Comments Add Comment

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, खुमबहादुर पनि सदस्य

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव छन् ।

समितिमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइसकेका खुमबहादुर खड्का पनि समितिमा अटाएका छन् । उनी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार बन्न समेत योग्य छैनन् तर, उम्मेदवार छान्ने जिम्मेवारी पाएका छन् ।

यस्तै नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका छन् ।

वरिष्ठताको नवौं नम्बरमा रहेका कुलबहादुर गुरुङ संसदीय समितिमा अटाएनन् । साथै बलबहादुर केसी, नरहरि आचार्य र प्रदिप गिरीभन्दा पछाडि रहेका बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई समितिमा ल्याइएको छ ।

संसदीय समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment