,’ उदय भन्छन् ।

उनीहरु ठुस्किएर ‘मौन व्रत’ बस्ने भनेको बढीमा तीन घण्टा हो । सम्बन्धको यो बेसुरा राग धेरैबेर टिक्दैन, दुवै समलयमा आइहाल्छन् । मायाको सुरमा मिठासको झंकार गुञ्जिन थालिहाल्छ ।

कहिलेकाहीं उदय साथीभाइसँग मस्त हुन्छन् । घर पुग्न अबेर हुन्छ । त्यही निहुँमा हो, मनिला ठुस्किने । तर, उनको रिस कति पातलो छ भने त्यो क्षणभरमै बिलाइहाल्छ । छोरा, छोरी सबै उल्टिएर गिज्याउन थालेपछि उनको रिस कसरी टिकोस् ?

मनिला कोमल, विनयी र सहनशील छिन् । घरमा सबैकी प्यारी आमा । परिवारलाई जोड्ने सूत्रधार । तीन छोराछोरी र पतिलाई सकेसम्म खुशी र सुखी राख्न खोज्छिन् । आफ्नै हातले मीठो-मसिनो खुवाउँछिन्, लुगाफाटो मिलाइदिन्छिन्, दुःख-बिमारमा रेखदेख गर्छिन् ।

उदयलाई चाहीं भनेजस्तो ठ्याक्कै नमिल्दा झनक्क रिस उठ्छ तर उनी पनि क्षणभरमै मत्थर हुन्छन् । हुर्केका छोराछोरी र पत्नीले उदयलाई कहाँ नबुझेका छन् र ? सबै ठीकठाक मिलाइहाल्छन् ।

‘त्यसरी रिसाउने मौका नै दिएका छैनन् हौ,’ उदय भन्छन्, ‘म त भाग्यमानी नि ।’

परिवारमा हाँसो, ठट्टा चलिरहन्छ । एकै ठाउँ बस्छन्, पार्टी गर्छन् । एकसाथ बियर/वाइन चियर्स गर्छन् । कहिले छोराका साथी आउँछन्, कहिले छोरीका अनि कहिले उदयका पनि ।

यही कारण घरमा उदासी छाउनै पाउँदैन । मनोमालिन्य र कटुताको गुञ्जायसै छैन । यसको कारण के पनि हो भने उदय-मनिला दुवै कडा र कठोर छैनन् । दुवैमा उग्र खालको क्रोध, आवेग र उत्तेजना छैन । संगीतझैं शान्त र मधुर सम्बन्ध । अनि त, एकअर्काप्रति गुनासो गर्नुपर्ने दिन नै आएन ।

फिटनेसको फल

‘मनिलाको कुनचाहीं स्वभाव उदयलाई मन पर्दैन त ?’ हाम्रो प्रश्न ।

‘अलि अल्छि छिन्, त्यत्ति हो,’ उदयले तत्कालै आफूलाई सच्याए, ‘अल्छि भए पनि आफूलाई मेन्टेन गरेकी छन् । २० वर्षयता ६० किलोभन्दा न बढेकी छन ?

उदय फिटनेसप्रति सचेत छन् । उनी पहिले जिम धाउँथे । अचेल फुटबल खेल्छन् । हालै मात्र फुटबल खेलेर जितेछन् पनि । विजेता आफैं, आफ्नै टिमलाई रेस्टुराँमा निम्तो गरेर रमाइलो गरेछन् । भलिबल होस् वा फुटबल, उनी खेल्न तम्सिहाल्छन् । यही कारण फिट एन्ड फाइन छन् ।

‘नजिकै जिम छ,’ उदय भन्छन्, ‘श्रेयाचाहिं बिहान-बिहान जिम जान्छिन्, मनिलालाई पनि जाऊँ भनेको टेरेकी छैनन् ।’

पुरानो एल्बममा मनिलाको तस्बिर छ । त्यो तस्बिरमा उनी ४६ किलोकी दुब्ली थिइन् । त्यही तस्बिर हेरेर छोराछोरी भन्छन् रे, ‘आमालाई अहिलेकै वेटमा सुहाउँछ । ज्यान घटाउनु पर्दैन ।’

‘आमालाई सधैं त्यही रुपमा देखिरहेर होला, उनीहरुलाई मनिलाको त्यस्तै ज्यान मनपर्छ,’ उदय भन्छन् ।

रियाजमा पनि मनिलालाई खासै जाँगर चल्दैन ।

‘जब रियाज गर्न बस्छिन्, घरि चिया बनाएर ल्याउँ त घरि यस्तो खानेकुरा ल्याउँ भन्दै उठ्ने बहाना बनाउँछिन्,’ उदय भन्छन् ।

उदयका लागि भने नियमित दिनचर्याकै एउटा हिस्सा हो, रियाज । जब बिहान उठ्छन, कालो चिया र बिस्कुट खाइसकेपछि रियाजमा बस्नैपर्छ । दुई घण्टा त रियाजमा बित्छ । त्यसपछि खाना खाने समय हुन्छ ।

एक से एक भान्से

उदय-मनिलाको परिवारमा भान्सेको कमि छैन । मनिला त घरकी ‘मास्टर सेफ’ नै हुन् । उनमा पाककलाको खास ज्ञान छ । थोरै मसला र तेलमा पनि स्वादिलो परिकार पकाउँछिन् । उनको त हात नै स्वादिलो, उनको पाकवानले परिवारको मन अघाउँदैन ।

श्रेया पनि कुकिङमा रुचि राख्छिन् र पोख्त पनि छिन् । उनको पाककला ‘अपग्रेटेड’ छ । टीएलसी च्यानल हेर्छिन् र थरिथरिका परिकार पकाउने अभ्यास गर्छिन् ।

घरमा भान्साको काम गर्ने आमा छोरी नै हुन्, आलोपालो । जगेडा भान्सेचाहीं उदय हुन्, उनी पनि कमजोर कुक होइनन् । परिआएको अवस्थामा डाडुपन्यु चलाउन पछाडि हट्दैनन् ।

उदयलाई बार्बिक्यु बनाउन खुब जाँगर चल्छ । पारिवारिक जमघटमा उनले बनाउने परिकार भनेको बार्बिक्यु हो । भेज, ननभेज दुवै । यसको कलाचाहीं उनले सिंगापुरमा बस्दै सिकेका हुन् ।

छोरा सुयोगचाहीं कन्टिनेन्टल परिकार बनाउँछन् तर आफ्नै लागि मात्र । बिहान ब्रेकफास्ट आफैं बनाउँछन् । खान्छन् र काममा हिँड्छन् । उनी बिटि्रस स्कुलका संगीत शिक्षक हुन् ।

घरमै नाई र टेलर

उदयलाई केस काट्न पार्लर वा सैलुन धाउनुपर्ने बाध्यता छैन । उनको केसमा अक्सर कैंची चलाउने छोरी श्रेयाले नै हो । श्रेया प्रोफेसनल हेयर डिजाइनरजस्तै छिन् । यो खुबी उनले बाबुबाटै सिकेकी हुन् ।

उदय कैंची चलाउनमा झन् माहिर छन् । परिवारमा कसैको केस काँटछाँट गर्नुपर्‍यो भने उनी आफ्नो खुबी देखाइहाल्छन् ।

‘उहिले गाउँभरिका साथीहरुको केस मै काटिदिन्थें,’ उदय भन्छन्, ‘मैले केस काटेको देखेर नाईहरु पो बिच्किन्थे ।’

कपाल काट्न मात्र होइन, उदय कपडा सिलाउन पनि माहिर । पहिले त घरमा कपडा सिलाउने मेसिन नै राखेका थिए । सामान्य लत्ताकपडा आफैं सिलाउँथे । अचेल नयाँ लुगा मोडिफाइ गरेर लगाउँछन् । सग्लो लुगा मोडिफाइ गरेपछि छोराछोरीसमेत लोभिन्छन् ।

मनिलाचाहीं हातैले कपडा सिलाउन खप्पिस छिन् । घरको कतिपय लुगा उनी हातैले सिलाइरहेकी हुन्छिन् ।

उदय छोरा, छोरी र पत्नीका लागि कपडा छान्न पनि माहिर छन् । उनको रोजाइमा सबैको चित्त बुझ्छ । कहिलेकाहीं छोरी श्रेयाले पनि लत्ताकपडा ‘गिफ्ट’ ल्याइदिन्छिन् ।

डाक्टर मनिला

मनिलाको अर्को विशेषता हो, सामान्य रोगको आफै उपचार गर्नु ।

‘दिदी पेट दुख्यो के खाने ? खाना रुचेन के गर्ने ?’

अचेल मनिलाले यस्तै प्रश्नको बढी जवाफ दिनुपर्छ । रेस्टुराँका स्टाफसमेत आफ्नो स्वास्थ्य समस्याबारे मनिलाबाट परामर्श लिइरहेका हुन्छन् ।

घरमा कसैलाई टाउको दुख्यो, घाँटी खसखस गर्‍यो भने अस्पताल या क्लिनिक जानै पर्दैन । मनिला उपचार गरिहाल्छिन् । उनलाई सानातिना रोग र त्यसको निदानको पूर्ण ज्ञान छ । कुन अवस्थामा के औषधी खाने ? उनलाई सोधे हुन्छ । घरेलु औषधीको मात्र हैन, एलोपेथिकको पनि उत्तिकै ज्ञान छ ।

‘सबै किसिमका औषधी नै बोकिरहेकी हुन्छिन् हौ,’ उदय भन्छन्, ‘केही भयो भने, फ्याट्टै यस्तो औषधी खानुपर्छ भनिहाल्छिन् ।’

मनिलाको यही गुण छोरी श्रेयामा सरेको छ । उनलाई पनि साथीहरु ‘डाक्टर’ नै भनेर बोलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment