Comments Add Comment

चुनाव उपयोगबारे वैद्य माओवादीमा विवाद, बन्दसत्र रोकियो

२६ असोज, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) मा चुनावमा जाने कि नजाने भन्ने विषयमा मतभेद भएको छ । यस विषयमा मत बाझिएपछि पोखरामा आयोजित राष्ट्रिय सम्मेलन लम्बिएको छ ।

संघीय र प्रदेश सभा निर्वाचनको उपयोग गर्ने या वहिस्कार गर्ने या निर्वाचनको उपयोग गरे कसरी सहभागी हुने भन्ने विषयमा नेताहरुबीच कुरा मिलेकोे छैन ।

वैद्य माओवादीले स्थानीय चुनावमा देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट चुनाव लडेको थियो । यो मोर्चाको नेतृत्व सीपी गजुरेलले गरेका छन् । आगामी चुनाव पनि मोर्चाकै नामबाट लड्नुपर्ने भन्दै गजुरेलले यसअघि विज्ञप्ति जारी गरेका थिए ।

तर, पार्टी अध्यक्ष मोहन वैद्यले भने चुनावमा भाग नलिने भनेर आफू निकटका नेताहरुलाई बताउने गरेका थिए । वैद्य निकटकाले पार्टीमा पर्याप्त छलफल नगरी चुनाव लड्ने भनेर प्रचारबाजी गरेको भन्दै गजुरेलको आलोचना गरेका छन् ।

बन्द सत्र नै रोकियो

२१ असोजदेखि शुरु भएको सम्मेलन बुधबार सक्ने तयारी रहे पनि सम्मेलनमा सहभागी प्रतिनिधिहरुको मतविपरीत निर्वाचनको उपयोग गर्ने गरी हलमा पेश भएपछि प्रतिनिधिहरुले त्यसको प्रतिवाद गरेका थिए ।

पार्टीको नामबाट क्रान्तिकारी हटाउने, निर्वाचन बहिस्कार गर्ने प्रतिनिधिको मतविपरीत नेतृत्व गएको भन्दै प्रतिनिधिहरुले विरोध गरेका थिए । त्यसपछि आधा घण्टाका लागि बन्द सत्र स्थगित गरियो । विवाद मिलाउन स्थायी समितिमा गरिएको छलफल लम्बिएपछि बुधबार बन्द सत्र हुन सकेन । बन्द सत्र बिहीबार बिहान पुनः बस्ने गरी टुंग्याएको छ ।

स्रोतका अनुसार सचिवालयमा पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) नै राख्ने सहमति भएको छ । त्यस्तै निर्वाचनको उपयोग गरे सम्मेलनका प्रतिनिधिको माग अनुसारको बीचबाटोबाट निकास निस्कने गरी केन्द्रीय पदाधिकारीहरु समेत निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिने गरी निकास निकालिने तयारी भएको छ ।

पार्टीमा सचिवालय, पदाधिकारी र केन्द्रीय समितिको संख्या घटाएर सानो गराउने र पार्टीलाई महासचिव प्रणालीमा लैजाने गरी तयारी भएको सम्मेलनमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

राम सिंको फरक मत ‘रिजर्भेसन’मा

नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य राम सिं श्रीसको फरक मत सम्मेलनमा प्रतिनिधिहरुबीच अल्पमतमा परेपछि तत्कालका लागि रिजर्भेसनमा राखिएको छ । बुधबार बिहान बसेको सचिवालय पछि करिब एक घण्टासम्म सञ्चालनमा आएको बन्द शत्रमा बोल्दै राम सिंले आफ्नो फरक मत रिजर्भेसन गरेको बताएका थिए ।

श्रीसले आफ्नो फरक मत रिजर्भेसनमा राखेको बताए पनि अध्यक्ष मोहन वैद्य किरणले भने फिर्ता लिएको भन्दै श्रीसको कदमको स्वागत गरेका थिए । सम्मेलनमा सहभागी प्रतिनिधिहरुले भने फरक मतलाई रिजर्भेसनमा नराखी फिर्ता लिनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment