Comments Add Comment

झरना थापाः यसरी भयो निर्देशनमा इन्ट्री


चलचित्र ‘ए मेरो हजुर-२’ हिट भएपछि नायिका झरना थापाको निर्देशकीय क्षमताको पनि प्रशंसा हुन थालेको छ । यो चलचित्र झरनाका लागि एक प्रकारको जुवासरह थियो ।

२० वर्ष लामो चलचित्र यात्रामा नायिका भएर कमाएको प्रतिष्ठा र ख्याती दाउमा थियो । एउटै चलचित्रले सारा नेम र फेमलाई एकै झट्कामा समाप्त पारिदिने पीर पनि उनको मनमा थियो । धन्न त्यस्तो भएन । निर्देशन यात्रा पहिलो खुट्किलोमै उनी सफल भइन् । ‘ए मेरो हजुर-२’ सफलताको कथा झरनाले अनलाइनखबरसँग यसरी साटेकी छन्ः

निर्देशनमा इन्ट्री

म सधैं नायिका भएर काम गरिरहन्छु भन्ने थिएन । नायिकापछि कस्तो भूमिका निर्वाह गर्ने भन्ने सोच पलाएको थियो । चलचित्र क्षेत्रको अन्तिम विन्दु त निर्देशक नै हो भन्ने बोध थियो ।

राम्रा निर्देशकसँग काम गर्दा निर्देशनका शैली र तौरतरिकाहरु सिक्न थालें । छायांकन, सट लिने तरीका आदि प्राविधिक ज्ञानका साथै व्यावहारिक पक्षहरुको पनि हेक्का राख्न थालें ।

मनमा निर्देशक बन्ने सोच दरिलो बन्दै गयो । आफूलाई नायिकाको रुपमा अफर आएका चलचित्रको कथावस्तु निकै ध्यान दिएर अध्ययन गर्न थालें । कथा पढेरै मैले चलचित्र कस्तो बन्नसक्छ भन्ने अनुमान लगाउनसक्ने भएँ ।

कतिपय कथा पढ्दै जाँदा यसलाई बिनाअवरोध अगाडि बढाउने हो भने चलचित्र हिट हुनसक्छ भन्ने लाग्थ्यो । पटकथा र गीतको पक्ष बलियो भएमा चलचित्र राम्रो बन्छ भन्ने लाग्थ्यो ।

कतिपय चलचित्र त छायांकन अगाडि नै असफल हुन्छन् भनेर म अडकल काट्नसक्थें । तैपनि, मुख्य भूमिका नायिका नै भएकाले मेरो ध्यान अभिनयतिरै केन्द्रित हुन्थ्यो । कतिपय चलचित्र असफल हुन्छन् भन्ने थाहा पाएर पनि काम गरेकी छु । कतिपय चलचित्रमा त पैसाले पनि काम गथ्र्यो ।

अन्ततः एक दिन ‘ए मेरो हजुर-२’मार्फत् निर्देशनमा इन्ट्री गरियो ।

कथाको कथा

‘ए मेरो हजुर-२’ बनाउने निधो गरेपछि हामीले दुई वटा कथावस्तु पढिसकेका थियौं । तर, दुवै चित्त बुझिरहेका थिएनन् । तिनलाई हामीले रिजेक्ट गरेका थियौं । यसरी दुई वटा कथा च्यातेर मेरो निर्देशनमा इन्ट्री भएको थियो ।

एकदिन हरिहर अधिकारीजीले एक लाइन कथा सुनाउनुभयो, मलाई निकै मज्जा लाग्यो । हरिहरजीले सुनाएको कथाले मन छोएपछि त्यसमै काम गरिएको हो ।

हामीले जम्मा आठ महिना मात्र यो चलचित्रका लागि वर्कआउट गरेका हौं ।

नायक/नायिकाको खोजी

चलचित्र ‘डि्रम्स’ रिलिज भएपछि नायिका साम्राज्ञीको अभिनय राम्रो लाग्यो । अभिनयमा पनि भर्सटायल, लुक्स पनि सुन्दर । मैले ‘ए मेरो हजुर-२’मा पनि साम्राज्ञीलाई लिने सोच बनाएँ । साम्राज्ञीलाई चलचित्रका लागि कन्भिन्स गराउन गाह्रो भएन तर भेट्न केही गाह्रो भयो ।

सुरुमा अरुमार्फत् कुरा चलाउँदा उनले फोन नउठाउने, रेस्पोन्स नगर्ने गरिरहेकी थिइन् । पछि मैले आफैं नम्बर खोजेर उनकी आमालाई फोन गरें । साम्राज्ञीलाई भेटेर गीत र कथावस्तु सुनाउनेबित्तिकै उनी काम गर्न तयार भइन् ।

नायकका हकमा मलाई चकलेटी र लुक्स राम्रो भएको केटो चाहिएको थियो । मैले सलिनको डान्स फेसबुकमा हेरेको थिएँ । चकलेटी अनुहार भएको खण्डमा अभिनय त म वर्कसपबाट पनि सिकाउँछु भन्ने लागेको थियो । सलिनले मैले सोचेभन्दा राम्रो काम गरे ।

रिलिज हुनुअघि

बिहीबार चलचित्रको पि्रमियर सो थियो, शुक्रबारदेखि रिलिज हुँदै थियो । पि्रमियरमा सबैले ‘चलचित्र राम्रो छ’ भनेर प्रतिक्रिया दिनुभयो । मख्ख त थिएँ नै । तर पनि, आफन्त, साथीभाइले दिएको प्रतिक्रिया कतै नक्कली त होइन भन्ने डर पनि थियो । बेलुकी घरमा खाना खाएर विस्तारामा पल्टिँदा भुसुक्कै निदाएँछु ।

शुक्रबार बिहान साढे सात बजेतिर उठेपछि पो मनमा डर पलाउन थाल्यो । हलमा मान्छे आए कि आएनन् ? कतै चलचित्र नराम्रो भयो भन्ने कमेन्ट त आइरहेको छैन ? भन्ने पीर मनमा पलाएको थियो । चलचित्रलाई लिएर अरु त्यस्तो प्रेसर त थिएन । २० वर्षमा नायिकाको रुपमा कमाएको प्रतिष्ठा र प्रख्याती गुम्ला कि भन्ने डर थियो । दर्शकले मैले निर्देशन गरेको चलचित्र मन पराइदिनुभयो, म उत्साहित भएँ । निकै खुशी छु ।

अबको सोच

म फेरि पनि अर्को चलचित्र बनाउनेछु । अहिले नै यस्तो बनाउने भन्ने सोचले आकार लिइसकेको छैन । चलचित्र निर्देशनमा अब्बल भएँ भन्ने पनि लागेको छैन । तैपनि, बक्स अफिसमा सफल भएँ, यसले नै मलाई हौस्याएको छ । यसभन्दा पनि उत्कृष्ट चलचित्र बनाउने सोच छ । पक्कै पनि दर्शकलाई निराश बनाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment