Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट पारित

अब राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बदलिनेछ ।

२४ असोज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संसदबाट पारित भएको छ । मंगलबारको संसद बैठकले विधेयक पारित गरेको हो । विधेयक पारित भएको खुसियालीमा दाङ सदरमुकाम घोराहीका बासिन्दाले दिपावली गरेका छन् ।

संसदबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछ र ऐनका रुपमा कार्यान्वयनमा आउने छ ।

यससँगै दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औपचारिक रुपमा बदलिनेछ । प्रतिष्ठानमा चिकित्सा शिक्षा सम्वन्धी पढाइ हुनेछ । प्रतिष्ठानअन्तर्गत अस्पताल रहनेछ ।

प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहनेछ । त्यसका लागि नवलपुरमा रहेको झन्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए ।

विधेयक पारित गर्ने भूमिका खेल्नका लागि दाङको सर्वदलीय सर्वपक्षीय समितिले गौतमलाई जिम्मा दिएको थियो । स्वास्थ्य मन्त्रालयले पनि गौतमलाई नै सहजकर्ता तोकेको थियो ।

अब तत्कालै प्रतिष्ठानको कुलपति नियुक्त गर्ने र प्रतिष्ठानको लागि आवश्यक कामलाई तीव्रता दिने गौतमले बताए ।

स्वशासित संस्थाको रुपमा रहने प्रतिष्ठान अन्तर्गत प्राज्ञिक परिषद, कार्यकारी परिषद, सेवा आयोग, विद्या परिषद, संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल रहनेछन् । प्रतिष्ठान विश्वविद्यालयजस्तै स्वायत्त रहने भए पनि यसले अन्य निकायलाई सम्बन्धन भने दिन पाउने छैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा विपन्न विद्यार्थीलाई दिइँदै आएको ५० प्रतिशत छात्रवृत्तिलाई बढाएर सतप्रतिशत पुर्‍याइएको छ ।  साथै दलित, आदिवासी जनजाती, अपाङ्गता भएका व्यक्ति, मधेशी तथा पिछडिएका क्षेत्रका विद्यार्थीका लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment