Comments Add Comment

रेश्मालाई नाटकजस्तो लाग्छ ‘भष्मे डन’को व्यवहार

घरमा पनि सिनेमाकै भूमिकाको रिहर्सल

आकाशको बादलजस्तै उनको मनोदशा छिन-छिनमा बदलिइरहछ ।

कहिले उनी उरेन्ठेउलो युवकजस्तै उटपट्याङ गर्छन्, कहिले कुनै दार्शनिकझैं गम्भीर देखिन्छन् । कहिले भिक्षुजस्तै शान्त एवं सौम्य देखिन्छन्, कहिले महा-जड्याँहा जस्तै लथालिंग हुन्छन् ।

यस्तो हालतमा देख्दा दुई वर्षअघि विवाह गरेकी पत्नीलाई अनौठो लाग्नु स्वाभाविकै हो ।

‘अहिलेचाहिँ उनले पचाउन थालिन्,’ कलाकार विपिन कार्की भन्छन्, ‘मेरो आनीबानी उनलाई सबै थाहा भइसक्यो ।’

यो उनको स्थायी बानी भने होइन । बहुरुपी मुद्रा त चलचित्रको भूमिका अनुसार बदलिरहन्छ । चलचित्रमा जस्तो क्यारेक्टर पाउँछन्, त्यसलाई उनी निजी जीवनमा पनि अभ्यास गरिरहेका हुन्छन् ।

बाटोमा हिँडिरहेको बेला होस् या किनमेलमा गएको बेला, उनी आफ्नो भूमिकाकै मुद्रामा प्रस्तुत भइरहेका हुन्छन् । कहाँसम्म भने घरभित्र पत्नीसँग पनि उनी बन्न लागेको नयाँ चलचित्रकै भूमिका रिहर्सल गरिरहेका हुन्छन् ।

पशुपतिप्रसादको ‘भष्मे डन’ बनिरहँदा उनको घरमा विपिन होइन, भष्मे डन’ हाबी हुन्थ्यो । छड्केको ‘विन्दु’ बन्दा पनि त्यस्तै ।

सामान्य दिनमा समेत विपिन आफूले भेटेका, देखेका, संगत गरेका व्यक्तिको आवाज, हाउभाउ, हुलिया टिप्छन् । त्यसलाई फ्युजन गरेर एउटा ‘सग्लो पात्र’ तयार गर्छन् । र, त्यही पात्रमा आफूलाई रुपान्तरण गर्ने अभ्यासमा हुन्छन् । ठीक त्यहीबेला हो, पत्नीले उदेक मान्ने । पतिले ‘नाटक’ गरिरहेका हुन्’ भन्ने पत्नीलाई थाहा हुँदैनथ्यो अनि उनी दिक्क मान्थिन् ।

अहिले भने विपिनको बहुरुपी हाउभाउ घरमा सामान्य भएको छ । उनको मुड चेन्ज हुँदा पत्नी ठान्छिन्, ‘बुढाले नाटक गरिरहेका छन् ।’

‘कहिलेकाहीं त मेरो यथार्थ भावलाई पनि उनी नाटक नै ठान्छिन्,’ विपिन भन्छन् ।

कहिलेकाहीं विपिनलाई रिस उठ्छ । पत्नी सोच्छिन्, बुढाले रिसाउने क्यारेक्टर पाएछन् । कहिले विपिन मिजासिलो हुन्छन् । पत्नी सोच्छिन्, बुढाले सालिन भूमिकामा अभिनय गर्ने भएछन् ।

अफस्क्रिन केमेस्ट्री

भष्मे डनलाई पक्रिन मुश्किल पनि छैन, असम्भव पनि छैन ।

भक्तपुर कौशलटारको एउटा फ्ल्याटमा विपिन र पत्नी रेश्मा कटुवाललाई भेट्न सकिन्छ ।

बिहेअघि विपिनको मनमा नलागेको होइन, कतै बिहे गरेपछि करिअरमा असर गर्ने हो कि ?

तर, त्यस्तो भएन । बरु फलिफाप पो भयो । संयोग पनि कस्तो भने बिहेलगत्तै उनले ‘पशुपतिप्रसाद’मा अभिनय गरे । त्यसैबाट ‘भष्मे डन’को चर्चा पाए । लगत्तै उनले केही यस्ता फिल्म पाए, जसबाट उनले नयाँ-नयाँ चरित्रलाई जन्म दिए । ती चरित्र गजबले रुचाइयो पनि ।

जब कुनै स्क्रिप्ट हात पर्छ, त्यसबारे विपिनको पहिलो छलफल रेश्मासँगै हुन्छ । रेश्माले सुझाव दिन्छिन्, के गर्ने/के नगर्ने भनेर । यसले उनलाई निर्णय गर्न सजिलो भएको छ ।

‘अहिले त कुनै स्क्रिप्ट आयो भने पहिला पढ्ने उनैले हो,’ विपिन भन्छन्, ‘उनले चित्त बुझाएमा म अगाडि बढ्छु ।’

उनीहरुका सन्तान छैनन् । तत्काल त्यसको योजना पनि बनाएका छैनन् ।

विपिन र पत्नी रेश्माको धेरै स्वभाव मिल्छ । नमिल्ने एउटै स्वभाव भनेको रेश्मा व्यायाम गर्न अल्छि मान्छिन् ।

बिहान सबेरै उठ्ने विपिनको बानी छ । उठेपछि फ्रेस हुन्छन्, चिया पकाउँछन् । पत्नीलाई ओछ्यानमै चिया टक्र्याउँछन् । अनि व्यायाम गर्न थाल्छन् । पत्नी भान्सामा खानेकुरा तयार गर्न थाल्छिन् ।

व्यायामपछि नुहाइ-धुवाइ गरेर विपिन पनि भान्सामा पुग्छन् । उनीहरुको चलन छ, दुवै मिलेर खाना पकाउने । खाना पकाउन दुवैलाई आउँछ, जाँगर पनि चल्छ । भाँडा वर्तन सफा गर्ने काम भने पत्नीकै भागमा ।

‘भाँडा माझ्नचाहिँ मलाई अलि अल्छि लाग्छ,’ विपिन भन्छन् ।

रेश्मालाई माछामासुमा त्यति रुची छैन । उनकै संगतले विपिनलाई पनि माछामासुको स्वाद खल्लो लाग्न थालिसक्यो । खानपानपछि कोठा सफा गर्ने, लुगा धुने सबै काम उनीहरु एकसाथ गर्छन् ।

वाइन अनि रोमान्टिक साँझ

दुवैको प्रयास हुन्छ, दाम्पत्य जीवनलाई सकेसम्म सुखमय र यादगार बनाउने । यसका लागि उनीहरु के पो गर्दैनन् । कहिले साँझ कुनै रेस्टुराँमा मीठो परिकारको स्वादमा रमाउँछन्, कहिले बाइकमा हुइँकिँदै टाढा-टाढासम्म चक्कर मार्छन् । र, कहिले आफ्नै घरमा वाइन भरिएको गिलास उठाएर चियर्स गर्छन् ।

‘हामी एकदमै रोमान्टिक छौं,’ विपिन भन्छन्, ‘एकअर्कासँग रमाउने, खुशी हुने बहाना खोजिरहेका हुन्छौं ।’

पति-पत्नीमा यदाकदा मनमुटाव त हुन्छ नै । तर, ठाकठुक लामो समय टिक्दैन । पत्नी रिझाउने कला पेश गरिहाल्छन्, विपिन । ‘उनी रिसाइरहेकी हुन्छिन्,’ विपिन भन्छन्, ‘कहिले जोक गरेर हँसाउँछु, कहिले एक्टिङ पनि गरिदिन्छु ।’

फकाउने अर्को तरीका पनि रहेछ । पत्नी रिसाएको थाहा पाएपछि विपिन लुक्छन् र फोन गरेर ‘आफू केही दिन बाहिर गएको’ सुनाउँछन् । रेश्माले केहीबेर पत्याउँछिन् । खिन्न हुन्छिन् ।

केही छिनमै विपिन पत्नीको अगाडि अप्रत्यासित रुपमा प्रकट हुन्छन् । पत्नी, मख्ख । बुढाको मायालु हर्कत देखेपछि रेश्माको रिस पग्लिन समय लाग्दैन ।

माटोको माया

विपिनलाई माटोको सुगन्ध मन पर्छ । माटोसँग निकट हुन र प्रकृतिसँग एकाकार हुन मनलाग्छ । छतमा फूल रोपेका छन् । फूल गोडमेल गर्ने, पानी हाल्ने काम उनकै हो । हावामा फूल बयेली खेलेको हेरिरहँदा उनलाई बिछट्टै रमाइलो लाग्छ ।

नाटक गर्दा गुरुहरु भन्ने गर्थे, कलाकार भएपछि माटोसँग खेल्नुपर्छ, नजिक हुनुपर्छ । उनले त्यसलाई हृदयबाटै आत्मसात गरे । जग्गा भाडामा लिएर स्ट्रबेरी खेतीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment