Comments Add Comment

लक्ष्मण शिवाकोटी प्रकरणः हत्या कि डुबेर मृत्यु ?

छोरा लक्ष्मण शिवाकोटीको किरियामा आमा-बुवा ।

२४ असोज, झापा । विजया दशमीको दिन विहानै फुपूको छोरालाई विदेशबाट आएको जुत्ता लिन गएका थिए अर्जुनधारा-११, तीनपैनीका लक्ष्मण शिवाकोटी । तर, दिनभर बाटो हेर्दा पनि उनी फर्किएनन् । भोलिपल्ट विहान घरबाट ६ किलोमिटर टाढा बिर्तामोड-१ को बैशावाडीमा पानीमा डुबेको अवस्थामा शव भेटियो ।

हत्याको आरोपमा ३ पक्राउ

परिवारका सदस्यहरुका अनुसार फुपूका छोरा १२ वर्षीय मनिष थापाको जुत्ता लिन भनेर घरबाट निस्किएका थिए, लक्ष्मण । दुई जना साइकलमा चढेर बिर्तामोड-५ मा रहेको सुधिर पोखरेलको घरमा गएका हुन्, जसको माध्यमबाट मनिषका बुवाले विदेशबाट छोरालाई जुत्ता पठाइदिएका थिए ।

अपराहृनसम्म पनि नफर्किएपछि परिवारका सदस्यको मनमा चिसो पस्यो । हतारहतार पोखरेलको घर पुगे तर, ढोकामा ताल्चा थियो । उनीहरु स-परिवार गोल्धाव टीका लगाउन गएका रहेछन् ।

जब राति ९ बजे पोखरेलको घरको ढोका खुल्यो, तब शिवाकोटी परिवारले लक्ष्मण दिउँसै घर गएको खबर पायो ।

विहान खाल्डोको पानीमा भासिएको अवस्थामा बालकको शव भेटियो । हात, टाउको र अण्डकोषमा चोट देखियो । त्यसलाई आधार मान्दै परिवारले लक्ष्मणको हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यबिरुद्ध किटानी जाहेरी दियो र अहिले तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय सन्तोष पोखरेल, ३४ वर्षीय समिर पोखरेल र ३२ वर्षीय सुधिर पोखरेल रहेको स्रोतले जनाएको छ । किटानी जाहेरीमा परेका अन्यमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइन्छ ।

प्रहरीद्वारा लाठी चार्ज !

प्रहरीले घटनाको सत्यतथ्य छानबिनमा उदासिनता देखाइरहेको आरोप शिवाकोटी परिवारले लगाएको छ ।

‘प्रहरीले त हाम्रो किटानी जाहेरी नै लिन मानेको थिएन,’ लक्ष्मणका काका विष्णुप्रसाद शिवाकोटीले भने, ‘३/४ घण्टासम्म किटानी जाहेरी गर्न मानेन । त्यसको लागि पनि हामीले नाराबाजी नै गर्नुपर्‍यो ।’

राजनीतिक संरक्षणका कारण प्रहरीले अनुसन्धानमा चासो नदेखाएको शिवाकोटी परिवारको आरोप छ । लक्ष्मणको हत्या भएको भन्दै दोषीमाथि कारबाही गरिनु पर्ने मागसहित दैनिकजसो बिर्तामोड र अर्जुनधारामा र्‍याली जुलुस पनि निस्किइरहेको छ ।

सोमबार निस्किएको जुलुसबाट भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज नै गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड नजिकै पोखरेल परिवारका एक सदस्यलाई जुलुसमा सहभागीले देखेपछि घम्साघम्सी सुरु भएको थियो ।

त्यस क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना घाइते भएको जुलुसमा सहभागी नगेन्द्र सापकोटाले बताए । ‘न्याय माग्दै हिँडेको हामी जस्तालाई प्रहरीले लाठीचार्ज गर्छ’, उनले आक्रोश व्यक्त गरे ।

घटनाको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय, बिर्तामोड प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले खाल्डोमा रहेको शवलाई माछा वा अन्य कुनै कुराले खाएकाले त्यो चोट भएको हुन सक्ने बताएका थिए । अहिले उनी खुलेर कुरा गर्न तयार छैनन् । लक्ष्मणको शवलाई पोष्टमार्टमका लागि सुुरुमा अञ्चल अस्पताल भद्रपुर लगिएको थियो । तर, त्यहाँ नभएपछि धरान पठाइएको थियो र ‘अन आइडिन्टिफाइड’ रिपोर्ट आएको विष्टले बताए ।

मृत्युको कारण नखुलेपछि डायटोम र टेक्सोलोजी परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमूना पठाइएको छ । प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको उनले दाबी गरे ।

पोखरेल र शिवाकोटी परिवारको दुई थरी बयान

शिवाकोटी परिवारको भनाइअनुसार पोखरेलको घरमा विदेशबाट ल्याइदिएको खेलौना हेलिकप्टर खेल्न थाले । त्यही क्रममा लक्ष्मण ठोक्किए र बेहोस भए । त्यही क्रममा उनको मृत्यु भयो । तर, अस्पताल लानु पर्ने समयमा घटनालाई लुकाउन खोजियो र, भौडीमा बच्चालाई हालियो ।

उता, पोखरेल परिवारको भनाइ भने फरक छ । जुत्ता लिएका आएका लक्ष्मणले पोखरेलको घरमा रहेका १० वर्षीय साहिल पोखरेलसहित मनिषलाई पनि पौडी खेल्न जाउँ भनि अनुरोध गरे । उनीहरु त्यो भौडीतिर गए ।

मनिषले ‘पौडी खेल्न जाउँ, रमाइलो हुन्छ’ भनेर भनेपछि तीनै जना पौडी खेल्न गएको पोखरेल परिवार बताउँछ । त्यसपछि त्यहाँ तीनै जनाले नुहाए, चप्पल फ्यालाफ्याल गरेर खेलिरहे ।

त्यही क्रममा उनीहरु गहिरो ठाउँमा पुगे । लक्ष्मणको खुट्टा भासियो । साहिलले मनिषलाई ताने । मनिषले लक्ष्मणलाई ताने । तर, लक्ष्मणलाई निकाल्न सकेनन् । यद्यपि, घर आएर त्यो कुरा सुनाउने आँट गरेनन् ।

एकैपटक बिहान मात्र त्यो घटना सार्वजनिक भएपछि पोखरेल परिवारले सबै कुरा थाहा पाएको उनीहरुको दाबी छ ।

पोखरेल परिवारको होटल छ । टीकाको दिन सिङ्गो परिवार मिठाई बनाउन व्यस्त भएको एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment