Comments Add Comment

शरद गौचनको नासो- राष्ट्रिय नाचघर र काठमाडौं अदालत

महासचिव देउजा भन्छन्- कसैसँग उहाँको वैरभाव थिएन

२३ असोज, काठमाडौं । बानेश्वरमा आपराधिक समूहको गोली प्रहारबाट सोमबार दिउँसो हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको नासो अब जमलको राष्ट्रिय नाचघर र बबरमहलस्थित काठमाडौं जिल्ला अदालत मात्रै रह्यो भन्दा अत्युक्ति नहोला ।
डाँफे कन्स्ट्रक्सनका संस्थापक रहेका गौचन एक सफल निर्माण व्यवसायी थिए ।

काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरको भवन गौचनकै कम्पनीले निर्माण गरेको हो ।

त्यसैगरी काठमाडौं जिल्ला अदालतको नयाँ भवन पनि डाँफे कन्सट्रक्सनले नै बनाएको हो । यस्ता धेरै परियोजना गौचनको कम्पनीले सम्पन्न गरेको थियो ।

ठेकेदारी व्यवसायलाई चलखेल र फट्याइँको व्यवसाय मानिए पनि गौचन अहिलेसम्म कुनै ठूलो विवादमा तानिएका थिएनन् ।

गौचन हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका हुन् । मुस्ताङबाटै उनले निर्माण व्यवसायको सुरुवात गरेका थिए ।

काठमाडौं जिल्ला अदालत

उनको पारिवारिक पृष्ठभूमि निर्माण व्यवसायसँग सम्बन्धित होइन । तर, पनि लामो समय संघर्ष गरेर उनी व्यवसायमा स्थापित भएका थिए ।
सानो स्तरबाट थालेको निर्माण व्यवसायलाई उनले पछिल्लो समय फैलाउँदै लगेका थिए । उनको कम्पनीले पछिल्लो समयमा ठूला आयोजनाहरुमा ठेक्का पाएको थियो ।

गौचनको परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको छ । पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए । उनले त्यहाँ संस्थापक अध्यक्षका रुपमा काम गरेका थिए ।

गौचन परिवारसहित हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए । उनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । एक छोरी अमेरिका छिन् ।

राष्ट्रिय नाचघर

कसैसँग वैरभाव थिएनः देउजा

गौचनका सहकर्मीहरु उनी शान्त स्वभावको ब्यक्ति भएको बताउँछन् । उनी प्रजात्रान्त्रिक विचारधाराका व्यवसायी मानिन्छन् ।

उनी ०७१ को मंसिरमा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । उनले होमनाथ कोइराला र रबि सिंहलाई पछि पार्दै चुनाव जितेका थिए ।

यसअघि उनले ३ कार्यकाल महासंघको सचिव हुँदै महासचिवको भूमिका निर्वाह गरेका थिए । उनी एक कार्यकाल सचिव पनि बनेका थिए । केही समय उनी महासंघको सल्लहकारको भूमिकामा समेत थिए ।

महासंघका वर्तमान महासचिव रामशरण देउजा अध्यक्ष गौचन सरल प्रवृत्तिको भएकाले नै महासंघको नेतृत्वसम्म आइपुगेको बताउँछन् ।

‘मैले यति लामो सहकार्य गर्दा थाहा पाए अनुसार उहाँ कसैसँग व्यक्तिगत रिसईवी राख्नेखालको व्यक्ति हुनुहुन्थेन’ देउजाले अनलाइनखबरसँग भने, ‘संस्थागत रुपमा आएका मुद्दालाई उहाँ अध्यक्षको भूमिकामा समन्वयात्मक ढंगले सम्बोधन गर्नुहुन्थ्यो । कसैप्रति व्यक्तिगत इगो राखेको जानकारी मलाई छैन ।’

महासचिव देउजा आइतबार साँझ ८ बजेसम्म आफू गौचनसँगै बसेर संस्थागत छलफल गरेको बताउँछन् । घटना निकै दुःखद र निन्दनीय भन्दै उनले गौचनको योगदानको कदर महासंघले उच्च रुपमा गर्ने बताए ।

यो पनि पढ्नुहोस् 

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment