Comments Add Comment

कोरियाबाट रेमिट्यान्स कम्पनीले नै नेपालमा पैसा पठाउन थाले, हुण्डी घट्ने अपेक्षा


२५ असोज, काठमाडौं । कोरियाबाट नेपालमा रेमिट्यान्स कम्पनीमार्फत पैसा आउन थालेको छ । बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै कोरियाले रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याएको छ ।

दक्षिण कोरियाली सरकारले साना मनी ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएपछि त्यसको लाभ नेपालीले पनि उठाउन सुरु गरेका छन् । मनी ट्रान्सफरबाटै रकम पठाउन सकिने भएपछि कोरियाका कार्यारत नेपालीलाई सहज भएको छ । यसअघि कोरियाबट बैंकहरुले मात्रै रकम ट्रान्सफरमा गर्न पाउँथे ।

अनुमति पाएपछि नेपालमा पैसा पठाउने गरी ग्लोबल मनि एक्सप्रेस (जीएमई) ले पनि सेवा सुरु गरेको छ । अबदेखि यस्ता कम्पनीबाट पनि नेपालमा पैसा पठाउन सकिने भएको छ ।

दक्षिण कोरियाले रेमिट्यान्स कम्पनीबाट विदेशमा पनि रकम पठाउन सक्ने नयाँ व्यवस्था गरेको छ । यसबाट रोजगारीको आकर्षक गन्तव्य कोरियामा रहेका ३४ हजार बढी नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कोरियामा रहेका लाखौं विदेशी कामदारको हितलाई ध्यानमा राखेर कोरियाले यस्तो निर्णय गरेको थियो । रेमिट्यान्स कम्पनीको मोबाइल एप्लीकेशन प्रयोग गरेरै कोरियाबाट आप्रवासी कामदारले आफ्नो घरमा रकम पठाउन सक्ने गरी निर्णय भएको थियो । निर्णयअनुसार जै कोरियाबाट पैसा विदेश पठाउन रेमिट्यान्स कम्पनी दर्ता भएका छन् ।

यसअघि बैंकले मात्र यस्तो सेवा प्रदान गर्ने अनुमति पाएका थिए । यसैका कारण असुरक्षित र अवैधानिक मानिने हुण्डीमार्फत ठूलो रकम नेपाल भित्रिने गरेको छ ।

वैधानिक रुपमा कमाएको धन अवैधानिक तबरले हुण्डी गर्दा धेरै नेपाली ठगिएका छन् भने ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ । पुरानो नीतिका कारण अबैधानिक तबरले मुद्रा बाहिरिएपछि कोरियाले रेमिट्यान्स नीति खुकुलो बनाएको हो ।

अहिले बीमा कम्पनी, सेयर कारोबार गर्ने कम्पनी, गैह्र बैंक लगायत अन्य कम्पनीले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति दिइएको छ । यो व्यवस्थाअनुसार एकजना व्यक्तिले वर्षमा २० हजार अमेरिकी डलर मात्र विदेश पठाउन पाउने सीमा तोकिएको छ ।

एकपटकमा ३ हजार अमेरिकी डलर अर्थात तीनलाख रुपैयाँसम्म पठाउन सकिने छ । एकपटक पैसा पठाउँदा साढे ६ सय रुपैयाँसम्म शुल्क लाग्नेछ ।

कम्पनी दर्ताको लागि ३ सय मिलियन कोरियन वन चुक्ता पुँजी जम्मा गर्नुपर्ने व्यवस्था छ । कोरियाको यो कदमबाट २० लाख ब्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान छ ।

जीएमईले एलियन रजिष्ट्रेशन कार्ड र कोरियाली बैंकको पासबुक (थोङजाङ) राखेर प्रमाणित गरेपछि होस्टलबाटै बसेर रकम पठाउन सकिने बताएको छ । यस्तो रकम कामदारले चाहेको बैंक खातामा जम्मा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment