Comments Add Comment

आइफोनको अत्यधिक प्रयोगप्रति आइफोन डिजाइनर नै असन्तुष्ट

आइफोनको लत हटाउन अर्को यन्त्र बनाउँदै

यी तिनै मानिस हुन् जसले डिजाइन गरेको स्मार्टफोनले प्रविधि उद्योगमा क्रान्ति नै ल्याइदियो । आफ्नो सिर्जना दुनियाँमा धेरैभन्दा धेरै फैलियोस् र सबैले धेरैभन्दा धेरै प्रयोग गरुन् भन्ने चाहना सबै सर्जकको हुन्छ । तर आइफोन डिजाइनर सर जोनाथन इभले भने मानिसहरुले आइफोनको आवश्यकताभन्दा बढि प्रयोग गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

एप्पलका मुख्य डिजाइनर इभले आइफोन अत्यन्तै उपयोगी रहे पनि धेरै मानिसहरुले निरन्तर आइफोन प्रयोग गरी यसको दुरुपयोग गरेको बताए ।

सन् २००७ मा आफूले आइफोनको सिर्जना गर्न प्राप्त गरेको प्रेरणाका सन्दर्भमा कुरा गर्दै उनले तत्कालीन बजारमा उपलब्ध फोनहरु प्रतिको घृणाले नै आफूलाई आइफोन डिजाइन गर्न उत्प्रेरणा मिलेको बताए ।

न्युयोर्कर टेक फेस्टका अवसरमा मञ्चमै अन्तर्वार्ता दिने क्रममा इभले आइफोनको अत्यन्तै उत्तम प्रयोगका साथै दुरुपयोग पनि हुने गरेको बताए ।

उनका अनुसार आइफोनको बढ्ता वा निरन्तर प्रयोग गरिरहनु नै यसको दुरुपयोग हो ।

सन् १९९६ देखि आइफोनको डिजाइन टिमको नेतृत्व गरिरहेका इभ सन् २००७ मा सार्वजनिक पहिलो आइफोनको डिजाइनका मुख्य जिम्मेवार व्यक्ति हुन् ।

तर उनको पछिल्लो अन्तर्वाताले भने आइफोनको उत्कृष्ट डिजाइनसँगै यसको अँध्यारो पाटो पनि डिजाइनरले देखिरहेको संकेत गरेको छ ।

यद्यपि, आइफोनप्रति मानिसको आशक्तिका कारण भैरहेको दुरुपयोग रोक्नका लागि आफूले अर्को डिजाइनको कल्पना गरिरहेको पनि उनले खुलासा गरेका छन् ।

प्रविधि उद्योगका सर्जकहरुको आफैंले सिर्जना गरेको प्रविधिप्रति मोहभंग हुन थालेको यो पहिलो घटना चाहिँ होइन । हालैमात्र फेसबुकको चर्चित लाइक फिचरका सर्जक जस्टिन रोजेन्स्टेइनले स्मार्टफोनका एपहरुप्रतिको लत बढेको भन्दै आफ्नो स्मार्टफोनमा सम्पूर्ण एपहरुलाई निषेध गरेको घोषणा गरेका थिए ।

उनका अनुसार अहिलेको पुस्ता प्रविधिप्रति यति आशक्त बनिरहेको छ कि यदि अब पनि कम्पनीहरुले केबल नाफा मात्र हेरिरहने हो भने संसार नै घृणायुक्त बन्नेछ । उनका अनुसार सायद अहिलेको पुस्तानै यस्तो अन्तिम पुस्ता बन्ने खतरा छ जसले आफ्नो बितेको समय सम्झिन सक्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment