Comments Add Comment

‘वाम एकता’ देशको काँचुली फेर्ने अभियान

विश्वका बहुसंख्यक देशहरुमा देखिने दुई दलीय प्रतिस्पर्धाका दृष्टान्तले हाम्रा मनमा अनेकौं प्रश्नहरु उब्जिन्थे । के यस्तो अवस्था नेपालमा आउँला ? त्यस्तो अवस्था आउँदा अहिले खोलिएका यति धेरै पार्टीहरु के गर्लान् ? यो प्रश्नको वस्तुनिष्ठ जवाफ आजको पुस्ताले खोजिरहेको थियो ।

उल्लेखित प्रश्नको उत्तर खोज्ने दौरानमा नेपालका वामपन्थी पृष्ठभूमिका ठूला दलहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउन थालनी गरेको अभियान यतिवेला चर्चाको शिखरमा छ । कतिपयले यसलाई स्वभाविक मानेका छन् त कतिपयले अस्वभाविक । समयको पदचाप बुझ्नेहरुले स्वभाविक ठानेका छन् । यसबाट अत्तालिनेहरुको छटपटी पनि चर्कै रुपमा देखिएको छ ।

वाम एकतालाई भत्काउन देशी विदेशी चलखेल शुरु भएको छ । नेपाली कांग्रेसले यसलाई ‘लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गरेको’ गम्भीर आक्षेप लगाएको छ । त्यसैगरी ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर पार्ने वाम गठबन्धन’ भन्दै हतासको अभिव्यक्ति दिएको छ । यो गठबन्धन र एकता अभियानविरुद्ध विषवमन गर्दै बद्नामी गर्ने उसको रणनीति देखिन्छ ।

अभियानको मूल नेतृत्वकर्ता केपी ओली, प्रचण्ड र वाबुरामले एक स्वरमा यस अभियान कसैका विरुद्ध लक्षित छैन भनिरहदा नेपाली कांग्रेस जस्तो आफूलाई लोकतन्त्रको मसिहा ठान्ने दलले यस्तो तल्लो दर्जाको टिप्पणी गर्नु ज्यादै उदेक लाग्दो छ । २०४६ को आन्दोलनमा संगै हिडेको एमाले, २०६२/६३ को जनक्रान्ति र त्यसबाट स्थापित संविधान सभामा एकदशक संगै यात्रा गरि एकमतले संविधान जारी गरेका सहयोद्धा दलहरुलाई एकाएक ‘अधिनायकवाद’ को विल्ला भिराएर टिप्पणी गर्नु कांग्रेसको अराजनीतिक अभिव्यक्ति र दिवालियापन हो ।

उही माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा लोकतन्त्रमा खतरा नहुने, तर एमालेले सहकार्य गर्दा लोकतन्त्रमाथि खतरा उत्पन्न हुने ? कांग्रेसको यो दोहोरो परिभाषा विचित्रको छ । यसकुराको पुष्टि गर्न कांग्रेसलाई फलामको चिउरा चपाउनु जत्तिकै हुनेछ ।

नेपालमा राजनीतिक परिवर्तको दौरानमा सशस्त्र संर्घषमा एक समय कांग्रेस होमियो । तत्कालीन मालेले त्यो बाटो केही समय अपनायो र पछिल्लो श्रृंखलामा माओवादीले अलि बढी सयम व्यतीत गर्‍यो । सबैले त्यही जगमा शक्ति आर्जन गरेर देशको मूलधारमा समाहित भए । एकपटक हतियार बिसाएपछि फेरि तिनलाई खोज्दै न कांग्रेस गयो, न एमाले गयो । न त माओवादी नै जानेछ । कोही पनि त्यो बाटोमा पुनः फर्केका छैनन् । के अब यी पार्टीहरु त्यो बाटोमा र्फकलान् र ?

एकता, संघर्ष र रुपान्तरणको प्रक्रियामा खरो रुपमा उत्रिएका दलहरुलाई यस्तो आक्षेप के उचित छ ? अरुलाई प्रश्न गर्नुपूर्व कांग्रेसी मित्रहरु, यो प्रश्न तपाई आफैलाई सोध्नुहोस् । बरु तथ्यले भन्छ, नेपालका सबै दलहरु मध्ये नेकपा एमाले नै सबैभन्दा लोकतान्त्रिक दल हो ।

सोचौं त, के कांग्रेसभित्र एमालेमा जत्तिकै लोकतन्त्र बाँचेको छ ? नेविसंघको पोखरा महाधिवेशनमा पार्टीको हस्तक्षेपले गर्दा चुनाव लड्न नपाएर अध्यक्ष हुनबाट वञ्चित भएका पात्रहरुले आˆनै मनलाई बन्धकमा राखेर यस अभियानलाई ‘व्यर्थको अलमल’ भन्दै अनेकौ कुतर्क गर्नुु दुनियाँले आफूलाई कुरीकुरी भनेको थाहै नपाई अरुप्रति औंला ठड्याउनु हो ।

विश्वकम्युनिष्ट आन्दोलनका लामा अनुभवहरुबाट पाठ सिक्दै नेपालको विशिष्ठतामा आधारित रहेर मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जस्तो मौलिक कार्यक्रम अंगाल्दै त्यसलाई सिद्धान्तका रुपमा विकास गरेको एमालेलाई तीन दशकपछि अधिनायकवादी शब्दवाण हान्नु महाभारतको युद्धमा कौरवका सेनाले अर्जुनलाई वाण हान्न खोजे जस्तै हो । यस्ता वाणहरु जतिसुकै हाने पनि एमाले र यस अभियानलाई कसैले ढाल्न सक्दैन । त्यस्ता शक्तिहिन वाणहरु रोक्ने अनेकौ अस्त्रहरु यस विचमा एमाले र वाम आन्दोलनले निर्माण गरेको छ ।

मनमोहन अधिकारीको सर्वाधिक लोकपि्रय सरकार र त्यसमार्फत् वृद्धभत्ता, ९ स का कार्यक्रमहरु, जनमुखी बजेटहरु, केपी ओली सरकारको देशप्रेमी अडान र विकासको खाका जस्ता युगान्तकारी कदमहरुलाई दुनियाँको कुनै पनि तगतले एमालेबाट खोस्न सक्दैन । गोयवल्स शैलीका यस्ता दुस्प्रचारहरुको कुनै अर्थ रहँदैन ।

हेक्का रहोस्, नेपालको वाम आन्दोलन परंपरागत कम्युनिष्ट धारा भन्दा पृथक स्वरुपको छ । यो नेपाली मौलिक चरित्रको छ । वास्तवमा यहाँको वाम आन्दोलन प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनको पर्यायवाची नै हो । ०४६ को आन्दोलन र ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमा वामपन्थी पार्टीहरुको नेतृत्वकारी भूमिकाले उक्त तथ्यलाई पुष्टि गर्छ ।

एमालेले अवलम्बन गरेको जबज र माओवादी केन्द्रले अंगालेको २१ औं शताब्दीको जनवाद जसका मुल आधारहरु हुन् । कार्यशैली र संगठनात्मक स्वरुपमा अलि भिन्नता जस्तो देखिएपनि माक्र्सवादलाई मार्गदर्शक सिद्धान्त मान्ने र नेपालमा यसको सृजनात्मक प्रयोग गर्ने सवालमा यी दुई पार्टीहरु विच एकरुपता नै छ । जब यी दुई दल विचारधारात्मक हिसावले पनि एक अर्काका नजिक आईपुगे तब उनीहरु विच चुनावी तालमेल वा एकता हुनु कुनै अस्वभाविक र आकस्मिक होइन, यो अभियान ढिलो शुरु भयो भन्ने तर्क बरु स्वाभाविक हुन सक्ला ।

हाम्रो संविधानले समाजवाद निर्माणको बाटो तय गरेको परिप्रेक्षमा लोकतान्त्रीक चरित्र अंगालेका यी पार्टीहरु संविधानले र्निदिष्ट गरेको लक्ष्य प्राप्तीका लागि एक हुदाँ कसरी लोकतन्त्र कमजोर हुन्छ ? संविधानको गन्तब्य पछ्याउँदा अधिनायकवादको गन्ध कहाँबाट आउँछ ? देशको भलो नचाहाने र समृद्धिको यात्रालाई रोक्न खोज्नेका मात्र यस्ता एजेण्डा हुन सक्छन् । के कांग्रेसले अब त्यहि बाटो रोजेको हो ? जनताको अदालतमा उसले यसको स्पष्ट जवाफ दिनै पर्छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले थालनी गरेको यस अभियानले लोकतन्त्र कमजोर होइन झन बलियो बनाउने छ । संविधान कार्यान्वयनमा अल्झन होइन, झन स्पष्ट रोडम्याप दिनेछ । देखावटी लोकतन्त्र होइन सामाजिक न्याय सहितको साँचो लोकतन्त्रको सुनिश्चितता गर्नेछ ।

हरेक व्यवस्था परिवर्तनपछि जनताले के पाए भन्ने दशकौंदेखि उब्जिँदै आएका प्रश्नहरुको आम जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी लोकतन्त्रको छाहरी पाउने छन् । तबमात्र विकासको दियो गाउँ, समाज, बस्ती र घरघरमा पुग्ने छ । नेपाली युवा विदेशमा होइन, विदेशिएको युवा देश फर्केर देशको समृद्धिको यात्रामा सरिक हुनेछ । चुनावी आश्वासन र प्रलोभनबाट मुक्त भई देशले वास्तविक अर्थमा काँचुली फेर्ने छ ।

यसर्थ नेपाली विशेषताको लोकतान्त्रिक चरित्र अंगालेको वाम एकता आजको आवश्यकता हो । त्यसैले यस अभियानलाई सार्थक बनाऔं ।

(आचार्य एमालेसमर्थित अनेरास्ववियुका उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment