Comments Add Comment

मेलम्चीको सुरुङ पुस मध्यमा ‘ब्रेक थ्रू’

चैतभित्र उपत्यकामा पानी ल्याउन विकास समितिको निर्देशन

२६ असोज, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम आगामी पुस महिनाभित्र सकिने दावी गरिएको छ । २७.५ किलोमिटर लामो सुरुङमध्ये हाल १५ सय मिटर सुरुङ खन्न मात्रै बाँकी छ । पुस महिनाभित्र सक्ने लक्ष्यसहित दुई स्थानबाट खन्ने काम भइरहेको छ ।

बिहीबार बसेको विकास समितिको बैठकमा बोल्दै आयोजना प्रमुख रामचन्द्र देवकोटाले अम्बाथान-ग्यालथुङ सुरुङको मंसिर र सिन्धु-ग्यालथुमको सुरुङको पुुस मध्यमा ‘ब्रेक थ्रू’ हुने जानकारी दिए ।

इटालियन ठेकेदार सीएमसीसँग गरिएको ठेक्का सम्झौताको म्याद आगामी चैतमा सकिँदैछ । उनले भने, ‘यही गतिमा काम अघि बढाउने हो भने पुस मध्यमा सुरुङ खन्ने काम सकेर ठेक्का सम्झौताको म्याद नसकिँदै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।’

सुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९ किलोमिटर सुरुङ खन्ने काम ९ महिनाअघि सकिएको छ जसमा अहिले ढलान गर्ने काम भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भएमा काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यकामा अहिले दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति हुँदै आएको छ । वर्षातको समयमा भने १७ करोड लिटरसम्म आपूर्ति हुने गरेको देखिन्छ ।

मेलम्ची आयोजना आएसँगै उपत्यकामा हरेक समय १७ करोड लिटर थप पानी आपूर्ति हुनेछ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउनेछ । साथै यही सुरुङमा सन् २०२२ सम्ममा याङ्री र लार्के खोलाको पानी मिसाएर दैनिक ५२ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।

बिहीबार बसेको बिकास समितिको बैठकले यही वर्षभित्र मेलम्ची आयोजनालाई सबै काम सक्न निर्देशन दिएको छ । ‘पटक-पटक निर्माण सम्पन्न गर्ने म्याद सारियो अब त्यसो नहोस्,’ समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘यही वर्ष भित्रै काठमाडौंमा पानी ल्याउने गरी काम अघि बढाउनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment