Comments Add Comment

भैंसी पालेर मासिक ८ लाख कमाउँछन् पोखराका दीपक

२५ असोज, पोखरा । मलाई अमेरिका यही, मलाई जापान पनि यही … भनेजस्तै भएको छ पोखरा नयाँबजारका युवा दीपक तिमिल्सिनालाई । गायक पशुपति शर्माको गीतमा उनी१ सय ७२ वटा भैंसी पालेर बसेका छन् र न अमेरिका जाने चाहना छ, न त जापान वा बेलायत नै ।

दुई दशकअघि हेटौंडाबाट पोखरा पसेका दीपक अहिले पोखराका सफल युवा उद्यमी मध्येका एक हुन् । नयाँबजारमा ३ तले घर बनाएका छन् भने एग्रो प्रोडक्ट र करीब २ सय भैंसी भएको जानकी एग्रो फार्म सञ्चालन गरेका छन् । एग्रो फार्मबाट मात्रै खर्च कटाएर मासिक ८ लाख कमाउँछन् । यद्यपि लगानीको ब्याज घटाउने हो भने आम्दानीको आधा मात्र खुद मुनाफा हुने उनी बताउँछन् ।

तिमिल्सिनाले सञ्चालन गरेको एग्रो फार्ममा १ सय ७२ वटा भैंसी छन्, जसबाट दैनिक करीब ८ सय लिटर दुध उत्पादन हुन्छ । त्यो दुध बजार पुर्‍याउँदा १२० रुपैयाँप्रति लिटरमा बिक्री हुन्छ ।

यसरी हेर्ने हो भने उनले मासिक करीब २९ लाख कमाउँछन् । तर, करीब २१ लाख जति भैंसीको दाना र मजदुरलाई तलब दिदा खर्च हुन्छ । तिमिल्सिनाको भैंसी फार्ममा मात्र १७ जना कामदार छन् । माथिल्लो फार्ममा १३ र तल्लो फार्ममा ४ जना कामदार रहेको उनले बताए ।

तिमिल्सिना आफैं पनि भैंसीको स्याहार सुसारदेखि दुध दुहुने काममा खट्छन् । भन्छन्, ‘अरु विदेशमा गएर भाँडा माझ्छन् । म आफ्नै फार्ममा भैंसी दुहुँदा रमाउँछु, मलाई काम सानो ठूलो लाग्दैन ।’

तिमिल्सिनाले पोखराको ४ ठाउँबाट दुध बेच्छन् । उनका अनुसार उत्पादन गर्न मात्र गाह्रो हो, बजारको कुनै अभाव छैन ।

तिमिल्सिनाले भैंसी पालनमा हालसम्म ४ करोड लगानी गरिसकेका छन् । निकट भविष्यमै र्फममा भैंसीको संख्या २ सय ५० पुर्‍याउने उनको योजना छ । एउटा भैंसीका लागि करीब १ लाखमा लगानी गर्नुपर्छ ।
भारतको विहार, युपी तथा नेपालको बारा, पर्सा, रौतहट, सर्लाही गायतका ठाउँहरुबाट भैंसी ल्याउने गरेको उनले सुनाए । ‘यसरी ल्याएको भैंसी ब्याएपछि ६ महिनादेखि ९ महिनासम्म दुध दिन्छ’ उनले भने ।

दुध दिन छाडेपछि मासुका लागि बेच्नुपर्ने बाध्यता छ । किनकी मुर्रा, गुजराती, पञ्जावी क्रसलगायतका भैंसी एकपटक ब्याएपछि फेरि बथान जाने सम्भावना बिरलै हुने उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment